मार्क्सवादी ज्ञान केन्द्र : संक्षिप्त परिचय
‘‘समाज रूपान्तरणको पाठशाला’’का रूपमा स्थापित मार्क्सवादी ज्ञान केन्द्र नेपालका सम्पूर्ण कम्युनिस्ट, वामपन्थी, प्रगतिशील एवं देशभक्त शक्तिहरूको साझा वैचारिक मञ्च हो। मार्क्सवादको अध्ययन, अध्यापन, खोज, अनुसन्धान गर्ने उद्देश्यसहित २०७७ साल जेठबाट आफ्नो अनौपचारिक यात्रा सुरु गरेको यस संस्था २०७७ साल फागुन १९ गते जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा औपचारिक रूपमा दर्ता भई आफ्ना गतिविधिहरू अगाडि बढाइरहेको छ। हाल संस्थाका कामलाई प्रभावकारी रूपमा सञ्चालन गर्न केन्द्रीय तहमा ९ वटा विभागहरू, सात वटै प्रदेशमा प्रदेश समितिहरू, विदेशमा प्रवास समन्वय समिति र देशका सबैजसो जिल्लामा जिल्ला शाखा र जिल्ला सम्पर्क संयन्त्रहरू छन्।
केन्द्रले दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र, वैज्ञानिक समाजवाद, कम्युनिस्ट आन्दोलनको इतिहास, मानवशास्त्रीय एवं समाजशास्त्रीय अध्ययन, विज्ञान र प्रविधि, नेपाल अध्ययन, समकालीन विश्व लगायतका विषयमा ११ देखि २१ दिनसम्मका विभिन्न कक्षाहरू सञ्चालन गर्दै आएको छ। कक्षामा मार्क्सवादको अध्ययन, अनुसन्धान गर्न चाहने विद्यार्थी, बुद्धिजीवी, अध्येता, सामाजिक व्यक्तित्व र राजनीतिकर्मीको नियमित उपस्थिति रहँदै आएको छ। विभिन्न चरणमा विभाजन गरेर सञ्चालन गरिने कक्षामा दशौं हजार सहभागीहरूले कक्षा लिई प्रमाणपत्रसमेत लिइसकेका छन्। यस सन्दर्भमा युवा पुस्तामा देखिएको मार्क्सवादप्रति आकर्षण र जिज्ञासा विशेष उल्लेखनीय छ।
केन्द्रले समसामयिक विषयहरूमा केन्द्रित रहेर विभिन्न डिस्कोर्स कार्यक्रमहरूसमेत सञ्चालन गर्दै आएको छ। यसका साथै विश्वका ज्वलन्त र विकसित महत्वपूर्ण विषय एवं मुद्दाहरूमा अनुसन्धानसमेत गरिरहेको छ। महत्वपूर्ण पुस्तकहरूको अनुवाद र प्रकाशनको कामसमेत सँगसँगै अगाडि बढेको छ। मार्क्सवादका अध्येताहरूको ज्ञानको तिर्खा मेटाउने उद्देश्यले केन्द्रले www.emarxist.com नामक ई–लाइब्रेरी सञ्चालन गरी उक्त पोर्टलमा नेपाली, हिन्दी र अंग्रेजी भाषाका पिडिएफ पुस्तकहरू रहनेगरि प्रबन्ध मिलाएको छ। केन्द्रले कम्युनिस्ट स्कुल, समाजवादी क्रान्तिको कार्यदिशा, कम्युनिस्ट कसरी बन्न सकिन्छ, नेपाली लोक दर्शनहरू, माओको अन्तिम महालडाइँ, क्वान्टम सिद्धान्त लगायतका दर्जनौं पुस्तकहरूको प्रकाशन एवं प्रकाशनको सहजीकरणको कामसमेत गरिरहेको छ।
केन्द्रलाई व्यवस्थित रूपमा सञ्चालन गर्न काठमाडौंको अनामनगरस्थित केन्द्रीय कार्यालय सञ्चालन गरिएको छ। साथै संस्थाको विधान, विनियम, कार्यविधि र आचारसंहिता, केन्द्रको कक्षा सम्बन्धी पाठ्यक्रम तयार गरी लागू गरिएको छ।
ज्ञान केन्द्रले प्रशिक्षकहरू उत्पादन गर्ने हेतुले विभिन्न चरणका अभ्यास प्रशिक्षण कक्षाहरूसमेत सञ्चालन गर्दै आएको छ। यसका साथै आन्तरिक टीमलाई सवल बनाउन अभिमुखीकरण कक्षाहरू सञ्चालन हुँदै आएका छन्। भविष्यमा मार्क्सवाद सम्बन्धी औपचारिक डिग्रीको व्यवस्थासहित मार्क्सवादी कलेज सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढिसकेको छ।
ज्ञान केन्द्रद्वारा सञ्चालित कक्षाहरूप्रति आकर्षण बढ्दै गइरहेको छ। मार्क्सवादी कक्षा लिन चाहने महानुभावहरूका लागि निम्नानुसारको व्यवस्था गरिएको छ।
प्रत्येक महिना सञ्चालन हुने कक्षाका लागि सुरुमा सार्वजनिक सूचना जारी गरिन्छ। उक्त सूचना सार्वजनिक भएपश्चात् इच्छुक व्यक्तिले ज्ञान केन्द्रको केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला शाखाका पदाधिकारी र सदस्यहरूसँग सम्पर्क गरी कक्षाका लागि तोकिएको गुगल फाराम भर्नुपर्ने हुन्छ। उक्त फाराममा सहभागीहरूको व्यक्तिगत विवरण, कक्षाका लागि स्वेच्छिक शुल्क, कक्षासम्बन्धी आचारसंहिता लगायत विषय समावेश गरिएको हुन्छ। गुगल फाराम भरेपछि सहभागीहरूलाई अनलाइन कक्षामा सहभागी गराइन्छ र विषय विज्ञहरूद्वारा कक्षाको सहजीकरण गरिन्छ। कक्षाबारे विस्तृत जानकारी उद्घाटन सत्रमा नै दिने गरिन्छ।
कक्षाको अन्तिम दिन गुगल फारामबाटै सहभागीहरूको परीक्षा लिइन्छ। त्यसपछि परीक्षामा सहभागी भएका प्रशिक्षार्थीलाई केन्द्रले कक्षा लिएको प्रमाणपत्रसमेत उपलब्ध गराउने गर्दछ। परीक्षाको उत्कृष्ट विद्यार्थी, लगनशील विद्यार्थीलाई प्रोत्साहनस्वरूप पुरस्कारको व्यवस्थासमेत गरिएको छ। भौतिक रूपमा उपस्थित भएर गरिने कक्षा भने वस्तुगत परिस्थिति हेरेर सञ्चालन र व्यवस्थापन गरिन्छ, जहाँ स्थानीय समितिहरूले समेत आयोजना, समन्वय र व्यवस्थापन गर्ने गर्दछन्। साथै प्रदेश समिति र जिल्ला शाखाहरूले समेत कक्षा, डिस्कोर्स र अन्तरक्रिया कार्यक्रम गर्दछन्।
परीक्षामा सहभागी भएर ६० प्रतिशत अंक ल्याएका इच्छुक सहभागीहरूलाई प्रशिक्षकका रूपमा विकास गर्न केन्द्रद्वारा अभिमुखीकरण कक्षासमेत सञ्चालन गरिन्छ। ३ देखि ७ दिनसम्म सञ्चालन हुने त्यस्ता कक्षाहरू विशिष्ट प्रकृतिका हुने गर्दछन्। अभिमुखीकरण कक्षापछि अभ्यास प्रशिक्षणमा भाग लिने प्रशिक्षार्थीहरूलाई प्रस्तुतिका निम्ति निश्चित विषय तोकिन्छ। तोकिएको विषयमा तयारीपश्चात् अभ्यास प्रशिक्षण सञ्चालन हुने गर्दछ। उक्त प्रस्तुतिबाट उत्तीर्ण सहभागीहरूको नाम मार्क्सवादी ज्ञान केन्द्रको आधारभूत तहको प्रशिक्षकको सूचिमा समावेश गरिन्छ।
मार्क्सवादी ज्ञान केन्द्र कुनै दातृ निकाय, नेपाल सरकार वा अन्य कुनै संघसंस्थाद्वारा प्राप्त हुने अनुदान वा सहयोगमा सञ्चालन हुने संस्था होइन। केन्द्रमा आवद्ध सदस्यहरूकै स्वेच्छिक सहयोगका आधारमा केन्द्रले आफ्ना गतिविधि गर्दै आएको छ। कक्षामा सहभागी हुने विद्यार्थीका लागि स्वेच्छिक शुल्कको व्यवस्था गरिएको छ, जसअन्तर्गत आर्थिक रूपमा सबल सहभागीहरूले सहयोग गर्ने र विद्यार्थी तथा कमजोर आर्थिक अवस्था भएकाहरूले निशुल्क पढ्न सक्ने व्यवस्था गरिएको छ। साथै केन्द्रले अक्षयकोष स्थापना गरी कोषको ब्याजबाट दैनिक गतिविधि सञ्चालन गर्ने लक्ष्यसहित अक्षयकोष सम्बन्धी कार्यविधि र व्यवस्थापन समितिसमेत बनाएर कामहरू गरिरहेको छ।
केन्द्रले देशभरिका मार्क्सवादी अध्येताहरूलाई केन्द्रित गरी तल्लो तहसम्म कक्षाहरू सञ्चालन गर्ने लक्ष्य लिएको छ। त्यसका लागि इच्छुक व्यक्तिहरूले केन्द्रका विभिन्न तहका पदाधिकारी र सदस्यहरूसँग सम्पर्क गर्न सक्नुहुनेछ। आजीवन र साधारण सदस्यता लिन चाहने व्यक्तिहरूले केन्द्र, प्रदेश र जिल्ला शाखासँग सम्पर्क गरी आवश्यक प्रक्रिया पुर्याएर सदस्यता लिन सकिनेछ। त्यसबारे थप जानकारी केन्द्रको पोर्टल www.emarxist.com मा राखिएको छ।
मार्क्सवादी ज्ञान केन्द्र तपाई हामी सबैको साझा बौद्धिक मञ्च हो। नेपालको वामपन्थी जनमतको वैचारिकीकरण र समकालीन मुद्दाहरूको मार्क्सवादी विवेचनाका आधारमा सही वैचारिक एवं राजनीतिक कार्यदिशा निर्माणमा योगदान गर्नु हाम्रो ध्येय हो। तसर्थ, मार्क्सवादी ज्ञान केन्द्रमा जोडिएर राष्ट्र निर्माण र कम्युनिस्ट आन्दोलनको विकासमा योगदान गर्नुहुन हामी सबैमा हार्दिक अनुरोध गर्दछौं, धन्यवाद।
मार्क्सवादी ज्ञान केन्द्र
Center for Marxist Study
केन्द्रीय समिति
अनामनगर काठमाडौं
(गोरखा एफएमचोक)