समाजवादको नेपाली मार्गचित्र

भदौ, ८ बुधबार। मार्क्सवादको अध्ययन, अध्यापन, अनुसन्धान र अध्ययन संस्कृतिको क्षेत्रमा काम गर्दै आएको मार्क्सवादी ज्ञान केन्द्रको दोस्रो साधारण सभा यही भदौ १९ गते आइतबार हुने भएको छ।

केन्द्रले साधारण सभाको अवसरमा एक विचार गोष्ठीको समेत आयोजना गरेको छ। “समाजवादको नेपाली मार्गचित्र” विषयक विचार गोष्ठीमा युवा नेता एवं लेखक डिपी ढकालले कार्यपत्र प्रस्तुत हुने र त्यसमाथि विचारमन्थन हुने संस्थाले जनाएको छ। उक्त विचार गोष्ठीलाई पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लगायत नेकपा एमाले, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेकपा (बहुमत) लगायतका वामपन्थी पार्टीका नेताहरूले सम्वोधन गर्नेछन्।

विचार गोष्ठीमा मार्क्सवादको क्षेत्रमा काम गर्दै आएका विभिन्न संस्थाहरू र बौद्धिक प्रतिष्ठानहरूसमेत आमन्त्रण गरिएको छ।

केन्द्रले साधारण सभाको तयारीका निम्ति विभिन्न उपसमितिहरूसमेत गठन गरेको छ। विचार गोष्ठीपछि सुरू हुने बन्दसत्रमा अध्यक्षको नीति–कार्यक्रम प्रतिवेदन, महासचिवको वार्षिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदनका साथै कार्यसञ्चालन कार्यविधि, कार्यविधि संशोधन प्रस्ताव लगायतका एजेण्डामा छलफल हुने संस्थाका महासचिव इन्द्रराज भट्टराईले जानकारी दिनुभयो।

साधारण सभाले कार्यसमिति पुनर्गठन गर्ने कार्यसूचिसमेत रहेको भट्टराईले जानकारी दिनुभयो। आगामी वर्ष देशका विभिन्न जिल्लाहरूमा भौतिक कक्षा सञ्चालन गर्ने तयारी गरिरहेको संस्थाले जनाएको छ।


By Marxist

Leave a Reply

Your email address will not be published. Required fields are marked *