साउन १९, काठमाडौं। नेकपा माओवादी केन्द्र रूकुम पश्चिमले आयोजना गरेको ‘आधारभूत मार्क्सवादी स्कुलिङ’ सम्पन्न भएको छ। साउन ७ गते देखि मुसिकोट नगरपालिका ५ स्थित सहिद स्मृति सभाहलमा सञ्चालन भएको ५ दिने उक्त कार्यक्रममा बुधबार सम्पन्न भएको हो।
कार्यक्रममा दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र, वैज्ञानिक समाजवाद, विश्व कम्युनिस्ट आन्दोलनको इतिहास, नेपालको कम्युनिस्ट आन्दोलनको इतिहास, विज्ञान प्रविधि, लगायतका विषयमा सहजीकरण गरिएको थियो।
पाँच दिनसम्म सञ्चालित उक्त कक्षामा रूकुम पश्चिमका विभिन्न स्थानीय तहबाट १५६ जना सहभागी भएका थिए। ३८ वटा सेसनमा सम्पन्न गरिएको कक्षाको अन्तिम दिन परीक्षासमेत गरिएको थियो।
स्कुलमा दर्शनशास्त्रको सामान्य परिचय, द्वन्द्वात्मक भौतिकवाद, ऐतिहासिक भौतिकवाद, अर्थशास्त्र र राजनीतिक अर्थशास्त्रको परिचय र परिभाषा, मूल्य सिद्धान्त, अतिरिक्त मूल्य, आधार र अधिरचना, उत्पादन पद्धति, पुँजीवाद र यसका रूपहरू, नेपालमा समाजवादका आर्थिक आधारहरू, समाजवादी आर्थिक प्रणाली लगायतका विषय रहेका थिए।
त्यसैगरि राज्यसत्ता र यसको विकासक्रम, समाजवादसम्बन्धि विभिन्न धारणाहरू र वैज्ञानिक समाजवाद, कम्युनिस्ट पार्टी र संगठन, राजनीतिक कार्यदिशा, आजको विश्व र समाजवाद, समाजवाद र नेपाल, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहास, नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास, विज्ञान र प्रविधिको विकास, विज्ञान प्रविधि र आजको विश्व, विज्ञान र मार्क्सवाद लगायतका विषयमा सहजीकरण गरिएको थियो।
मार्क्सवादी ज्ञान केन्द्रका अध्यक्ष मनहरि तिमिल्सिना, सल्लाहकार मणिरत्न श्रेष्ठ, नेकपा माओवादी केन्द्रका बागमती प्रदेश सचिवालय सदस्य महेश्वर फुँयाल, मार्क्सवादी ज्ञान केन्द्रका महासचिव इन्द्रराज भट्टराई, सचिव हुमनाथ न्यौपाने, सल्लाहकार प्रा.डा. शोभाकान्त लामिछाने, उपप्राध्यापक राधिका ओझा, ज्ञान केन्द्रका सदस्य रेशमकुमार अधिकारी र प्रशिक्षण विभागका हेमनाथ पौडेलले विभिन्न विषयमा सहजीकरण गर्नुभएको थियो।
‘आधारभूत मार्क्सवादी स्कुलिङ’को उद्घाटन नेकपा माओवादी केन्द्रका नेता एवं अर्थमन्त्री जनार्दन शर्माले गर्नुभएको थियो। कार्यक्रमको उद्घाटन सत्रमा रूकुमका नेताहरू राजकुमार शर्मा, महेन्द्र केसी, वसन्त शर्मा, गोपाल शर्मा, गोविन्द रोका लगायतले मार्क्सवादी स्कुलको औचित्य र आवश्यकताबारे बोल्नुभएको थियो।
त्यसैगरि ज्ञान केन्द्रले साउनको १४ गतेदेखि १६ गतेसम्म जुम्लाको खलंगामा ३ दिने मार्क्सवादी स्कुल सञ्चालन गरेको छ। केन्द्रका अध्यक्ष मनहरि तिमिल्सिनाको नेतृत्वमा गएको टीमले दर्शन, राजनीतिक अर्थशास्त्र, वैज्ञानिक समाजवाद, इतिहास र विज्ञान प्रविधिसम्बन्धि २२ वटा सेसनको सहजीकरण गरेको थियो।
जुम्लामा आयोजित स्कुलको माओवादी केन्द्रका केन्द्रीय सदस्य गोमा गौतम कुंवर र केन्द्रका अध्यक्ष तिमिल्सिनाले उद्घाटन गर्नुभएको थियो। ३ दिन लामो कक्षामा जिल्लाका १३२ जना नेता–कार्यकर्ता सहभागी हुनुभएको थियो।