program magh 5-13

काठमाडौं। मार्क्सवादी ज्ञान केन्द्रको आयोजनामा सञ्चालन भएको १० दिन लामो मार्क्सवादी कक्षा यही माघ १४ गते सम्पन्न भएको छ।
मार्क्सवादी ज्ञान केन्द्रको नियमित कक्षाअन्तर्गत १३ औं चरणको कक्षा माघ ५ गतेबाट सञ्चालन गरिएको थियो। नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले संयुक्त रूपमा उद्घाटन गर्नुभएको भर्चुअल कक्षामा करीब ३५० जना प्रशिक्षार्थीहरूको सहभागीता रहेको थियो।

माघ ५ गते कक्षाको उद्घाटन गर्दै नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य एवं नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले वैचारिक कामलाई केन्द्रमा नराखी कम्युनिस्ट आन्दोलनले गति लिन नसक्ने बताउनुभयो।

मन्त्री शर्माले भन्नुभयो – ‘‘अहिले कम्युनिस्ट आन्दोलनसामु मूलतः चार कार्यभार छन्, समाजवादी क्रान्तिको दिशावोध गर्नसक्ने वैचारिक क्षमताको विकास, समाजवादलाई केन्द्रमा राखेर उत्पादन र निर्माणको काम, सुदृढ संगठन र जनसम्बन्ध एवं कम्युनिस्टहरूको साझा केन्द्रको निर्माण। यसका लागि यस्ता वैचारिक कक्षाहरू अत्यावश्यक छन्।’’

उद्घाटन सत्रमा एमाले उपाध्यक्ष शाक्यले अहिलेका पार्टीहरूमा विचारधारात्मक काम हुन छोडेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘हाम्रो जमानामा अध्ययन संस्कृति निकै सवल थियो, अहिले त्यस्तो स्थिति छैन। हामीले वैचारिक कामलाई खास महत्व दिएका छैनौं। यो गम्भीर कुरा हो, यसलाई सच्चाउनुपर्छ।’’

१० दिन लामो कक्षामा दर्शनको परिचय र द्वन्द्वात्मक भौतिकवादमा समीर सिंह, ऐतिहासिक भौतिकवादमा प्राडा रमेश भट्टराई, अतिरिक्त मूल्य र समाजवादी अर्थतन्त्रमा रामराज रेग्मी, आजको विश्व अर्थव्यवस्थामा डिपी ढकाल, समाजवादी क्रान्तिको कार्यदिशामा मनहरि तिमिल्सिना, विश्व कम्युनिस्ट आन्दोलनको समीक्षामा राम कार्की र विज्ञान र मार्क्सवादको सम्बन्धमा प्राडा शोभाकान्त लामिछानेले सहजीकरण गर्नुभएको थियो।

कक्षाको अन्तिम दिन गुगल फाराममार्फत् सहभागीहरूको परीक्षा लिइएको थियो। परीक्षापश्चात् कक्षामा सहभागी सबै जनालाई डिजिटल प्रमाणपत्र उपलब्ध गराइएको केन्द्रका महासचिव इन्द्रराज भट्टराईले जानकारी दिनुभयो।


By Marxist

Leave a Reply

Your email address will not be published. Required fields are marked *