काठमाडौं, १० माघ। मार्क्सवादी ज्ञान केन्द्रका अध्यक्ष मनहरि तिमिल्सिनाद्वारा लिखित ‘समाजवादी क्रान्तिको कार्यदिशा’ पुस्तकमाथि समीक्षा कार्यक्रम सम्पन्न भएको छ।
पुस्तकमाथि नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी) का स्थायी समिति सदस्य सावित्रा भुसाल, माओवादी केन्द्रका केन्द्रीय सदस्य कुमार पौडेलले टिप्पणी गर्नुभएको थियो।
पुस्तकमाथि टिप्पणी गर्दै नेता श्रेष्ठले नेपालमा समाजवादको बहस तीव्रतापूर्वक अघि बढे पनि समाजवादको नेपाली मोडेल, मौलिकता र कार्यदिशाबारे पर्याप्त बहस नभएको बताउनुभयो।
नेता श्रेष्ठले भन्नुभयो – ‘‘हामीले संविधानको प्रस्तावनामै समाजवादउन्मुख राज्य हुनेछ भन्ने कुरा उल्लेख गरेका छौं। यो आफैमा ठूलो उपलब्धी हो, नेपाल समाजवादी क्रान्तिको दिशामा अगाडि पनि बढेको छ। तर, नेपाली मोडेल र मौलिकताबारे जति गहन बहस हुनुपर्थ्यो, त्यति हुन सकेको छैन।’’
श्रेष्ठले ‘‘समाजवादी क्रान्तिको कार्यदिशा’ पुस्तकले नेपालमा समाजवादी क्रान्ति सम्पन्न गर्ने दिशामा एउटा गम्भीर बहस सिर्जना गराएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, ‘‘एउटा लेखक वा एउटै पुस्तकले समाजवादी क्रान्तिको कार्यदिशाको समग्र मार्ग कोर्न सक्दैन, पुस्तकमा लेखकको त्यो दावी पनि देखिँदैन। तर, पुस्तकमा जे–जस्ता विषयहरू उठाइएको छ, ती गम्भीर महत्वका छन्।’’
पुस्तकको समीक्षा गर्दै एकीकृत समाजवादीका नेता भुसालले लेखकले पुस्तकमार्फत् गहन विषयहरू अगाडि सारेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘पुस्तक निकै महत्वपूर्ण रहेछ। पुस्तकमा धेरै गहन विषयहरूको चर्चा, विश्लेषण र संश्लेषण गरिएको छ। पुस्तकको गहिराइ हेर्दा कम्युनिस्ट आन्दोलनको साझा कार्यदिशा विकासमा यसले एउटा इट्टा थप्ने विश्वास गर्न सकिन्छ।’’
पुस्तकको समीक्षा गर्दै माओवादी केन्द्रका नेता पौडेलले पुस्तकले समकालीन विश्वका नयाँ मुद्दाहरूलाई मार्क्सवादी आलोकबाट हेर्ने कोशि गरेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘समकालीन मुद्दाको मार्क्सवादी विवेचनामा लेखकको बढी ध्यान गएको छ। यद्यपि, आजको विश्वमा भूराजनीतिक एवं सैन्य विज्ञानको विषय पनि उत्तिकै महत्वपूर्ण छ, जुन आगामी संस्करणमा पुस्तकमा समावेश हुने अपेक्षा गरेको छु।’’
भर्चुअल माध्यमबाट गरिएको समीक्षामा बोल्दै पुस्तकका लेखक तिमिल्सिनाले समीक्षकहरूबाट आएका गहन सुझावहरूलाई आगामी संस्करणमा समावेश गर्ने बताउनुभयो। ‘‘यहाँहरूका निकै महत्वपूर्ण सुझावहरू आएका छन्। दृष्टिकोण मिल्ने सुझावहरू आगामी संस्करणमा समेट्नेछु’’ उहाँले भन्नुभयो।