काठमाडौं, २२ माघ। मार्क्सवादी ज्ञान केन्द्रको आयोजनामा हालै बजारमा आएको ‘समाजवाद र नेपाल’ पुस्तकमाथि परिचचाए कार्यक्रम सम्पन्न भएको छ।
युवा लेखक डिपी ढकालद्वारा लिखित उक्त पुस्तकमाथि शनिबार भर्चुअल कार्यक्रममार्फत् समीक्षा गरिएको हो। अर्थराजनीतिक विश्लेषणमा केन्द्रित उक्त पुस्तकका समीक्षकहरूले पुस्तक अति उपयोगी भएकोमा जोड दिए।
पुस्तक समीक्षामा प्रमुख वक्ताका रूपमा बोल्दै नेकपा (माओवादी केन्द्र) का प्रवक्ता एवं पूर्वसभामुख कृष्णबहादुर महराले समाजवादको दिशामा जाने सन्दर्भमा नेपालका कम्युनिस्टहरूबिच एकमत भए पनि त्यसको मोडेल, विधि र प्रक्रियाका हिसाबले थुप्रै अन्यौलताहरू रहेको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘‘हामीले समाजवादमा जाने कुरा गरेका छौं। सबैजसो पार्टीहरू सैद्धान्तिक रूपमा यसप्रति सहमत छन्। तर, समाजवाद र हाम्रो आफ्नो अर्थतन्त्रबारे हामीले जुन रूपमा बहस गर्नुपर्थ्यो, त्यसो गर्न सकेका छैनौं। डिपीजीको पुस्तकले त्यो ढोका खोलिदिएको छ।’’
पुस्तकमाथि समीक्षा गर्दै प्राडा सूर्य थापाले अर्थशास्त्रको पुस्तक पनि अति सरल भाषामा लेखिएको भन्दै पुस्तक अर्थशास्त्र जान्न चाहने सामान्य विद्यार्थीदेखि अनुसन्धानकर्तासम्म सबैका लागि उपयोगी भएको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘‘पुस्तक सरल छ। तर, गहन छ। पुस्तकभित्र विश्वभरिकै अर्थतन्त्रको मूल चरित्रबारे राम्रोसँग व्याख्या गरिएको छ। यो पुस्तक पाठ्यक्रममा समावेश गर्न सकिने खालको छ। यो पार्टीका आन्तरिक स्कुलहरूका लागि पनि महत्वपूर्ण छ।’’
कार्यक्रममा मार्क्सवादी ज्ञान केन्द्रका अध्यक्ष मनहरि तिमिल्सिनाले समाजवाद र नेपाल पुस्तक नेपालका कम्युनिस्टहरूको साझा सम्पत्ति भएको भन्दै यसले बहसको ढोका खोलेको बताउनुभयो।
पुस्तकका लेखक ढकालले आफूले समाजवादको नेपाली मोडेलका लागि सहयोग पुगोस् भन्ने हेतुले पुस्तक लेखेको बताउनुभयो। ‘‘समाजवादबारे धेरै कुरा भएका छन्। तर, गहिरो गरी अध्ययन भएको छैन। समाजवाद सम्बन्धि नीति र अनुसन्धानका लागि पुस्तकले सहयोग पुग्ने विश्वास लिएको छु।’’