– प्रस्तोता : डा. कृष्णराज अधिकारी

१. मार्क्सवादी दर्शन मानव जातिले हालसम्म प्राप्त गरेका दार्शनिक उपलब्धिहरुमध्ये सबैभन्दा उन्नत दर्शन हो । यसले मानव मात्रको सर्वोत्तम हित र मुक्तिको मार्ग निर्देश गरेको छ । यो कुनै भावना वा कल्पनामा आधारित नभएर भौतिक विज्ञान र समाजविकासका नियमहरुमा आधारित विज्ञानसम्मत दर्शन हो । दुनियालाई बुझ्नु र बदल्नु माक्र्सवादको अभीष्ट हो । दुनिया बुझ्नुको अर्थ प्रकृति, वस्तु र समाजलाई, तिनका गुण, चरित्र र स्वभावलाई अनि तिनका नियमहरुलाई, वस्तु र समाजमा विद्यमान विभिन्न अन्तर्विरोधहरुलाई ठम्याउनु हो भने दुनिया बदल्नुको अर्थ उक्त नियम अनुरुप वस्तु र समाजमा विद्यमान अन्तर्विरोधको समाधान गर्नु हो । यसका लागि समग्र विश्वका साथै देशको सामाजिक, आर्थिक, राजनीतिक अवस्था र तिनको वर्ग सम्बन्ध बारे अध्ययन गर्नुपर्ने हुन्छ । माक्र्सवादले मानवशास्त्र, समाजशास्त्र, दर्शनशास्त्र, अर्थशास्त्र, राजनीतिशास्त्र, कला–साहित्य र विज्ञान–प्रविधि जस्ता ज्ञान–विज्ञानका विभिन्न शाखाहरुको निरन्तर खोज–अनुसन्धान र विकास गर्दै त्यसलाई मानवको सर्वोत्तम हितमा प्रयोग गर्न अभिप्रेरित गर्दछ । समग्रमा भन्दा सिद्धान्त र व्यवहारबीचको द्वन्द्वात्मक एकता नै मार्क्सवादी ज्ञानसिद्धान्तको सार हो ।

२. विश्वका कतिपय मुलुकमा माक्र्सवादका नाउँमा भएका केही राजनीतिक प्रयोगहरुको असफलतालाई लिएर सिङ्गो माक्र्सवादकै अवसान भएको ठान्दै केही पुँजीवादी विद्वानहरुले ‘इतिहासको अन्त’ भएको घोषणा गर्न पुगे । तर, पुँजीवाद छाडा साँढेझैं जति नै डुक्रिए पनि त्यसले मानवीय सङ्कट समाधान गर्नुको साटो झनै बढाउँदै लग्यो र आफैं सङ्कटापन्न अवस्थामा पुग्यो । पछिल्लो समयमा आउँदा पुँजीवादले प्रकृतिको अतिसय दोहन गर्नुका साथै मानिसहरुका बीच चरम विभेद सिर्जना गर्दै लगेपछि मानव अस्तित्वमाथि नै प्रश्न उठ्न थाल्यो । यसैले ‘इतिहासको अन्त्य’ घोषणा गर्नेले पनि पछि आफ्नै भनाइ फेर्न थाले । पुँजिवादले परिवर्तित सन्दर्भ अनुरुप आफ्नो स्वरुपमा केही परिवर्तन गर्दै समाजवादका कतिपय पक्षलाई आत्मसात गर्न पुग्नुले पनि माक्र्सवादको सान्दर्भिकतालाई पुष्टि गर्दछ ।

अहिले माक्र्सवादलाई अति शास्त्रीयतावादी जडता र सिर्जनात्मक प्रयोगका नाउँमा यसका सारभूत तत्वहरुलाई नै परित्याग गर्ने विचलनवादी प्रवृत्ति गरी दुई खाले अतिवादी प्रवृत्तिले माक्र्सवादको विकासमा अवरोध पुर्‍याउँदै आएका छन् । एकथरि बीसौं शताब्दीको वस्तुगत अवस्थालाई नै बर्तमानको समेत यथार्थ अवस्था ठानी त्यसैलाई अन्तिम सत्य ठानिरहेछन् भने अर्काथरि माक्र्सवादको मूलभूत सार वर्गसङ्घर्षलाई नै परित्याग गरी वर्गसमन्वयको बिसर्जनवादी बाटो हिँडिरहेछन् ।

३. अहिले पुँजीवादको मूल चरित्र डाटा पुँजीवाद वा डाटा प्रभुत्ववाद रहेको छ । विग डाटाको विकास, कम्प्युटरको क्षमतामा गुणात्मक फट्को, एआइको विकास एवम् जैविक, रासायनिक र प्राविधिक क्षेत्रमा देखा परेको गुणात्मक फट्कोका कारण अवको सामाजिक आर्थिक रुपान्तरणको स्वरुप विगतको भन्दा नितान्त भिन्न हुन पुगेको छ । समाज विकासको प्रक्रिया, पुँजीवादको विकास र संकट, विज्ञान–प्रविधिका क्षेत्रमा विकसित नयाँ आविस्कार र आयामहरू लेनिनको समयभन्दा निकै परिवर्तित र फरक भएको छ । आजको युग डिजिटल युगमा प्रवेश गरिसकेको छ । डिजिटल युगको मुटु भनेको बहुराष्ट्रिय निगमहरुमा केन्द्रित सत्ता रहनु हो । यसलाई कर्पोरेटोक्रेसी भन्ने गरिएको छ । स्मिरनाइओसले गुगल, अमेजन, फेसबुक र एप्पललाई चारजनाको गिरोहका रुपामा लिँदै तिनीहरुले ठाडो र तर्सो सत्ता खडा गरेको बताएका छन् ।

सर्भेलेन्स पुँजीवादले जनताको आत्मनिर्णयको मनोवैज्ञानिक र राजनीतिक आधारलाई चुनौती दिएको छ । त्यस्ता निगमहरुले जनताको निम्न चेतना, अज्ञानता, असावधानी जस्ता कमजोरीलाई प्रयोग गर्दैै जनतालाई जालमा पार्दछन् र उनीहरुको आत्मनिर्णयमाथि नराम्ररी प्रभाव पार्दछन् । व्यक्तिले के मन पराउँछ वा मन पराउँदैन, उसको मनोभाव के छ, कस्तो पुस्तक पढ्दा के प्रभाव पर्छ भन्ने कुरा अमेजनले थाहा पाउँछ । यहाँसम्मकि त्यस्ता भीमकाय निगमहरुले भविष्यमा मानव दिमागलाई समेत ह्याक गर्न सक्ने देखिन्छ । यसले राजनीतिक अभियान वा चुनाव अभियानलाई समेत प्रभाव पार्न सक्दछ । सामाजिक सञ्जालमा पोस्ट गरेका निजी डाटाहरु ती व्यक्तिले केही समयपछि बिर्सन सक्छन् तर ती निगमहरुले अनन्तसम्म सुरक्षित राख्दछन् र त्यसको विश्लेषण गरी त्यस आधारमा आफ्नो रणनीति तयार गर्दछन् । यसैले सुक्ष्म यान्त्रिकी, कृतिम बौद्धिकता र डाटा पुँजीवादजस्ता नयाँ आविस्कार र उत्पादनका साधन र स्वामित्वमा आएका नयाँ अवधारणाले अबको युगबारे नयाँ संश्लेषण गर्नु आवश्यक बन्न गएको छ ।

विश्व अर्थतन्त्र मूल रुपले वस्तु आधारितबाट ज्ञान आधारितमा फेरिएको छ । पहिला धनको मुख्य स्रोत भौतिक सम्पत्ति, सुनखानी, जमिन, तेलका कुवा आदिलाई मानिन्थ्यो भने अहिले आएर विज्ञान–प्रविधि वा ज्ञानद्वारा विजय प्राप्त गर्ने होड चलेको छ । डाटा र प्रविधिमा आएको यो क्रान्तिले गर्दा रोबोट र एआइको प्रयोगका कारण धेरैको पेशा नै सङ्कटमा परेको छ । वैज्ञानिक काइ फु लि का अनुसार यस क्रान्तिले एउटा ‘काम नलाग्ने वर्ग’ को सिर्जना गर्दैछ । माक्र्सवादले मानिसलाई नै केन्दमा राखेर मानिसकै सर्वोत्तम हितमा काम गर्ने भएकाले मानिसकै अस्तित्वमा प्रश्न उठ्ने गरी गरिने मानवद्वेषी क्रियाकलापको विरुद्धमा रहन्छ । यसैले पनि ज्ञानका यावत् क्षेत्रमा माक्र्सवादले श्रेष्ठता हासिल गर्नु जरुरी हुन्छ । माक्र्सवाद पोखरीझैं स्थिर र जड नभएर हिमनदीझैं प्रवाहशील र विकासशील नित्य नवीन भौतिकवादी दर्शन भएकाले यसका सारभूत कुराहरुलाई आत्मसात गर्दै र अझ सशक्त तुल्याउँदै बदलिँदो भौतिक–वैज्ञानिक विकासको सापेक्षतामा माक्र्सवादको विकास गर्दै अघि बढ्नु आवश्यक भएको छ ।

वैचारिक–दार्शनिक क्षेत्रमा उत्तरआधुनिकतावाद र बहुलवाद अनि सांस्कृतिक क्षेत्रमा उपभोक्तावाद मार्फत् पनि परिवर्तित पुँजीवाद हाम्रो मन–मस्तिष्क र चुला–चौकामा घुसिसकेको छ । यसबाट मुक्त हुन वैचारिक–सांस्कृतिक क्रान्तिको जरुरत पर्दछ जुन सशस्त्र युद्धभन्दा बढी चुनौतीपूर्ण हुन्छ ।

४. नेपालमा मार्क्सवादी ज्ञानको प्रवेश राणाकालमै भएको पाइन्छ । अङ्ग्रेजको सहयोगमा विश्वयुद्धमा खटाइएका सैनिकहरु विश्वका विभिन्न भूभागमा पुगेपछि रुसको अक्टोवर क्रान्तिबारे केही जानकारी पाएका थिए भने भारतका विभिन्न भूभागमा अध्ययन गर्ने चेतनशील युवाहरुमा पनि माक्र्सवादसम्बन्धी सामान्य जानकारी र केही प्रभावसमेत पाइन्छ । सहिद दशरथ चन्द र गंगालालमा माक्र्सवादको प्रभाव रहेको थियो । गंगालालको घरमा खानतलासी गर्दा त्यहाँ मार्क्सवादी सामग्रीहरु भेटिएको थियो । जय पृथ्वीबहादुर सिँह भारत निर्वासनमा रहँदा त्यहाँ उनको विख्यात मार्क्सवादी एम.एन.रायसँग संपर्क भएको थियो । उनी पनि माक्र्सवादबाट प्रभावित थिए । उनले भियनास्थित सोभियत दूतावासमार्फत् मस्को गएर लेनिनसँग भेट्न खोजेका थिए । प्रजापरिषद्का अध्यक्ष टङ्कप्रसाद पनि माक्र्सवादबाट प्रभावित भएको पाइन्छ । काठमाडौंको डिल्लीबजारका बिहारीलाल भन्ने व्यक्ति माक्र्सवाद वा साम्यवादका प्रचारक थिए भनिन्छ । प्रचण्ड गोर्खाका कार्यकर्ताहरु पनि माक्र्सवादवबाट प्रभावित थिए । यसरी हेर्दा नेपालमा मार्क्सवादी ज्ञानको प्रवेश १०० बर्ष अघिबाटै भएको देखिन्छ । तर, माक्र्सवाद सम्बन्धी व्यवस्थित अध्ययन भने भारत पढ्न गएका चेतनशील युवाहरुमार्फत् नै हुन गएको पाइन्छ । वि.सं.२००६ मा भएको कम्युनिस्ट पार्टीको स्थापना र पुष्पलालद्वारा ‘कम्युनिस्ट पार्टीको घोषणापत्र’ को नेपालीमा अनुवाद भएपछि यसले फैलिने र विकास हुने अवसर पाएको हो ।

नेपालमा साम्यवादी आन्दोलनले निकै उतार–चढाब व्यहोर्दै आजको अवस्थामा आइपुगेको छ । तीनदशकभन्दा बढी अवधिदेखि कम्युनिस्ट पार्टी सरकारमा सामेल हुनुका साथै साढे दुईदशक अघिदेखि पटक–पटक सरकारको नेतृत्व गर्दै आएर पनि नेपालमा साम्यवादी आन्दोलनले स्पष्ट दिशा र सार्थक परिणाम दिन सकेको पाइँदैन । जनताको विश्वास र समर्थन पाएर दुईतिहाई निकटको सरकार बनाउँदा पनि पुराना र परम्परागत सरकारभन्दा तात्विक रूपले भिन्न देखिन नसक्नु मार्क्सवादी मान्यता र आदर्शबाट स्खलित हुँदै बिसर्जनवादी बाटोमा जानुको परिणाम हो ।

५. केही दशक यता अध्ययन संस्कृतिमा ह्रास आउन थालेको छ जुन निकै चिन्ताको विषय हो । गोर्कीका अनुसार पनि हातलाईभन्दा पहिले मस्तिष्कलाई सशस्त्र गराउनु आवश्यक हुन्छ । कम्युनिस्ट वा मार्क्सवादीहरु त अझ बढी अध्ययन र खोज–अनुसन्धानमा लाग्नुपर्ने हुन्छ । तर अध्ययन–अनुसन्धानको योग्यताभन्दा चाकडी र दलालीको योग्यता बिकाउ हुन थालेपछि अध्ययनप्रति उदासिनता बढ्न थालेको पाइन्छ । सरकारमा गएका ठूला कम्युनिस्ट पार्टीहरुले जनतालाई सपना देखाएर अलपत्र पारेपछि तिनीहरुमा कम्युनिस्ट पार्टीप्रतिको आकर्षण घट्न थालेको छ । कार्यकर्ताहरुमा चाकडी र दलाली गरी पद–प्रतिष्ठा र पैसा हत्याउने प्रवृत्ति मौलाइरहेको छ । यस्तो निराशाजनक अवस्थाका बीच जनतामा आशा र विश्वास जगाउन, मार्क्सवादी विचार र आदर्शलाई जोगाउन, अध्ययन संस्कृतिको विकास गर्न, संसारमा खोज–अनुसन्धान, प्रयोग र विकास भइरहेको मानवीय ज्ञानका विविध आयामहरुसँग परिचित र प्रशिक्षित हुँदै बौद्धिक कर्ममा अभिपे्ररित गर्न एउटा संरचनाको आवश्यकता महसूस भएको हो ।

६. मार्क्सवादी ज्ञान केन्द्रले निम्नानुसारका कार्यहरु गर्ने उद्देश्य लिएको छ —

क) दर्शनशास्त्र, समाजशास्त्र, मानवशास्ब, अर्थशास्त्र, मार्क्सवादी सौन्दर्यशास्त्र, भाषा, साहित्य, कला, संस्कृति, प्राकृतिक तथा भौतिक विज्ञान आदि विषयमा चेतनामूलक प्रशिक्षण गर्ने ।

ख) वातावरण विनास र त्यसले पारेको प्रभाव, जलवायु परिवर्तन, शिक्षामा रुपान्तरण, सांस्कृतिक रुपान्तरण, आत्मनिर्भर अर्थतन्त्र, ग्रामीण क्षेत्रको विकास, कृषिको विकास, विश्व कम्युनिस्ट आन्दोलनको इतिहास र विभिन्न प्रयोगहरु लगायतका विषयमा अन्तरक्रिया र प्रशिक्षण सञ्चालन गर्ने ।

ग) ज्ञानकेन्द्रलाई उपयुक्त लागेका कृतिहरुको प्रकाशनमा सहजिकरण गर्दै कृतिका बारेमा विमर्श गर्ने ।

घ) विश्वका महत्वपूर्ण घटना–सन्दर्भ र समसामयिक विषयवस्तुमा अन्तरक्रिया, विमर्श तथा प्रशिक्षण सञ्चालन गर्ने ।

ङ)प्रदेशस्तरमा माक्र्सवादको अध्ययनमा रूचि राख्ने अध्ययनशील व्यक्तित्वहरूको सूचि तयार पारी अभिमुखीकरण कक्षा सञ्चालन गर्ने र प्रशिक्षक तयार पार्ने,

च) सामयिक र विभिन्न बौद्धिक विषयमा केन्द्रित रहेर महिनामा कम्तीमा एउटा अन्तरक्रिया कार्यक्रम गर्ने, आदि ।

(२१ कार्तिक २०७८, पोखरा)


By Marxist

Leave a Reply