Maniratna Shrestha

– मणिरत्न श्रेष्ठ : सल्लाहकार, मार्क्सवादी ज्ञान केन्द्र

ऐतिहासिक भौतिकवादले सामाजिक जीवनका भिन्न भिन्न पक्षहरुको अध्ययन गर्ने र ती विभिन्न पक्षहरुको विकास र तिनका अन्तरसम्बन्धहरुको अध्ययन गर्दछ। त्यसैले यो इतिहास र सामाजिक जीवनको अध्ययन गर्ने सामान्य वैज्ञानिक नियम हो। ऐतिहासिक घटनाक्रमहरुलाई द्धन्दात्मक भौतिकवादी तरिकाले बुझ्ने हेर्ने, व्याख्या गर्ने र त्यसलाई बदल्ने प्रक्रियालाई नै ऐतिहासिक भौतिकवाद भनिन्छ।

ऐतिहासिक भौतिकवादले उत्पादन पद्दति र त्यसको गतिविधिलाई समाज विकासको आधार मानेर त्यसको द्धन्दात्मक भौतिकवादी स्वभावका आधारमा समाजलाई हेर्नु ऐतिहासिक भौतिकवाद हो। इतिहासको भौतिकवादी ढंगले व्याख्या गर्नु इतिहासको नियम र गतिहरुको अध्ययन गर्नु र तिनलाई सही ढंगले बुझ्नु नै ऐतिहासिक भौतिकवाद हो। इतिहास र मानव समाजको भौतिकवादी व्याख्या नै ऐतिहासिक भौतिकवाद हो । यो मार्क्सवाद, लेनिनवाद माओवाद/विचारको अभिन्न अङ्ग हो ।

मानिसको समस्त ऐतिहासिक क्रियाकलापहरुको आधार तयार गर्ने भौतिक जीवनको उत्पादनका वस्तुगत परिस्थितिहरु के–के हुन् ? यी परिस्थितिको विकासको नियम के हो ? मानव समाज कसरी विकास भए ? यसको ऐतिहासिक प्रक्रिया के हुन् आदि विभिन्न प्रश्नहरुको अध्ययन खोज्ने क्रममा ऐतिहासिक भौतिकवादको जन्म भएको हो। मानव जातिको इतिहास र सामाजिक जीवनको अध्ययन गर्ने प्रक्रियामा ऐतिहासिक भौतिकवादको जन्म भएको हो।

ऐतिहासिक भौतिकवादको सिद्धान्त विकास गर्ने आधार एवं श्रोत भनेको अठारौं शताब्दीको यान्त्रिक भौतिकवादीहरु र उन्नाइसौं शताब्दीका काल्पनिक समाजवादीहरु हेगेल, फेयरवाख लगायत विभिन्न अर्थशास्त्रीहरु हुन्।

मार्क्सवादभन्दा पहिले इतिहास र मानव समाजको विकास क्रमलाई हेर्ने धारणा एकांकी थिए। ती धारणाहरु काल्पनिक र रहस्यमूलक ढंगले व्याख्या गर्ने गरिन्थ्यो। परम्परावादीहरुले इतिहास र मानव समाजलाई भगवानको अलौकिक लिला र खेलको रुपमा विकास भएको भन्ने धारणा थियो र मानव जातिको विकासभन्दा विनाशतिर अघि बढेको अवधारणा राख्दथे। यान्त्रिक भौतिकवाद आदर्शवाद अधिभूतबाट व्याप्त थिए।

मार्क्सले विगतका हेगेल र फायरवाख लगायतका उन्नाइसौं शताब्दीका विभिन्न दार्शनिकहरुको विचारलाई टेकेर त्यसमा रहेको कमिकमजोरी हटाएर नयाँ उन्नतस्तरको वैज्ञानिक ऐतिहासिक भौतिकवाद सिद्धान्तको प्रतिपादन गरे। मार्क्सले प्रतिपादन गरेको ऐतिहासिक भौतिकवादले इतिहास र मानव समाजको विकास क्रमलाई हेर्ने अवधारणालाई उलटफेर गरिदिएपछि यस विषयमा ठूलो हलचल नै ल्याइदिए।

मार्क्सवादले इतिहास र मानव समाजको निर्माता मानिस आफैं हुन्, कुनै देवीदेवता होइनन् भनी खण्डन गरे। मानिसले आफ्नो इतिहास आफैं निर्माण गरेको हुन्छ। तर आफू खुशीले नभई विद्यमान भौतिक परिस्थिति वा वस्तुगत परिस्थितिका आधारमा हुन्छ भन्ने धारणा राखे। ऐतिहासिक भौतिकवादले पहिलोपल्ट जनजीवनमा सामाजिक परिस्थितिहरु तीनका परिवर्तनहरुको बारेमा वैज्ञानिक प्रमाणीकरणसहित अध्ययन गर्न सम्भव तुल्याइदिएको छ।

इतिहासको भौतिकवादी व्याख्यामा उत्पादन, उत्पादन सम्बन्ध, उत्पादनका साधन र स्वामित्वमा भएको परिवर्तनले मानव जातिको विकास भएको मान्यता राख्दछ। समाज विकासको परिवर्तन वर्ग संघर्षको माध्यमबाट हुन्छ। शोषकबाट चरम् शोषण भएपछि अझ भनौं अन्तरविरोध चरम् भएपछि वर्ग संघर्षमा अभिव्यक्त हुन्छ। वर्ग संघर्षमा अन्तिममा शोषित वर्गले जीत हात पार्छ र सत्ता कब्जा गर्छ, जसले समाज सर्वहारा वर्गको हातमा जान्छ। यसरी वर्ग संघर्षको माध्यमबाट समाज परिवर्तन हुन्छ भन्ने मान्यता राख्छ।

ऐतिहासिक भौतिकवादी पद्धति द्वन्दवादी पद्धतिमा आधारित छ। द्वन्दवादीका नियमहरु, एकता र संघर्षका नियमहरु, मात्रात्मक परिवर्तनबाट गुणात्मक परिवर्तनको नियम र निषेधको नियमलाई मानव समाज र इतिहासमा लागू गरेको छ।

केही दार्शनिक परिभाषाहरु

 “ऐतिहासिक भौतिकवाद भनेको मानव इतिहासलाई द्वन्दात्मक भौतिकवादी तरिकाले व्याख्या गर्ने विज्ञान हो।’’ – लेनिन

 “ऐतिहासिक भौतिकवाद माक्र्सवाद लेनिनवाद दर्शनको पुरक अंग हो। यो त्यस्तो दार्शनिक विज्ञान हो, जसले मानव समाजका दर्शन सम्बन्धि प्रश्नहरुको भौतिकवादी समाधान दिन्छ। यसले समाज विकासको चरणहरुमा रहेको मानवीय गतिविधिहरुको अध्ययनका लागि आधार सामग्री प्रदान गर्दछ। ऐतिहासिक भौतिकवाद समाजशास्त्र र अरु सामाजिक विज्ञानहरुको स्रैद्धान्तिक र विधिगत आधार हो।’’ – आई फोर्लाव

 “भौतिकवादले वस्तुगत जगतलाई मानवीय चेतना संवेदना र अनुभवभन्दा बाहिर रहेको स्वतन्त्र कुरा मान्दछ। ऐतिहासिक भौतिकवादले सामाजिक अवस्थालाई मानसिक चेतनाभन्दा बाहिर रहेको स्वतन्त्र कुरा मान्दछ। दुवै कुराहरुमा चेतनाा भनेको वस्तुगत जगतको चेतना मात्र हो।’’ – लेनिन

ऐतिहासिक भौतिकवादका विषयवस्तुहरु

 ऐतिहासिक भौतिकवाद त्यो दार्शनिक विज्ञान हो, जसले इतिहासको गतिको सामान्य नियमहरु अध्ययन गर्दछ।

 इतिहासको गतिको सामान्य नियमहरु भन्नाले ऐतिहासिक भौतिकवादका प्रवर्ग, प्रगति र सिद्धान्तसँग सम्बन्धित छ।

 ऐतिहासिक भौतिकवादको प्रवर्गहरु भन्नाले मूलतः सामाजिक सत्ता, सामाजिक चेतना, उत्पादन शक्ति, उत्पादन सम्बन्ध, आधार, उपरिसंरचना, वर्ग, वर्ग संघर्ष, सामाजिक क्रान्ति जस्ता अवधारणाहरु पर्दछन्।

 ऐतिहासिक भौतिकवादको पद्धति भौतिकवाद द्वन्दवादको पद्धतिमा आधारित छ। यो पद्धति सबैखाले अधिभूतवादको बिरुद्ध खडा छ।

 भौतिकवादी द्वन्दवादको अनुसार हरेक सामाजिक व्यवस्था स्थिरताको अवस्थामा होइन, क्रान्ति परिवर्तन र रुपान्तरणको अवस्थामा हुन्छ।

 भौतिकवादी द्वन्दवादले समाज विकासको सिंगो प्रक्रियालाई विपरितहरुको एकत्वको अर्थमा ग्रहण गर्दछ ।

 त्यसैगरि ऐतिहासिक भौतिकवादको सिद्धान्त भन्नाले सामाजिक सत्ता र सामाजिक चेतनाका बीच विद्यमान सम्बन्धको अध्ययन गर्दछ।

 ऐतिहासिक भौतिकवादले सामाजिक सत्तालाई प्राथमिक तथा सामाजिक चिन्तनलाई द्वितीय मान्दछ। यसको साथै सामाजिक सत्तालाई ज्ञेय अर्थात बोधगम्य बनाँउदै त्यसलाई बदल्न सकिने र मुख्यत बदल्नुपर्ने कुराको पक्षपोषण गर्दछ।

ऐतिहासिक भौतिकवादको नियम र मान्यता

 मार्क्सवादले समाजको उत्पत्ति र विकासको प्रश्नलाई आत्मपरक होइन, वस्तुपरक ढंगले ग्रहण गर्दछ र इतिहासको विकास द्वन्दात्मक भौतिकवादी विश्व दृष्टिकोणको आधारमा गर्दछ।

 चेतनाले भौतिक अस्तित्वको निर्धारण गर्ने होइन, भौतिक अस्तित्वले चेतनाको निर्धारण गर्दछ।

 वर्ग संघर्ष परिवर्तनका वाहक – सामाजिक उत्पादन पद्धति भित्र रहेका मानिसहरु उत्पादनका साधनहरुमाथिको स्वामित्व, उत्पादन कार्यमा श्रमको लगानी र उत्पादित वस्तुको हिस्सा एवम् हिस्सा प्राप्तिका तरिकाको कारणले विभिन्न समूहमा विभाजित हुन्छन्। ती समूह नै वर्ग हुन्। आ–आफ्नो वर्गीय हितको निमित्त ती एक अर्काको विरोधी वर्गहरुबीच हुने द्वन्द वा संघर्षलाई वर्ग संघर्ष भनिन्छ। यही वर्ग संघर्षमार्फत नै समाज परिवर्तन हुन्छ भन्ने धारणा राख्दछ।

 उत्पादक शक्ति र उत्पादन सम्बन्ध – मानिसले प्रयोग गर्ने औजार र श्रमशक्ति, सीप कौशल र प्रविधिको संयुक्त रुप उत्पादन शक्ति हो। सामाजिक उत्पादन, विनिमय भौतिक सम्बन्ध, वितरण प्रक्रियामा मानिस मानिसबीचको सम्बन्धलाई उत्पादन सम्बन्ध भनिन्छ। मानिसले गरेको उत्पादन र वितरणबीचको सम्बन्ध उत्पादन सम्बन्ध हो। उत्पादन साधनमा सार्वजनिक स्वामित्व भए वितरण शोषणमुक्त समाज हुन्छ। तर उत्पादन साधनमा नीजि स्वामित्व छ भने जनता त्यसको अधिनस्थ हुन्छ र त्यसको विकास रोकिन्छ। उत्पादनको असमान वितरण हुन्छ र उत्पादन शक्ति तथा उत्पादन सम्बन्धबीच शत्रुतापूर्ण सम्बन्ध हुन्छ।

 उपरिढाँचा र आधार – संरचना र आधार माक्र्सवादको आधारभूत अवधारणा हो। आधार भनेको प्राकृतिक श्रोत र साधन मानव श्रम आदि हुन्। उपरिसंरचना भनेको दर्शन सिद्धान्त, राजनीति, धर्म नैतिकता, कानून, उत्पादन सम्बन्धहरु जस्ता पर्दछन्। यस अवधारणाले सम्पूर्ण माथिल्लो ढाँचाको (संरचना) रुपमा रहेको राजनीतिक क्रान्ति सम्पन्न हुन सक्छ भन्ने यसको मुख्य धारणा रहेको छ। यो ऐतिहासिक भौतिकवादको अवधारणा हो।

सामाजिक क्रान्ति र बल प्रयोग

स्थापित प्रणालीलाई विस्थापित गरी नयाँ संरचनाको स्थापना गर्ने प्रक्रियालाई क्रान्ति भनिन्छ। सामान्य अर्थमा उलटफेर गर्नु, परिवर्तन गर्नु, पुरानोको ठाउँमा नयाँ ठाउँ लिनु अर्थात् गति पक्रनु क्रान्ति हो। तर राजनीतिक अर्थमा सामाजिक प्रणालीलाई आमुल परिवर्तन गरी नयाँ सामाजिक व्यवस्था कायम गर्ने प्रक्रियालाई सामाजिक क्रान्ति भनिन्छ। यसलाई मार्क्सवादले वर्ग संघर्षका स्वभाविक परिणाम मान्दछ।

क्रान्ति सत्ता र सत्तासिन वर्गविरुद्ध सचेतनापूर्वक श्रमिक जनताले संघर्ष सञ्चालन गर्ने क्रममा उपयोग गरिएको शब्द हो। क्रान्तिको अर्थ जनताको विद्रोह, जनताको सशस्त्र संघर्ष, आमूल परिवर्तन भन्ने समेत जनाउँदछ। क्रान्तिको परिभाषाको क्रममा प्राय सबै विचारहरुको एउटै निष्कर्षमा सहमत छन्। क्रान्ति भनेको पुरानो व्यवस्था, विधि विधान र सरकारको पूर्ण परिवर्तन हो। पुरानो ठाऊँमा नयाँले स्थान लिनु हो। कार्ल मार्क्सको अर्थमा क्रान्ति इतिहासको चालक शक्ति हो। लेनिनको भनाइमा सम्झौताको अन्त्य गर्नु हो। यसको थप भनाई छ – क्रान्तिको प्रमुख काम भनेको राज्यसत्ता प्राप्त गर्नु हो। माओको भनाइमा क्रान्ति विद्रोह हो, हिंसात्मक कार्य हो, जहाँ एउटा वर्गले अर्को वर्गलाई मिल्काइ दिन्छ।बल प्रयोग भन्नाले शारिरिक शक्ति, ताकत, बल हो। कसैको कुनै इच्छा बिरुद्ध कुनै कार्य गर्नलाई गरिने शक्तिको प्रयोगमा बल लगाउने, दवाव दिने कामलाई बल प्रयोग भनिन्छ। मार्क्सवादले वर्ग संघर्षको इतिहासमा बल प्रयोगको भूमिकालाई क्रान्तिको सार्वभौम नियमको रुपमा अंगिकार गरेको छ।

इयुरिङ्घले वर्गको अभिप्रायबाट समाजको एक भागद्वारा अर्को भागमाथिको बल प्रयोगसँग सम्बन्ध गरेका छन्। काउत्स्की र उनका साथीहरुले शक्तिशाली कविलाद्वारा अन्य कमजोर कविलालाई दास बनाउनु वर्ग तथा राज्यको उद्भवको मुख्य कारण हो भनेका छन्। यो बल प्रयोगको भूमिकापछि सम्भव भएको हो।

इतिहासमा जति पनि सामाजिक क्रान्ति भएका छन्, ती सबै बल प्रयोगबाट नै सम्भव भएका छन्। बल प्रयोग विना आजसम्म कुनै पनि सामाजिक क्रान्ति सम्पन्न भएको छैन। जुनसकै राज्यसत्ता पनि बलको सामर्थ्यमा टिकेको हुन्छ। बल प्रयोगलाई सबैले आ–आफ्नो हितका लागि प्रयोग गर्ने गरेका छन्। प्रतिक्रियावादीहरुले बल प्रयोगको माध्यमबाट नै आफ्नो सत्ता टिकाउने गरेका छन्। साम्राज्यवाद तथा उपनिवेशवादले यस्तो बल प्रयोग साम्राज्यवाद खडा गर्न र कायम राख्नका लागि, विरोध गर्नका लागि, दवाउनका लागि बल प्रयोग गर्ने गरेको छ। यसर्थ मार्क्सवादले प्रतिरोध गर्नका लागि र साम्राज्यवादले आक्रमणका लागि बल प्रयोग गर्दछ भन्ने मान्यता रहेको पाइन्छ।

प्रकृति मानव समाज र चिन्तन हरेक क्षेत्रको निमित्त क्रान्ति एक ऐतिहासिक अपरिहार्यता हो। पुरानो सत्ताको ध्वस्त र नयाँ सत्ताको निर्माण अनिवार्य र वस्तुगत आवश्यकता हो। मानव समाजमा मात्र होइन, प्रकृतिमा पनि यस नियमको स्वतः लागू हुन्छ। थोत्रो रुख एकदिन अवश्य ढल्छ। शिशिर ऋतुमा वनको पहेंला पातहरु झरेर सकिन्छ भने बसन्त ऋतुमा नयाँ पालुवासहितको हरियो रुखहरु देखिन थाल्दछ। परन्तु मानवको सचेतन पक्षको भूमिकाले समय अगावै त्यसलाई ढाल्न र झार्न सकिन्छ। कसैले स्वीकार गरे पनि नगरे पनि क्रान्ति भएरै छाड्छ। पुरानोको ध्वंशसँगै नयाँको निर्माण भइरहेको हुन्छ। जस्तैः मानव समाजमा दास युगलाई सामन्ती युगले, सामन्ती युगलाई पुँजीवादी युगले ढालिदियो र आज पुँजीवादीलाई समाजवादले ढाल्दैछ। यो मार्क्सवादको सार्वभौम नियम हो।

क्रान्ति कसैको मनोगत इच्छाले पूरा हुने होइन। क्रान्ति पूरा हुनका लागि आवश्यक पूर्वाधारहरु परिपक्व हुनु आवश्यक छ। आवश्यक पूर्वाधारहरु यी हुन् –

क) वस्तुगत पूर्वाधार

  • नयाँ उत्पादन शक्ति र पुरानो उत्पादन सम्बन्ध बीच द्वन्द हुनु।
  • पुरानै ढंगबाट शासक वर्गले शासन गर्न नसक्ने र शासित वर्ग चल्न नचाहने स्थिति पैदा हुनु।

ख) आत्मगत पूर्वाधार

  • क्रान्तिकारी पार्टी र त्यसको नेतृत्वदायी भूमिका विकास हुनु।
  • क्रान्तिकारी वर्गमा पुरानो सत्तालाई ध्वस्त पारी नयाँ सत्ता कायम गर्न सक्ने क्षमताको विकास हुनु।
  • राजनीतिक कार्यदिशा सही हुनु।

समाज विकासका चरणहरु

उत्पादन पद्धतिको विकाससँगै समाजको विकास हुन्छ। उत्पादन सम्बन्धले नै राजनीतिक र सामाजिक व्यवस्थाको निर्धारण हुन्छ । प्रकृतिको जगतको विकाससँगै मानव समाजको विकास पनि हुँदै आएको छ। कार्ल मार्क्सले श्रम सम्बन्धको आधारमा समाजलाई देहाय बमोजिम पाँच भागमा विभाजन गर्नुभएको थियो।

क) आदिम साम्यवादी युग

ख) दास युग

ग) सामन्ती युग

घ) पुँजीवादी युग

ङ) समाजवादी युग तथा साम्यवाद ।

(क) आदिम साम्यवादी युग

एंगेल्सले मानव समाजको ऐतिहासिक विकासको व्याख्या गर्दा दास युगबाट मात्र गरेको थियो। आदिम साम्यवादी व्यवस्थाको अवधारणा अमेरिकी समाजशाश्त्री मोर्गानले गरेका हुन्। चिनियाँ दर्शनमा यस युगलाई ताओ भनिएको छ। यो सबैभन्दा प्राचीन युग हो। आध्यात्मिक चिन्तकहरुले यस युगलाई ढुंगे युगको रुपमा व्याख्या गरेको पाइन्छ।

पाशविक अवस्थाबाट विकसित भएर मनुष्य अवस्थामा आइपुगेपछिको प्रारम्भिक जंगली जीवनको युग नै आदिम साम्यवादी युग हो। शुरुमा चुच्चे ढुंगालाई नै हतियारको रुपमा प्रयोग गरी जंगलबाट शिकार ल्याउने र बाँडीचुडी खाने गर्दथे। कालान्तरमा चुच्चे ढुंगाको साथै काठ र पछि धनुवाणको प्रयोग गर्न थाले। आगोको आविष्कार पश्चात फलाम र पित्तलको अर्थात् धातुको औजारहरुको प्रयोग हुन थाले।

यस युगमा मानिसहरुको जीवन निर्वाह जंगलमा गई शिकार गरी ल्याएको मासु, फलफूलको आहार हुन्थ्यो भने गुफाको बसाई, झुण्डको बसाई र घुमन्ते जीवन बिताउने गर्दथे। कसैको तेरोमेरो भन्ने धारणा नभएकोले सबै समान थिए। खानेकुरा सबै मिलिजुली खाने गर्दथ्यो। यो व्यवस्थालाई आदिम साम्यवादी युग भनिन्छ।

बिस्तारै पशुपालन र खेतीपाती शुरु भएपछि यिनीहरुमा श्रम विभाजन भयो, विभिन्न कविलाहरुसँगै बस्न थाले र यिनीहरुको नेतृत्व एकजनाले गर्न गर्दथ्यो। खानेकुराहरु भण्डार गर्न थाले। घुमन्ते जीवनबाट स्थायीरुपमा एकै ठाऊँमा बस्न थाले। मालसामानको विनिमयको शुरुवात भयो। प्रशस्त औजारहरु निर्माण हुन थाले। मातृसत्ताबाट पितृसत्ताको उदय भयो। निजी सम्पत्ति राख्ने क्रम शुरु भयो। सम्पत्तिको सञ्चय गर्ने क्रममा एकआपसमा लडाई हुन थाल्यो। मानिसहरुको यस प्रवृत्तिसँगै आदिम साम्यवादी युगको अन्त्य भयो।

(ख) दास युग

आदिम साम्यवादी युगको विघटनपछि दास युगको प्रारम्भ भयो। एउटा समूह अर्को समूहसँग लडाई गर्दा हार्ने समूहलाई जित्ने समुहले घरमा ल्याई दास बनाउन थाले। ती दासहरुलाई घरखेतमा काम गराउँथे। उनीहरुमाथि पाशविक व्यवहार हुन्थ्यो। भागेर जानसक्ने भएकाले तिनीहरुलाई सिक्रीले बाँधेको हुन्थ्यो भने मालिकबाट तिनीहरुको किनबेच पनि हुने गर्दथ्यो। मालिकले आफ्नो दासलाई कुटपिट मात्र होइन, ज्यान मार्दा समेत बात लाग्दैनथ्यो।

यस युगमा आएर मान्छे मान्छेबीच असमानताको शुरुवात भयो। कुनै मान्छे दास हुने र पशुसरह किनबेच हुने र कुनै मान्छे मालिक हुने। यस युगबाट नै मानिस दुई वर्गमा विभाजित भए। दास प्रथा नै शोषणको प्रारुप हो। यस युगमा मानिस मानिसबीच निर्मम शोषण र अत्याचार हुने गर्दथ्यो।

जब दासहरुले कुरा बुझ्न थाले, अनि मालिक बिरुद्घ संघर्ष गर्न थाले। त्यसपछि ठूलो ठूलो विद्रोह हुन थाले। कालान्तरमा दास युगमा मालिकहरु कमजोर बन्न थाले। दास प्रथाको गर्भमा सामन्तवादी व्यवस्थाले जरो गाड्यो र क्रमशः दास युग पनि अन्त्य भयो।

(ग) सामन्ती युग

दास युगको अन्त्यपछि सामन्ती युगको प्रारम्भ भयो। सामन्ती युगमा दास युगका स्वामीहरु सामन्तमा फेरिए भने दासहरु भू–दासका रुपमा परिणत भएका थिए। भूमिमा जोडिएको कारण उनीहरुलाई भूदास भनिएको हो। यिनीहरु सामन्ती युगका किसानहरु हुन्। यी किसानहरु दासजस्तो पूर्ण रुपमा समर्पित हुनु पर्दैनथ्यो। उत्पादनको साधन मुख्य रुपमा जमिन हुन्थ्यो। जमिनमाथि जमिन्दारको पूर्ण स्वामित्व हुन्थ्यो। ठूलो संख्यामा किसानहरु जमिनको स्वामित्वबाट बञ्चित थिए। सामन्तले जीवन निर्वाहका लागि सानो टुक्रा जमिन गरिखान दिन्थे र त्यसको बदलामा जमिन्दारको जमिनमा काम गर्नुपथ्र्यो। सामन्तवादी युगमा सामन्ती अर्थात् जमिन्दारद्धारा किसानहरुमाथि शोषण हुने गर्दथ्यो। यस युगमा किसान र जमिन्दार गरी दुई वर्गमा विभाजित भए।

(घ) पुँजीवादी युग

सामन्ती युगमा किसान र पूँजीपति वर्ग मिली सामन्तवादको अन्त्य गरेपछि पुँजीवादी युगको प्रारम्भ भयो। सत्ता पूरै पुँजीपतिहरुको हातमा निहित भयो। यिनै पुँजीपतिहरुले व्यक्तिगत उपयोगका लागि उत्पादन नगरी नाफाको लागि वस्तुको उत्पादन गर्ने गथ्र्यो। नाफाका लागि वस्तुको उत्पादन गर्ने स्वतन्त्र आर्थिक पद्धति तथा उत्पादन सम्बन्धलाई पुँजीवाद भनियो। पुँजीको लगानी गरी आफूले प्रयोग गर्नुभन्दा खुल्ला बजारमा बिक्री गरी बढीभन्दा बढी नाफा आर्जन गर्ने स्वतन्त्र बजारको अवधारणामा आधारित व्यवस्था नै पुँजीवादी व्यवस्था हो। यस व्यवस्थामा उत्पादनका साधनहरु निजी स्वामित्वमा रहेका हुन्छन्। पुँजीवादी प्रणालीमा सर्वहारा वर्ग र पुँजीपति वर्ग गरी दुईवटा वर्गहरु हुन्छन्। उत्पादनका साधनहरुको निजीकरण भई सोमाथिको एकाधिकार पुँजीपति वर्गमा निहित रहन्छ।

(ङ) समाजवादी युग

पुँजीवादपछिको चरण समाजवाद हो। समाजवादमा उत्पादनका साधनमाथि सामाजिक स्वामित्व हुन्छ। संग्रह र विकासको रणनीतिमाथि केन्द्रीय नियन्त्रण हुन्छ। श्रमको सामाजिक स्वभाव वा चरित्र हुन्छ। आर्थिक योजनामाथि केन्द्रीय प्रभुत्व वा नियन्त्रण हुन्छ, उत्पादन सम्बन्ध मैत्रीपूर्ण हुन्छ। प्रत्येक व्यक्ति ज्यालादारी श्रमिक हुन्छ। बौद्धिक श्रमिक र ज्यालादारी श्रमिकबीच सामञ्जस्यता कायम हुन्छ। न्यायपूर्ण वितरण प्रणाली हुन्छ। राज्यले निशुल्क सामाजिक सामाग्री र सेवा प्रदान गर्दछ। यसमा सर्वहारावर्गको अधिनायकत्व रहन्छ। सार्वजनिक स्वामित्व स्थापित हुन्छ। समाजका सबै सदस्यहरुको कल्याण र स्वतन्त्र विकासमा जोड दिनु नै समाजवादको आधारभूत उद्देश्य हो। पुँजीपति वर्ग र सर्वहारा वर्गबीचको अन्तरविरोध नै प्रधान अन्तरविरोध हुन्छ। क्षमता अनुसार काम, काम अनुसार दामको व्यवस्था हुन्छ।

(च) साम्यवाद

समाज विकासको अन्तिम चरण साम्यवाद हो। यो सामाजिक क्रान्तिको वैज्ञानिक सिद्धान्त हो। यो समाज व्यवस्थामा न कुनै वर्ग हुन्छ, न कुनै राज्य हुन्छ, न शोषक वर्ग हुन्छ, न त शोषित वर्ग हुन्छ। यो समाजमा एकातिर भौतिक साधनहरुको प्रचुर मात्रामा विकास हुन्छ भने अर्कोतिर मानिसको चेतना पनि रुपान्तरण भइसकेको हुन्छ। त्यसको परिणामस्वरुप हरेकले उसको क्षमताअनुसार हरेकलाई उसको आवश्यकता अनुसारको सिद्धान्त लागू हुने स्थिाति सिर्जना हुन्छ।

उत्पादन सम्बन्धका रुपहरु

१) प्रत्येक युगमा उत्पादन पद्धति फरक फरक खालको हुन्छ। यसअनुसार आदिम साम्यवादी युगमा देहायका उत्पादन पद्धतिहरु थिए।

क) वन्य अवस्थाको निम्न चरण – उत्पादनको साधनमा भाषाका र औजारका रुपमा एक वस्तुनिष्ठ हतियार।

ख) वन्य अवस्थाको मध्य चरण – उत्पादनको साधनमा आगो र औजारको रुपमा दुई वस्तुनिष्ठ हतियार।

ग) वन्य अवस्थाको उन्नत चरण – उत्पादनको साधनमा धनुर्वाण र औजार त्रिवस्तुनिष्ठ हतियार।

घ) अर्ध वन्य अवस्थाको निम्न चरण – उत्पादनको साधनमा माटाका भाँडाहरु – मानवीय स्वतवोध सम्बन्धित चेतनाको विकास।

ङ) अर्ध वन्य अवस्थाको मध्य चरण – उत्पादनको साधनमा पशुपालन र आरम्भिक कृषि प्रारम्भिक दार्शनिक चेतनाको जन्म।

च) अर्ध वन्य अवस्थाको उन्नत चरण – उत्पादनको साधनमा कृषिमा नहर प्रणाली, संगीत एवम नाट्यकलाको विकास।

छ) अर्ध वन्य अवस्थाको सभ्य युग – विनिमयका लागि उत्पादन फलामको र घोडाको प्रयोग।

२) दासयुगीन उत्पादन पद्धति – यो दुई चरणमा आधारित छ।

३) सामन्तवादी उत्पादन पद्धति – यो पनि अवस्थाअनुसार फरक फरक चरणमा विभाजित हुन्छ।

४) पुँजीवादी उत्पादन पद्धति – यसमा पनि दुईवटा चरणहरु छन्।

(क) औद्योगिक (ख) वित्तीय अर्थात दलाल पुँजीवाद

५) समाजवादी उत्पादन पद्धति – यसमा पनि अनेक चरणहरु हुन्छन्। यी सबैमा पछिल्लो चरणभन्दा अघिल्लो चरण विभाजित हुन्छ।

वर्गको परिभाषा

वर्ग मानिस समुदायको एउटा रुप हो। समाजमा रहेको निश्चित उत्पादन सम्बन्धका आधारमा एकै खाले जीवन पद्धति भएको एउटै आर्थिक स्वार्थ भएको मानिसहरुको समूह नै वर्ग हो। मार्क्सवादले आर्थिक आधारमा वर्गको निर्माण गरेको छ।

पितृसत्तात्मक कविला वर्गीय समाजमा उत्पादन पद्धतिको विकास र व्यक्तिगत सम्पत्तिको उत्पत्तिसँगै वर्गको जन्म भएको हो।

मोटामोटी रुपमा भन्नुपर्दा श्रमको सामाजिक संगठनमा भूमिका र उत्पादनका साधानहरुको स्वामित्वको दृष्टिले वर्गहरु विभाजित भएका छन्। श्रम गर्ने र श्रम शोषण गर्ने सामाजिक श्रेणीलाई वर्ग भनी परिभाषित गर्न सकिन्छ। वास्तवमा समाजमा रहेको उनीहरुको प्रभाव र हैसियतले वर्गको निर्माण हुन्छ। निम्न अनुसार वर्गको विभाजन भएको देखिन्छ।

मालिक वर्ग – दास वर्ग

शोषक वर्ग – शोषित वर्ग

उत्पीडक वर्ग – उत्पीडित वर्ग

सामन्त वर्ग – किसान वर्ग

पूँजीपति वर्ग – सर्वहारा श्रमजीवि वर्ग

वर्ग संघर्ष

विपरीत स्वार्थ भएका वर्गहरुबीचको निरन्तर संघर्ष नै वर्ग संघर्ष हो। यो मार्क्सवादी सिद्धान्तको अवधारणा हो। वर्गीय समाजमा वर्ग संघर्ष स्वभाविक मानिन्छ र वर्ग रहुञ्जेल वर्ग संघर्ष पनि रहन्छ। वर्गहरुबीचमा एकता संघर्ष र रुपान्तरणको आयामिक सम्बन्धबाट समाजको विकास हुने र पुरानो वर्गको विनाश हुने नयाँ वर्गको विकास हुँदै समाजको विकास हुन्छ। वर्ग संघर्षको बीचबाट नै श्रमिक वर्गको विजय भएर वर्गविहिन समाजको रुपमा समाजवाद वा साम्यवादमा पुग्न सकिन्छ। वर्ग संघर्षले मानिसले मानिसमाथि गरिने शोषणको अन्त्य गर्दै इतिहासको निर्माणकर्ता जनता नै हुन् भन्ने मान्यता स्थापित गर्दछ।

राज्य

निश्चित भूभागमा राजनीतिक रुपमा संगठित सार्वभौम सत्ता प्राप्त समुदाय राज्य हो। राज्य भनेको एक वर्गले अर्को वर्गलाई प्रत्यक्ष वा परोक्ष ढंगबाट अधिनायकत्व लागू गर्ने संस्था हो जसमा शासक वर्गले सेना, पुलिस, जेल, अदालत, नोकरशाही सत्ता र प्रशासनिक व्यवस्थामार्फत् सम्पूर्ण जनतामाथि हक जमाएको हुन्छ। इतिहासमा जब समाजमा दास वर्ग र मालिक वर्गको जन्म भयो, तब मालिकले दासमाथि संगठित रुपले आधिपत्य जमाउन राज्यको उत्पत्ति भएको हो।


By Marxist

Leave a Reply

Your email address will not be published. Required fields are marked *