- रामराज रेग्मी
१. बहुलवाद भनेको के हो ?
बहुलवादको अर्थ धेरैको अस्तित्वलाई स्वीकार गर्ने विचार भन्ने बुझिन्छ । अंग्रेजीमा यसलाई Pluralism भनिन्छ । यसले समाजलाई बहुस्वार्थको इन्द्रेणी मान्दछ । कतिपयले बहुलवाद र बहुदलीय व्यवस्थालाई एउटै ठान्दछन् । तर विभिन्न दलहरूको अस्तित्व स्वीकार गर्दैमा बहुलवादी भइन्न ।
२. बहुलवादको मान्यता
बहुलवादी मान्यता अनुसार जसरी विश्वको निर्माण स्वतन्त्र गतिशील शुक्ष्म अणु (Monad) ले गर्दछन्, त्यसरी नै मानव समाजको निर्माण पनि विभिन्न व्यक्ति, वर्ग र समुहहरूले गर्दछन् । मानिसहरू पनि प्रकृति जगत्मा अणुहरू जस्तै हुन् । मानिसहरू विभिन्न नश्ल र जातिका भएका र तिनको रुची स्वभाव आदि पनि फरक हुने हुनाले समाज विविधतायुक्त छ । समाजमा विभिन्न धर्म, नश्ल, जाति, जनजाति, लिङ्ग र वर्गका मानिसहरू बस्ने हुनाले तिनका आ–आफना विचार, समुह, दल र पद्धति छन्, तिनका आ–आफ्ना मूल्य र मान्यताहरू हुन्छन् । समुहहरू आपसमा अन्तरसम्बन्धित नभएर स्वतन्त्र र समानान्तर ढङ्गले चल्दछन् । त्यसकारण सबैलाई समान महत्व दिनुपर्दछ । राज्यमा सबैले समान हैसियत र उत्तरदायित्वसाथ भाग लिन पाउनु पर्दछ ।
३. बहुलवादको राज्यसम्बन्धी अवधारणा
राज्य भनेको धेरै समुहहरूमध्येको एउटा समुह हो । यो धेरै सङ्घहरूको एउटा सङ्घ हो । यसको शक्ति अन्य संस्था वा समुहसरह हुन्छ । त्यसकारण राज्यको केन्द्रीय निकायमा निश्चित दल वा समुहको शक्ति केन्द्रित हुनुहुँदैन । केन्द्रमा शक्ति केन्द्रित गर्ने कार्य अधिनायकवाद हो । बेलायती राजनीतिज्ञ हेराल्ड लस्कीका अनुसार राज्यको सार्वभौमसत्तामा नागरिकहरूको हिस्सा हुँदैन किनकि एउटा विशेष वर्गले त्यसलाई कब्जामा लिएको हुन्छ । जे.एन.फिग्गिज भन्दछन् कि राज्यको शासन व्यवस्था माथिबाट सञ्चालित हुनु हुँदैन, यो तलबाट सुरु भएर माथि जाने सिद्धान्त (Bottom-Up View) मा आधारित वितरणमुखी हुनुपर्छ ।
४. बहुलवादको दर्शन
एकतत्ववाद (Monism) ले विश्वको उत्पत्ति सम्बन्धमा एउटा मात्र मूलतत्वको अस्तित्वलाई मान्दछ । एकतत्ववादी दर्शन पनि जगत् निर्माण गर्ने चेतन तत्व र भौतिक तत्व कुन हो भन्ने सवालमा प्रत्ययवाद र भौतिकवाद गरी दुई धारामा विभाजित छन् ।
द्वैतवाद (Monism) ले जगत्को निर्माण दुई थरी तत्वको संयोगबाट हुन्छ भन्ने विचार अघि सार्दछ । पश्चिमी जगत्मा डेकार्टले पदार्थ र चेतन जगत्को सृष्टिमा दुवै तत्वको भूमिका छ भन्ने कुरा व्यक्त गरेका छन् । पूर्वीय समाजमा पछिल्लो पिँढीका साङ्ख्य दार्शनिकहरूले जगत्को सृष्टिमा प्रकृति र पुरुषको भूमिकाबारे उल्लेख गरेका छन् ।
बहुलवाद (Pluralism) ले विश्व अनगिन्ती तत्वको संयोगबाट बन्दछ भन्ने मान्यता राख्दछ । पश्चिमी जगत्का पहिला बहुलवादी जर्मन दार्शनिक लैवनित्ज (१६४६–१७१६) हुन् । आफ्नै केन्द्र (Nucleus) भएका स्वतन्त्र चिदणुले विश्वको निर्माण गरेझैँ स्वतन्त्र समुहबाट राज्य सञ्चालित हुनुपर्छ भन्ने अवधारणा १८ औँ शताब्दीको प्रारम्भतिर उनैले ल्याएका हुन् । पूर्वीय जगत्मा ऋग्वैदिक आर्यहरूले एक समयमा जगत्को सृष्टिमा बहुईश्वरको हात छ भन्ने विचार अघि सारेका थिए । प्रारम्भिक भौतिकवादीहरूले पनि जगत्को निर्माणमा चार तत्व पृथ्वी, जल, वायु, अग्निको अवधारणा अघि सारेका थिए ।
५. बहुलवाद – वैज्ञानिक मान्यता विपरितको दृष्टिकोण
बहुलवादी दृष्टिकोण वैज्ञानिक अवधारणासँग मेल खादैन । विज्ञानले परमाणुलाई स्वतन्त्र मान्दैन, एकआपसमा अन्तरसम्बन्धित मान्दछ । आइन्स्टाइनले कण र तरङ्गमा एकरूपता हुन्छ भनेका छन् । न्यूटनले ग्रह, तारा आदि सौर्य परिवारमा सम्बन्धित भएर एउटा पद्धतिमा सञ्चालित भएको मान्दछन् । क्वान्टम सिद्धान्तले परमाणुहरूबीच अन्तरसम्बन्ध देख्दछ । एउटा प्वालबाट छिर्ने प्रकाश पर्दामा विस्तृत तरङ्गमा प्रवाहित हुने विचार त्यसले अघि सार्दछ । विज्ञानले विविधतालाई एकरूपताले जोड्ने सवालमा जोड दिन्छ । यसो नभएमा विश्व एउटा पद्धतिमा सञ्चालित हुँदैन, चारैतिर भद्रगोल र अराकताको स्थिति उत्पन्न हुन्छ ।
६. विश्व राजनीतिमा बहुलवादको प्रवेश
विसौँ शताब्दीको सुरुतिर लैवनित्जको बहुतत्ववादी दर्शनलाई राजनीतिमा प्रयोग गर्ने पहिला अमेरिकी दार्शनिक तथा राजनीतिज्ञ विलयम जेम्स (१८४२–१९१०) हुन् । उनले बहुलवादलाई पुष्टि गर्न अनुभववाद (Empricism) र विचारवाद (Rationalism) को सहारा लिए । उनी भन्दछन् कि अनुभववाद अंशअंशको विचार गरेर सम्पूर्णतामा पुग्छ जब कि विचारवादले सम्पूर्णताबाट यात्रा थाली अंशअंशको विश्लेषण गर्ने मार्ग अनुसरण गर्दछ । जेम्सका अनुसार विचारवाद एकतत्ववादसँग सम्बन्धित हुन्छ भने अनुभववादले बहुलवादलाई अँगाल्दछ । उनी भन्दछन् कि अंशअंशको अध्ययन नगरी विषयवस्तुबारे जानकारी हासिल हुँदैन । भाषा जान्नका लागि पहिले वर्णमाला र वाक्यको ज्ञानबाट अघि बढिन्छ । त्यसकारण जेम्स के कुरामा जोड दिन्छन् भने राजनीतिमा पनि प्रत्येक व्यक्तिका विचार, स्वार्थ र प्रत्येक समुहका अस्तित्वलाई मान्यता दिएर अघि बढ्ने व्यवस्था नै उचित र कल्याणकारी हुन्छ ।
७. विश्व राजनीतिमा बहुलवादको विस्तार
बहुलवादका अभियन्ताहरूले विशौँ शताब्दीको शुरुआतसँगै केन्द्रीयकरण र विकेन्द्रीकरणको सवाललाई उछाले । तिनीहरूले अधिनायकवादले केन्द्रीकरणलाई समर्थन गर्दछ र बहुलवादले विकेन्द्रीकरण अँगाल्छ भन्ने विचारलाई जोडतोडका साथ प्रचार गरे । तिनीहरूले केन्द्रबाट सञ्चालित राज्यव्यवस्था जनताको हितअनुकूल हुँदैन भन्ने मत प्रकट गरे ।
बहुलवादी विचारको अगुवाई गर्नेहरू पहिले समाजवादी आन्दोलनमा भाग लिएका तर पछि पलायन भएका वामपन्थी थिए । पहिलो विश्वयुद्धको अवधिमा उद्योगहरू सङ्कटमा पर्दा मजदुरहरू बेरोजगार हुनुपरेको मौका छोपी ‘कामदारहरूको समाजवाद’ (Guild Socialism) को नारा अघि सारे । यूरो कम्युनिजमको धाराले बहुलवादलाई स्वीकारेको छ ।
बाहिरबाट हेर्दा बहुलवादी सोच पुँजीवादी अधिनायकत्वको विरोधमा भए जस्तो देखिए पनि वास्तविक रूपमा त्यसको आक्रमण कम्युनिष्ट आन्दोलनमाथि नै थियो ।
८. बहुलवादको मूल्याङ्कन
क) बहुलवादले वर्ग सङ्घर्षलाई होइन, वर्ग समन्वयलाई अँगाल्दछ । वर्ग समन्वयले घुमाइ फिराइ शक्तिशाली वर्गको अधिनायकत्वको पक्षपोषण गर्दछ । बाघ र बाख्रोलाई एउटै राख्दा के बाख्राको अस्तित्व नामेट हुन्न र ?
ख) वर्गस्वार्थयुक्त वर्गीयसमाज कहिल्यै पनि शान्तिपूर्ण हुन सक्दैन, अन्तविरोधले भरिपूर्ण हुन्छ । ‘अन्तर्विरोध’ ‘द्वन्द्व’ ‘सङ्घर्ष’ आदि नकारात्मक विषय होइनन् । वर्गहरूबीचको अन्तर्विरोधले नै समाजलाई गति दिन्छ ।
ग) अक्सर शान्ति र एकताको सवाल उठाइन्छ । सबैले यसको कामना गर्दछन् । तर एकता र मेलमिलाप अस्थायी परिघटना हो, अन्तर्विरोधको पाटो नै दीर्घकालीन हो ।
घ) बहुलवाद विकासवादी सिद्धान्तको विपरित छ । डार्विनको सिद्धान्तअनुसार पुराना जातिको अस्तित्वको विलोपसँग नयाँ उन्नत जातिहरूको उदय हुँदै जाँदा विश्वमा मानव जाति देखा पर्न सकेको हो ।
ङ) व्यक्ति र समुहहरू स्वतन्त्र भएकाले ती आफ्नै तरिकाले चल्न पाउनुपर्छ भन्ने बहुलवादको सोचाइ अराजकतावादी र छाडावादी हो । स्वतन्त्रतालाई एकात्मकताले जोड्दछ । व्यक्ति वा समुह अनुशासनात्मक ढङ्गले एउटा विधि र पद्धति मानेर चल्नु पर्दछ ।
च) बहुलवादले प्राधिकार राजसत्ताको अस्तित्व स्वीकार गर्दैन । यसले सार्वभौमसत्ता माथि होइन, तलका समुहहरू र सङ्घसंस्थामा निहित हुनुपर्दछ भन्दछ । तर यो बाटोबाट सदियौँदैखि चल्दै आएको शोषणमा आधारित केन्द्रीय राजसत्तालाई भत्काउन सकिन्न । शोषणमा आधारित अधिनायकत्वलाई सदैव अन्त्य गर्नाका लागि मजदुर वर्गको अधिनायकत्वको आवश्यकता पर्दछ ।
छ) समाज बहुल भएकाले सबै वर्ग वा समुदायको अस्तित्व स्वीकार गर्नुपर्दछ भन्ने मान्यता दक्षिणपन्थी हो । के गणतन्त्रमा राजतन्त्रलाई स्थान दिन सकिन्छ र ?
ज) बहुलवादी मान्यताले चलेको समाज कहीँ पनि छैन । बहुलवादको वकालत गर्नेहरूले आफ्नो लागि स्वतन्त्रता र अर्काका लागि अधिनायकवाद लागु गरिरहेछन् । अमेरिकाले बहुलवादकोे आडमा एकाधिकारी पुँजीवाद र सैन्यवादलाई प्रसय दिएको छ ।
झ) सबैलाई मान्यता दिने नाममा हानीकारक नकारात्मक पक्षलाई मान्यता दिन सकिन्न । माओले सवै फूलहरू फुल्न देउ भनी भनेको भनाइ बहुलवादका अनुयायीले आफ्नो मतलाई पुष्टि गर्ने आधारका रूपमा लिने गरेको पाइन्छ । तर माओले विविधतालाई स्वीकार गर्ने नाममा हानिकारक तत्वलाई पनि अँगाल भनी कहिल्यै भनेका छैनन् ।
९. नेपालमा बहुलवाद
नेपालको संविधान २०७२ जारी गर्ने अवसरमा नेपालको संविधानको प्रस्तापनामा वहुलवाद शब्द राख्ने र नराख्ने पक्षमा प्रमुख दलहरू दुई ध्रुवमा बाँडिए । नेपाली काङ्ग्रेसले यो शब्दलाई प्रवेश गराउन चाह्यो भने नेकपा (माओवादी) ले त्यसको विरोध ग¥यो ।
जुन दलले चर्को स्वरमा बहुलवादको वकालत ग¥यो, त्यो वास्तवमा बहुलवादी थिएन । विपि कोइरालाले लोकतान्त्रिक समाजवादको अवधारणा अघि सारेका थिए जुन बहुलवाद होइन । लोकतान्त्रिक समाजवादले निश्चित वर्गको राजनीतिलाई अँगाल्दछ । २००८ सालमा नेपाली काङ्ग्रेसले ७ सालको क्रान्तिको सहयात्री दल नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिवन्ध लगाएको थियो । २०४७ को संविधानअनुसार निर्वाचनमा पहिलो विजयी दल नेपाली काङ्ग्रेसले गिरिजाको नेतृत्वमा सरकार बनेपछि कम्युनिस्ट पार्टीका कार्यकर्ता र समर्थकमाथि तीव्र दमनको डण्डा चलाएको थियो । केही समय केपी ओलीले एकाधिकारवादी मार्ग अनुसरण गरेको घटना ताजै छ ।
बहुलवादलाई नेपाली राजनीतिमा बढी चर्चामा ल्याउने दल नेकपा (एमाले) हो । त्यस दलको पाचौँ महाधिवेशनमा पञ्चायतकालमा भूमिगत कार्यशैली अपनाएर चलेको पार्टीलाई संसदीय अभ्यासमा ल्याउने मार्गको खोजीमा पार्टीका महासचिव मदन भण्डारीले बहुलवादलाई राजनीतिक दस्तावेजमा प्रवेश गराएका हुन् ।
नेपाली राजनीतिमा जुन समयमा वहुलवादी सोचको प्रवेश भयो, त्यो समय विश्व कम्युनिष्ट आन्दोलनमा धक्का खाएको समय थियो । त्यतिखेर बुर्जवाहरू माक्र्सवाद ढल्यो भनी हल्लाखल्ला मच्चाउँदै थियो र कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको थियो । नेपालमा भित्रिएको वहुलवाद त्यही रक्षात्मक सोच अथवा उत्तरआधुनिकतावादको परिणाम थियो र सशस्त्र सङ्घर्षको बाटोबाट अघि बढ्न सकिन्न भन्ने ओरालो लागेको मानसिकताको प्रतिफल थियो ।
नेकपा (एमाले) को पाँचौँ राष्ट्रिय महाधिवेशनमा बहुलवादलाई आधारभूत दर्शनका रूपमा मदन भण्डारीले जनताको बहुदलीय जनवाद नामक कार्यक्रममा समावेश गरे । बहुलवादी राज्यका विशेषताका रूपमा उनले संविधानको सर्वोच्चता, बहुलवादी खुला समाज, बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन प्रणाली, बहुमतको सरकार, अल्पमतको विपक्ष, कानुनी शासन, मानव अधिकारको रक्षा, शक्ति पृथकीकरणको सिद्धान्त अघि सारेका छन् । मदन भण्डारीको निधनपछि बहुदलीय जनवादलाई कार्यक्रमका रूपमा नलिएर मार्गदर्शक सिद्धान्तका रूपमा लिइएको छ ।
नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश भएकाले सवै जाति, वर्ग र समुहलाई सम्मान गर्दै सबैलाई राजसत्तामा सहभागी गराउनु पर्दछ भन्ने भनाइ त्यस दलको छ । तर लोकतान्त्रिक संसदीय व्यवस्थामा निर्वाचनमा प्रतिस्पर्धा हुँदा त्यसमा धनवानको दलले मात्र विजय प्राप्त गर्न सक्छ र राजसत्तामा सवैको सहभागिता हुँदैन । प्रतिस्पर्धामा पुँजीवादी पार्टीले मात्र नभई विभिन्न उपायबाट सर्वहाराको पार्टीले पनि श्रेष्ठता हासिल गर्न सक्दछन् भन्ने भनाइ एमालेको छ । तर भावावेसमा घटेका एक दुई आकस्मिक घटनाका सवाललाई लिएर सर्वमान्य धारणा बनाउन मिल्दैन ।
१०. नेपालका बहुलवादीको कमजोर पक्ष
नेपालमा आफूलाई बहुलवादी भन्ने काँग्रेस र एमालेले गणतान्त्रिक संसदीय व्यवस्थामा बहुलवादको अभ्यास गरिरहेछन् । उनीहरूको यो व्यवहार बहुलवादका व्याख्याताहरुको विचारसँग मेल खाँदैन किनकि तिनीहरूले केन्द्रभागमा खडा भएका कुनै पनि राजसत्ताको अस्तित्वलाई स्वीकार गर्दैनन् । एमालेको पाँचौँ महाधिवेशनमा मदन भण्डारीले लोकतान्त्रिक बहुदलीय व्यवस्थामा बहुलवादलाई प्रत्यारोपण गरी बहुदलीय जनवादको कार्यक्रम प्रस्तुत गर्दा फरक मत व्यक्त गर्ने झलनाथ खनालले उतिखेरै त्यसलाई बोकाको टाउको जोडिएको दक्षप्रजापतिको उपमा दिएका थिए ।
बहुलवादलाई काखी च्यापेर समाजवादमा जान सकिन्छ भन्ने एमालेको व्याख्या पनि काशी जाने कुतीको बाटो जस्तै हो । समाजवाद भनेको सर्वहारा राजसत्ता भएको व्यवस्था हो जसले केवल समाजवादी कार्यक्रमलाई स्वीकार गर्ने दलहरूलाई मात्र मान्यता दिन्छ । त्यसले बहुलवादीले भनेझैँ सबै विचार बोकेका दललाई स्थान दिदैन । पुँजीवादी सोच राख्नेहरूलाई त्यहाँ स्थान हुँदैन ।
नेपालका बहुलवादीहरूको व्यवहार तिनको सिद्धान्तसँग मेल पनि खाएको देखिन्न । एमाले नै विभिन्न जाति र जनजातिको पहिचानको सवाल विरुद्ध उभिएको छ । त्यस दलले सङ्घीयता र धर्मको सवालमा केन्द्रीकरणलाई अँगालेको छ । एमालेका नेताहरू हिन्दु राज्य स्थापना गर्ने मार्गमा जान खोज्दैछन् र अन्य धर्मावलम्बीमाथि दमन गर्ने सोच अघि सार्दैछन् ।