फागुन २१, काठमाडौं। रूस–युक्रेन युद्धले सिंगो विश्व तरंगित भइरहेको बेला मार्क्सवादी ज्ञान केन्द्रले ‘‘दोस्रो शितयुद्ध ः जोखिम र प्रभावहरू’’ विषयमा केन्द्रित रहेर डिस्कोर्स कार्यक्रम सम्पन्न गरेको छ।
शनिबार भर्चुअल माध्यमबाट आयोजना गरिएको डिस्कोर्समा चीनका लागि नेपाली पूर्वराजदूत टंक कार्की र अमेरिकामा प्राध्यापनरत प्रा.डा. दिनेश पौडेलले विषयकेन्द्रित अन्तरक्रिया राख्नुभएको थियो। कार्यक्रमका वक्ताहरूले रूस–युक्रेन युद्धले विश्वव्यापी तरंग पैदा गरेकामा जोड दिँदै नेपालजस्ता मुलूकहरूले खेल्नुपर्ने भूमिकाबारे चर्चा गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै प्रा.डा. दिनेश पौडेलले पश्चिमाहरूको प्रभुत्ववादी सोच नै शीतयुद्धको कारण भएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘विश्वमा शीतयुद्ध लामो समयदेखि थियो र छ। शीतयुद्धमा व्यक्तिगत सम्पत्तिको प्रभुत्व, पश्चिमा मपाइँत्व, भूराजनीतिक स्वार्थ लगायतका विषय जिम्मेवार छन्। सतहमा हेर्दा शीतयुद्ध अहिले मुखरित भएको देखिए पनि यो अविछिन्न छ।’’
प्रा.डा. पौडेलले पश्चिमाहरूको प्रभुत्ववाद २१ औं शताब्दीको दुनियाँमा कमजोर बन्दै गएको बताउनुभयो। ‘‘शीतयुद्ध अहिले उत्कर्षमा देखिन्छ। तर, पश्चिमाहरूको स्थिति हिजोजस्तो छैन’’ उहाँले भन्नुभयो, ‘‘अहिले विश्व बहुध्रुवतिर छ। हिजोको शीतयुद्धको प्रमुख मुद्दा आइडियोलोजी थियो। अहिले त्यस्तो मात्र छैन। अहिले प्राकृतिक, आर्थिक एवं सामरिक विषय केन्द्रमा देखिन्छ। यसरी हेर्दा पश्चिमाहरू कमजोर बनेका छन्। उही रूपमा शीतयुद्ध धान्न सक्दैनन्। अर्कोतिर उनीहरूको आर्थिक, राजनीतिक नीतिसमेत असफल बन्दै गएको छ।’’
‘‘हामीले भारतको कुरा गर्छौं, चीनको कुरा गर्छौं, पश्चिमको कुरा गर्छौं, तर नेपालको कुरा गर्दैनौं’’ उहाँले भन्नुभयो, ‘‘हाम्रो राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर बहस गरौं। नेपालको अध्ययन, बहस गरौं। हिमालयन क्षेत्र आफैमा महत्वपूर्ण क्षेत्र हो। नेपाल, भारत, मंगोलिया, श्रीलंका, भुटान, पाकिस्तान लगायतका मुलुकहरूको साझा अवधारणा अगाडि बढाउन सकिन्छ। यसले आफ्नै स्वतन्त्र अस्तित्व निर्माण गर्न सक्छ र सक्नुपर्छ। हिमालयन क्षेत्रको केन्द्रमा हामी भएकाले नेपालले त्यसको नेतृत्व लिन सक्छ।’’
‘‘एमसीसी चीनलाई घेर्न आएकोबारे शंका छैन। तर, हामीले त्यतातिर धेरै टेन्सन लिन जरूरी छैन’’ पौडेलले भन्नुभयो, ‘‘चीन यसअघि नै घेरिइसकेको छ। सबैभन्दा बढी एनजिओ आइएनजिओ नेपालको हिमाली क्षेत्रमै छन्। मुस्ताङ, रसुवा लगायतका जिल्लामा त्यसको प्रभाव देखिन्छ। चर्चहरू त्यतै छन्। यिनीहरू विशुद्ध धार्मिक र सांस्कृतिक कोणबाट मात्र आएका होइनन्, यहाँ ठूलो भूराजनीतिक स्वार्थ छ।’’
उहाँले नेपाल असंलग्न परराष्ट्र नीतिमै अडिनुपर्ने बताउनुभयो। पौडेलले भन्नुभयो, ‘‘हामी सानो मुलूक, भूराजनीतिक दृष्टिले संवेदनशील ठाउँमा पनि छौं। यस्तो बेला हतारिएर आफ्नो प्रतिक्रिया दिनु हुँदैन। त्यसरी अगाडि बढ्दा शक्तिराष्ट्रको चेपुवामा पर्ने र मिचिने खतरा छ। योबाट हामी बच्नुपर्छ।’’
डिस्कोर्समा चीनका लागि नेपालका पूर्वराजदूत टंक कार्कीले अबको विश्व २ ध्रुवमा मात्र सीमित नहुने परिदृश्य देखिएको बताउनुभयो। उहाँले नेपालले असंलग्न परराष्ट्र नीतिमा अडिँदै बृहत्तर राष्ट्रिय मेलमिलाप नीतिमा जानुपर्ने बताउनुभयो।
विश्लेषकसमेत रहनुभएका पूर्वराजदूत कार्कीले भन्नुभयो, ‘‘बिपी कोइरालाकै भाषामा त भन्दिनँ। उहाँले राष्ट्रिय मेलमिलापको कुरा गर्नुभयो। तर, देशका निम्ति बृहत्तर राष्ट्रिय एकता अनिवार्य देखिएको छ। नेपालले त्यसका लागि ठोस पहल गरी वैदेशिक नीतिका मामिलामा एक ठाउँमा उभिन जरूरी छ।’’
‘‘हिजो चीन सुतेजस्तो देखिन्थ्यो। ऊ आर्थिक रूपमा पनि कमजोर थियो। तिब्बतको अर्थतन्त्र दासकालीनजस्तो थियो। त्यसैले नेपालका निम्ति त्यो निर्णायक थिएन। सन् १९९१ को सोभियत संघको बिघटनपछि अमेरिकी धुरी शक्तिशाली भएर आयो। तर, अहिले विश्व त्यस्तो छैन। सन् २००८ को आर्थिक मन्दीपछि एकल ध्रुवीय विश्वका पक्षपातीहरू कमजोर बन्दै गएका छन्। आर्थिक मन्दीपछि उनीहरूको राजनीतिक र आर्थिक प्रणालीसमेत कमजोर बनेको छ। इराक र अफगानिस्तानमाथि लादिएको अमेरिकी युद्धपछि त्यस्तो संकट बढेको छ। युद्धमा ६ ट्रिलियन डलर खर्च भएको र त्यसको भारले अमेरिकी अर्थतन्त्रमा आगामी दशाब्दीसम्म ठूलो आर्थिक भार पर्ने प्रक्षेपण गरिएको छ। यो पश्चिमाहरूकै निम्ति ठूलो चुनौती हो।’’
कार्कीले इराकमा अमेरिकी असफलता र सिरियामा रूसी सफलताले बहुध्रुवीय विश्व बलशाली बन्दै गएको दावी गर्नुभयो। उहाँले भन्नुभयो, ‘‘धेरैले सोचेका थिए। इराकमा अमेरिकाको जे हाल भयो, सिरिया युद्धमा रूसको हाल पनि त्यही हुनेछ। तर, त्यस्तो भएन। यसले पनि अमेरिका केन्द्रमा रहेका विश्वव्यवस्था संकटमा छ भन्ने पुष्टि हुन्छ।’’
पश्चिमा शक्तिमा चिरा पर्दै गएको कार्कीले बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘ब्रिटेन युरोपेली युनियनबाट बाहिरिनु, अमेरिकाको आर्थिक भार बढ्दै जानु, अफ्रिका आफ्नै शक्तिसहित उदय हुनुजस्ता कारण विश्व बहुध्रुवीय भएको प्रष्टाउँछ। अहिले सहअस्तित्वको आधारमा बहुध्रुव कि आइडियोलोजीका आधार २ ध्रुव भन्ने बहस पनि छ। तर, क्वार्क र इन्डोप्यासफिकको सदस्य भएको भारतसमेत रूस–युक्रेन युद्धमा तटस्थ बस्नुले विश्व बहुध्रवकै दिशामा अघि बढ्दैछ।’’
‘‘रूस–युक्रेन युद्धमा भारतले जुन तटस्थता देखाएको छ। यसको निकै ठूलो अर्थ छ। ऊ अमेरिकी स्वार्थसामु निरिह बन्दैन भन्ने यसको सन्देश हुन सक्छ। युद्धबारे भएको मतदानमा ३५ देश तटस्थ बसेका छन्। उनीहरूको नयाँ ध्रुव बन्ने हो कि ? भन्ने पनि छ। नेपालको स्वाधीनतामाथि जुन प्रश्न उठेको छ, त्यसबारे भविष्यमा भारतले खेल्ने भूमिका नै निर्णायक देखिन्छ’’ उहाँले भन्नुभयो।
कार्कीले नेपालले मौकापरस्त कुटनीतिबाट माथि उठेर असंलग्न परराष्ट्र नीतिमा दृढतापूर्वक उभिनुपर्ने र त्यसका लागि बृहत्तर राष्ट्रिय मेलमिलापको नीति आवश्यक रहेको बताउनुभयो।
डिस्कोर्समा मार्क्सवादी ज्ञान केन्द्रका अध्यक्ष मनहरि तिमिल्सिनाले असंलग्न नीतिमा अविचलित हुन बृहत्तर राष्ट्रिय मेलमिलाप नीतिको आवश्यकता, हिमालयन क्षेत्रको आफ्नै केन्द्र बन्ने सम्भावना र त्यसको नेतृत्व नेपालले लिनसक्ने भनि आएका विचारमाथि भविष्यमा बृहत् बहस आवश्यक रहेकोमा जोड दिनुभयो। डिस्कोर्समा केन्द्रका वरिष्ठ उपाध्यक्ष विश्वेश्वर कट्टेल र महासचिव इन्द्रराज भट्टराईले कार्यक्रमको औचित्यबारे बोल्नुभएको थियो।