Shanti Kumar Timilsina

काठमाडौं, ५ चैत्र। मार्क्सवादी ज्ञान केन्द्रको आयोजनामा ‘‘स्थानीय निर्वाचनमा वामपन्थी दलहरूले उठाउनुपर्ने जनसरोकारका प्रमुख मुद्दाहरू’’ विषयक गोष्ठी सम्पन्न भएको छ।

भर्चुअल माध्यमबाट सम्पन्न भएको गोष्ठीलाई लेखक एवं विश्लेषक शान्तिकुमार तिमिल्सिनाले सहजीकरण गर्नुभएको थियो। तिमिल्सिनाले गोष्ठीमा वामपन्थी शक्तिहरूले आफ्नो दार्शनिक अवधारणा र धरातलीय यथार्थबिच सन्तुलित मिलाई निर्वाचनका मुद्दाहरू छनोट गर्नुपर्नेमा जोड दिनुभयो।

गोष्ठीलाई सहजीकरण गर्दै तिमिल्सिनाले भन्नुभयो, ‘‘निर्वाचन विशुद्ध वामपन्थी दर्शनमा मात्र निर्भर हुँदैन। तर, हामीले हाम्रो लक्ष्यप्रति हेक्का राख्नैपर्छ। वामपन्थीहरूको दार्शनिक मान्यता र स्थानीय विशेषता एवं आवश्यकताको संयोजन गरी निर्वाचनका मुद्दा निर्धारण गर्नुपर्छ।’’

‘‘वामपन्थीहरूले समाजको पिँधमा रहेको वर्गलाई माथि उठाउने कार्यक्रम तय गर्नुपर्छ,’’ तिमिल्सिनाले भन्नुभयो, ‘‘सकारात्मक विभेदका आधारमा समानताको आधार तयार पार्नु वामपन्थीहरूको जिम्मेवारी हो।’’

‘‘सामाजिक न्याय, अवसरहरूको समान बितरणको आधार, सकारात्मक विभेदमार्फत् समानताको आधारजस्ता विषय निर्वाचनका मुद्दा बन्नुपर्दछ,’’ तिमिल्सिनाले भन्नुभयो, ‘‘वामपन्थी र दक्षिणपन्थी शक्तिका चुनावी मुद्दा फरक हुन्छन्। वामपन्थीहरू प्रगतिशील करका पक्षपाती हुन्छन्, विवाह प्रणालीमा रूढीवादको विपक्षमा उभिन्छन्, धर्मनिरपेक्षतामा रहन्छन्। यी कुराहरू दार्शनिक मान्यतामा मात्र सीमित हुँदैनन्, चुनावी मुद्दामा पनि अभिव्यक्त हुनुपर्छ।’’

तिमिल्सिनाले वातावरण संरक्षण, फराकिलो दायराको सामाजिक सुरक्षा, कृषिको आधुनिकीकरण, बजारीकरण, बीमाको प्रबन्ध, जनताका आधारभूत आवश्यकतामा प्राथमिकता, भूमिहीन समस्याको सम्वोधन, आधुनिक र प्रविधिमैत्री भौतिक पूर्वाधारको विकास, स्थानीय साधनस्रोतको अधिकतम र बहुआयमिक उपयोग, भ्रष्टाचार न्यूनिकरण र सुशासनको प्रत्याभूति, छिटोछरितो सेवा प्रवाह लगायतका मुद्दाहरू वामपन्थी दलहरूले उठाउनुपर्नेमा जोड दिनुभयो।

भर्चुअल डिस्कोर्समा मार्क्सवादी ज्ञान केन्द्रका अध्यक्ष मनहरि तिमिल्सिनाले निर्वाचनको मिति र कार्यतालिकासमेत सार्वजनिक भइरहेको अवस्थामा चुनावलाई अधिकतम जनमुखी बनाउनु र जनताको असल प्रतिनिधि निर्वाचित हुने वातावरण सिर्जना गर्नु वामपन्थीहरूको जिम्मेवारी भएको बताउनुभयो। डिस्कोर्समा केन्द्रका वरिष्ठ उपाध्यक्ष विश्वेश्वर कट्टेल र महासचिव इन्द्रराज भट्टराईले कार्यक्रमको औचित्यबारे प्रकाश पार्नुभएको थियो।


By Marxist

Leave a Reply

Your email address will not be published. Required fields are marked *