communist-party_Flag

– मनहरि तिमिल्सिना

कम्युनिस्ट आन्दोलनका निम्ति राजनीतिक कार्यदिशाको प्रश्न सबैभन्दा महत्वपूर्ण प्रश्न हो। राजनीतिक कार्यदिशा सही हुँदा कमजोर आन्दोलन शक्तिशाली बन्दै जाने र कार्यदिशा गलत हुँदा आन्दोलन कमजोर र क्षयीकरणको प्रक्रियामा जाने गर्दछ। नेपाली कम्युनिस्ट आन्दोलनमा कार्यदिशाबारे विविध कोणबाट बहस हुने गरेका छन्, त्यसमध्ये केही बहसलाई संक्षेपमा यसरी उल्लेख गर्न सकिन्छ।

जनताको बहुदलीय जनवाद

(नेकपा (एमाले) को २०४९ सालमा सम्पन्न पाँचौं राष्ट्रिय महाधिवेशनमा महासचिव मदन भण्डारीद्वारा प्रस्तुत एवं महाधिवेशनद्वारा पारित राजनीतिक कार्यक्रम जनताको बहुदलीय जनवाद हो । बहुदलीय जनवादलाई २०५४ सालमा सम्पन्न छैटौं महाधिवेशनले राजनीतिक कार्यदिशा र मार्गनिर्देशक सिद्धान्तका रुपमा स्वीकार गर्ने निर्णय गर्‍यो ।

बहुदलीय जनवाद (जबज) कम्युनिस्ट आन्दोलनलाई लोकतान्त्रिकरण गर्ने वैचारिक कार्यदिशा हो । यद्यपि, जबजका प्रतिपादन मदन भण्डारीको २०५० साल जेठ ३ गते रहस्यमय मृत्यु भएकाले यसको प्रयोग र विकास स्वयं प्रतिपादकबाट हुन सम्भव भएन । जबजका विश्लेषण र प्रमूख विशेषतालाई बुंदागत रुपमा यसरी उल्लेख गर्न सकिन्छ ।

– विश्वको एक तिहाइ भू–भागमा स्थापित सर्वहारा सत्ता सर्वहारा वर्गको मुक्तिका लागि स्थापित गरिएका थिए । तर, सर्वहारा वर्गकै राजनीतिक सत्ताले प्रकारान्तरमा सर्वहारा वर्गमाथि नै शासन गर्न थाले । यसको एक मात्र कारण कम्युनिस्ट आन्दोलनको लोकतान्त्रिकरण हुन नसक्नु हो ।

– कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरण गरेर मात्र सर्वहारा वर्गले आफूलाई स्वतन्त्रता प्रदान गर्न सक्दछ । त्यसका लागि कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरण एक महत्वपूर्ण शर्त हो । कम्युनिस्ट पार्टीले राजनीतिक रुपमा खुला प्रतिस्पर्धा गरेर मात्र लोकतान्त्रिकरणको कार्यभार पूरा गर्न सकिन्छ ।

– जनताको बहुदलीय जनवादले लोकतन्त्रका मूल्य–मान्यताको स्वीकारोक्ति गर्‍यो । यसले पूँजीवादी लोकतन्त्रका मुलभूत विशेषताहरु, आवधिक निर्वाचन, बहुमतको सरकार र अल्पमतको प्रतिपक्ष, कानूनको सर्वोच्चता, विधिको शासन, बालिग मताधिकार, प्रेस स्वतन्त्रता, मानव अधिकारलाई हुबहु आत्मसात गर्‍यो ।

– जबजले सामन्तवादको पूर्णतः अन्त्यको संकल्प गर्‍यो । सामन्ती उत्पादन सम्बन्धको अन्त्य यसको प्रमूख ध्येय थियो । यसलाई भण्डारीले पूँजीवादी जनवादी क्रान्तिको पूर्णताका निम्ति अघि सारिएको राजनीतिक कार्यक्रमका रुपमा व्याख्या गरेका छन् ।

– जबजले पूँजीवादी राजनीति, अर्थतन्त्र, समाज, संस्कृतिको निर्माणमा जोड दियो । यसले राज्यसत्तामा वर्गीय अधिनायकत्वको स्थानमा बहुलवादी खुला समाजको मान्यता आत्मसात गर्‍यो । भण्डारीले आफ्नो दस्तावेजमा राज्यसत्तामा पुगेपछि कम्युनिस्टहरुले अधिनायकत्व भन्नु तानाशाही हुने भएकाले त्यसलाई राज्यसत्ताका रुपमा परिभाषित गर्नुपर्ने तर्क अघि सारेका छन् ।

– जबजले पूँजीवादी जनवादी क्रान्तिको पूर्णताका लागि साम्राज्यवादी शोषण–उत्पीडनको अन्त्यको संकल्प गर्‍यो । राष्ट्रिय औद्योगिक पूँजीको विकासले मात्र त्यस्तो उत्पीडनको अन्त्य सम्भव भएको निष्कर्ष निकाल्यो । सामाजिक न्याय र राज्यमा उपेक्षितहरुको पहुँचको वकालत गर्‍यो, जसलाई मनमोहन अधिकारी नेतृत्वको पहिलो वामपन्थी सरकारले आंशिक रुपमा लागू गर्‍यो ।

– जनताको बहुदलीय जनवादलाई भण्डारीले कार्यक्रमका रुपमा परिभाषित गरेका थिए । तर, नेकपा (एमाले) को छैटौं महाधिवेशनले यसलाई राजनीतिक कार्यदिशा हुँदै मार्गनिर्देशक सिद्धान्तका रुपमा आत्मसात गर्ने निर्णय गर्‍यो । यसले राज्यसत्ताको चरित्रलाई पूर्णतः निवर्गीय रुपमा परिभाषित र आत्मसात गर्दै अघि बढ्यो ।

जबजका थप विशेषताहरु

– संविधानको सर्वोच्चता

– बहुलवादी खुला समाज

– शक्ति पृथकीकरणको सिद्धान्त

– मानव अधिकार

– बहुदलीय प्रतिस्पर्धाको प्रणाली

– आवधिक निर्वाचन

– बहुमतको सरकार र अल्पमतको प्रतिपक्ष

– कानूनको शासन ।

जनताको बहुदलीय जनवादले राजनीतिक क्रान्तिमा बलप्रयोगको औचित्य समाप्त भएको निष्कर्ष निकाल्यो । यसले खुला प्रतिस्पर्धाका आधारमा सर्वहारा वर्गले सत्तामाथि विजय हासिल गर्ने र त्यस्तो सत्ताको सञ्चालनसमेत खुला प्रतिस्पर्धाका आधारमा गर्ने मान्यता अघि सार्‍यो । यसले राज्यसत्तालाई जनताको जनवादी व्यवस्थाका रुपमा परिभाषित गर्दै त्यस्तो जनवादी व्यवस्थाको सुदृढीकरणमा जोड दियो । मार्क्स–एंगेल्स, लेनिन–स्टालिन र माओत्सेतुङ हुँदै विश्वभरिका क्रान्तिकारी कम्युनिस्ट चिन्तकहरुले अघि सारेको दर्शनको एकत्वको प्रश्न, इतिहास र सामाजिक क्रान्तिमा बलप्रयोगको प्रश्न, सर्वहारा वर्गको वर्गीय अधिनायकत्वको प्रश्नलाई जबजले पूर्णतः निषेध गर्‍यो ।

जबजले सर्वहारा अन्तर्राष्ट्रवादको बिकल्पमा खुला विदेश नीति अवलम्बन गर्‍यो । यसले जनताको जनवादी अधिनायकत्वको खारेजीको दृष्टिकोणसहित त्यसलाई जनताको जनवादी राज्यसत्ताका रुपमा ग्रहण गर्नुपर्ने मान्यता अघि सार्‍यो । यसले दर्शनको एकत्वको मार्क्सवादी दृष्टिकोणको बिकल्पमा द्वैतवाद र बहुलवादलाई आत्मसात गर्‍यो ।

जबज जनवादी राज्यसत्ता स्थापनाका निम्ति अघि सारिएको कम्युनिस्ट आन्दोलनको पूर्णतः शान्तिपूर्ण बाटो हो । यसले राखेको उद्देश्यलाई बुंदागत रुपमा यसरी उल्लेख गर्न सकिन्छ । यद्यपि, भण्डारीले यसलाई तत्कालका लागि क्रान्तिकारी शक्ति सञ्चय गर्नुपर्ने बाध्यताका कारण शान्तिपूर्ण मार्ग अनुशरण गरिएको उल्लेख गरेका छन् । उनले संसदको उपयोग संसदीय घेरा बाहिरको संघर्ष तयारी भएको संश्लेषण गरे पनि भण्डारीको निधनपछि संसदको उपयोग संसदवादकै रुपमा प्रयोग हुँदै आएको छ ।

२१ औं शताब्दीको जनवाद

२१ औं शताब्दीको जनवादको दस्तावेज २०६० साल जेठमा नेकपा (माओवादी) केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत एवं बैठकद्वारा पारित राजनीतिक कार्यदिशा हो । उक्त बैठकमा अध्यक्ष प्रचण्डले ‘इतिहासका अनुभव र २१ औं शताब्दीमा जनवादको विकासबारे’ नामक राजनीतिक कार्यदिशा प्रस्तुत गरेका थिए, जसलाई २१ औं शताब्दीको जनवादका नामले चिनिन्छ ।

२१ औं शताब्दीको जनवादको दस्तावेज २० औं शताब्दीमा विश्वको एकतिहाई भू–भागमा स्थापित समाजवादी सत्ताको पतनका प्रश्नमा केन्द्रित छ । संसार थर्काउँदै क्रान्तिको विजय हासिल गरेका क्रान्तिकारी पार्टी र जनमुक्ति सेनाले प्राप्त समाजवादको रक्षा किन गर्न सकेनन् ? २१ औं शताब्दीको जनवाद यही प्रश्नको उत्तर खोज्ने ध्येयमा केन्द्रित छ । २१ औं शताब्दीको जनवादले उठाएका केही वैचारिक प्रश्न यस्ता छन् :–

केही गम्भीर प्रश्नहरु

– विश्वभरिका समाजवादी सत्ता किन ढले ?

– कम्युनिष्टहरु सत्तामा पुगेपछि किन अभिजात वर्गमा फेरिए ?

– सर्वहारा सत्ताले सर्वहारालाई नै किन अधिनायकत्व लागू गर्‍यो ?

– समाजवादी सत्ता सर्वहाराको निगरानीमा किन रहन सकेन ?

– एकध्रुवीय विश्वको साम्राज्यवादी भ्रम कसरी चिर्न सकिन्छ ?

– समाजवादमा पार्टी, सेना र सत्ता किन मेसिनरी संयन्त्रमा फेरिए ?

– समाजवादमा प्रतिस्पर्धाको अभ्यास किन हुन सकेन ?

२१ औं शताब्दीको जनवादले उल्लेखित प्रश्नको जवाफ खोज्ने क्रममा कम्युनिस्ट आन्दोलन अनुभववाद र व्यवहारवादमा फस्ने खतरा रहेको उल्लेख गर्दै त्यस्तो बिचलनबाट बच्नुपर्ने दृढता व्यक्त गर्‍यो । दस्तावेजले २० औं शताब्दीका समाजवादी सत्ता र कम्युनिस्ट पार्टीका कमजोरीहरुको समीक्षा गर्ने नाममा कम्युनिस्ट पार्टीले मार्क्सवाद–लेनिनवाद–माओवादका आधारभूत सत्यलाई नै परित्याग गर्ने संशोधनवादी दृष्टिकोणका विरुद्ध उभिएर मात्र क्रान्तिकारी तरीकाले नै प्रतिक्रान्तिको कारण खोज्न सकिने निष्कर्ष निकाल्यो ।

दस्तावेजले २० औं शताब्दीका प्रतिक्रान्तिको समीक्षाका नाममा दक्षिणपन्थी बाटो समात्ने खतराबाट सतर्क रहन अपील गर्‍यो । तर, सर्वहारा सत्तामा सर्वहारा वर्गको जीवन्त प्रतिनिधित्व र हस्तक्षेपको प्रश्नलाई निर्णायक रुपमा अघि सार्‍यो । यसले गरेको क्रान्तिकारी अठोट यस्तो छ ।

क्रान्तिकारी अठोट

– हाम्रो यो संश्लेषण सर्वहारा अन्तर्राष्ट्रवादलाई थप बलियो बनाउनु हो । यसले आफूलाई विश्व सर्वहारा वर्गकै अंगका रुपमा विकसित गर्नेछ ।

– २० औं शताब्दीमा विश्वमा स्थापित समाजवादी क्रान्तिमा भएका प्रतिक्रान्तिका अनुभवहरुबाट निर्मम शिक्षा लिएर मात्र प्रतिक्रान्ति रोक्ने वैज्ञानिक कार्यदिशा र सिद्धान्तको विकास गर्न सकिन्छ ।

– क्रान्तिको विजयपछि सर्वहारा वर्गसँग सत्तासँगै भौतिक सुविधा पनि प्राप्त हुन्छ । त्यस्तो सुविधाले सर्वहारा वर्गलाई बुर्जुवाकरण गर्ने खतरा कैयौं गुणा बढेर जान्छ, त्यसलाई रोक्न सुरुदेखि नै कम्युनिस्ट पार्टीलाई वैचारिक दृष्टिले सुसूचित गर्न आवश्यक छ ।

– हाम्रो यो संश्लेषणको अर्थ सर्वहारा अधिनायकत्वलाई कमजोर पार्नु होइन । बरु, जनताको जनवादी अधिनायकत्वका आधारमा थप सुदृढ गर्नु हो । हाम्रो यो संश्लेषण बलप्रयोगको अनिवार्यताप्रति प्रतिवद्व छ ।

– २१ औं शताब्दीको जनवादी कार्यदिशा राजनीतिक प्रतिस्पर्धामा आधारित छ । तर, त्यस्तो प्रतिस्पर्धा समाजवादी रणनीतिको अभिन्न अंग हुनुपर्दछ ।

– २० औं शताब्दीका समाजवादी क्रान्तिमा भएको प्रतिक्रान्तिमा संशोधनवाद हावी हुनु एक कारण हो । तर, सम्पूर्ण कारण होइन । समाजवादी सत्ताहरु प्रतिक्रान्तिको साधन बन्नुमा समाजवादी सत्ता र कम्युनिस्ट पार्टीले लिएको नोकरशाही नीति र कार्यशैली पनि जिम्मेवार भएको तथ्यलाई नयाँ ढंगले संश्लेषण गर्नुपर्दछ ।

प्रतिक्रान्ति रोक्ने सिद्धान्त र विधि

२१ औं शताब्दीले कम्युनिस्ट क्रान्तिको बलमा स्थापित राज्यसत्तालाई प्रतिक्रान्तिमा रुपान्तर हुन नदिन केही नयाँ सिद्धान्त र विधि अघि सार्‍यो । ती सिद्धान्त र विधिलाई बुंदागत रुपमा यसरी उल्लेख गर्न सकिन्छ ।

– जनताको जनवादी र समाजवादी सत्तामा राजनीतिक प्रतिस्पर्धालाई स्थापित गरिनुपर्दछ । तर, त्यस्तो प्रतिस्पर्धा सामन्तवाद, साम्राज्यवाद विरोधी राजनीतिक शक्तिबीच मात्र हुनेछ ।

– कम्युनिस्टहरुको राज्यसत्ता पार्टी कार्यकर्ता र जनताको निगरानी एवं हस्तक्षेप कायम गरिनुपर्दछ । कम्युनिस्ट सत्ताले प्रतिक्रान्तिकारी निर्णय गरेमा वा दक्षिणपन्थी बाटो समातेमा कार्यकर्ता र जनतालाई विद्रोह गर्ने अधिकार सुरक्षित गरिनुपर्दछ, त्यस्तो विद्रोहका निम्ति सुरुदेखि नै नेता–कार्यकर्तालाई प्रशिक्षित गर्नुपर्दछ ।

– नयाँ जनवादी र समाजवादी सत्तामा पार्टी र सत्तामा नेतृत्वको चक्रीय प्रणालीको अभ्यास गर्नुपर्दछ । एकपटक राजकीय जिम्मेवारी प्राप्त गरेका नेता–कार्यकर्तालाई निश्चित अवधिपछि जनश्रमसहित पार्टी काममा जोड्ने र पार्टी काममा रहेका नेता–कार्यकर्तालाई सत्ताको जिम्मेवारीमा पठाएर सन्तुलन कायम गर्नुपर्दछ । सर्वहारा वर्गको हित र लक्ष्यविपरित काम गर्ने जनप्रतिनिधिलाई आवश्यक परेमा कार्यकाल रहँदै फिर्ता बोलाउन सक्ने अधिकार सुरक्षित गर्नुपर्दछ ।

– क्रान्तिपछि क्रान्तिकारी सेना नै प्रतिक्रान्तिको साधन बनेको अनुभवलाई दृष्टिगत गर्दै सेनामा विचारधारात्मक चेतनाको विकास र अभ्यास गर्नुपर्दछ । सेनालाई जनताको प्रत्यक्ष निगरानीमा राख्ने मान्यताको विकास गर्नुपर्दछ । सेनामा स्थायी ब्यारेकीकरणको बिकल्पका रुपमा जनश्रम र उत्पादनमा जोड्नुपर्दछ । राष्ट्रिय सुरक्षामा खटिएको सेना र जनश्रममा खटिएको सेनालाई निश्चित अवधिको अन्तरालमा जिम्मेवारी हेरफेर गर्ने चक्रीय प्रणाली लागू गर्नुपर्दछ ।

– नयाँ जनवादी र समाजवादी सत्तामा प्रयोग हुने जनवाद यान्त्रिक, औपचारिक वा संसदीय जनवाद होइन, सर्वहारा जनवाद हुनुपर्दछ । जनवादलाई एउटा निश्चित प्राविधिक मतादेशका अर्थमा मात्र ग्रहण गर्नु हुँदैन । बरु, यसलाई सर्वहारा वर्गको जनादेशअन्तर्गत राख्नुपर्दछ ।

– क्रान्तिकारी उत्तराधिकारी निर्माणको अवधारणालाई सुरुदेखि नै कडाइका साथ लागू गर्नुपर्दछ । कम्युनिस्ट पार्टी र सत्ताको निरन्तर सर्वहाराकरण र राज्यसत्ताको निरन्तर जनवादीकरण र क्रान्तिकारीकरण गर्नुपर्दछ । यसरी मात्रै कम्युनिस्ट पार्टीले प्रतिक्रान्तिबाट समाजवादी क्रान्ति र सत्ताको रक्षा गर्न सम्भव हुनेछ ।

बहुदलीय प्रतिस्पर्धा र बहुलवाद

– नेकपाको राजनीतिक कार्यदिशा जनताको जनवादले बहुदलीय प्रतिस्पर्धालाई अंगीकार गर्दछ । तर, नेकपामा बहुलवादका सन्दर्भमा समान धारणा बनिसकेको छैन । कतिपयले बहुदलीय प्रतिस्पर्धालाई नै बहुलवादका रुपमा परिभाषित गर्ने गरेका छन्, जुन एकदमै भ्रामक कुरा हो । बहुलवाद र बहुदलीय प्रतिस्पर्धा पर्यायवाची विषय होइनन्, यिनको बीचमा निकै ठूलो दार्शनिक र वैचारिक अन्तर छ ।

– कम्युनिस्ट क्रान्तिकारीहरुले बहुदलीय प्रतिस्पर्धा, समाजको विविधता र बहुलवादलाई कसरी बुझ्ने ? बहुदल र बहुलवादका बीचको दार्शनिक र वैचारिक अन्तर के हो ? के बहुदलीय प्रतिस्पर्धामा बहुलवादी दार्शनिक प्रणाली अनिवार्य हुन जान्छ ? यसबारे निम्न तथ्य बुझ्न जरुरी छ ।

– मार्क्सवादी दर्शन पदार्थको एकत्वमा आधारित दर्शन हो । मार्क्सवादी दर्शनले पदार्थको उत्पत्ति र अस्तित्वको स्रोत एउटै मान्दछ । जस्तैः पानी बन्न हाइड्रोजन र अक्सिजन नै चाहिन्छ । हाइड्रोजनको २ वटा अणु र अक्सिजनको एउटा अरु मिलेर मात्र पानी बन्दछ । तत्वको अरु कुनै पनि संयोजन वा मात्राबाट पानी बन्न सक्दैन । यो पदार्थको एकत्व हो । द्वैतवादीहरुले पदार्थको उत्पत्ति र अस्तित्वको एउटै स्रोतलाई मान्दैनन्, त्यसकारण उनीहरु विज्ञानका नियमहरुको विरुद्धमा छन् ।

– दर्शनको एकत्व सामाजिक विकासका नियमहरुमा प्रतिविम्बित हुने गर्दछ । मार्क्सवाद सामाजिक क्रान्तिको विज्ञान हुनुका नाताले एउटा पनि सामाजिक एकत्वको माग गर्दछ । पूँजीवादी समाजमा २ परस्परविरोधी वर्ग रहन्छन्, वर्गहरुको अस्तित्व रहुञ्जेल समाजमा वर्गसंघर्ष मानिसको स्वतन्त्र इच्छाविपरित समाज विज्ञानको अनिवार्य नियम हो । त्यस्तो संघर्षमा एउटा वर्गले अर्को वर्गमाथि विजय हासिल गरेर मात्र वर्गसंघर्ष निष्कर्षमा पुग्दछ । यस अर्थमा समाजका बहुवर्गबीच मेल गराउने कुरा मार्क्सवादविरोधी त छँदैछ, असम्भव पनि छ ।

– समाजमा विविधता हुन्छ, वर्ग, जाति, क्षेत्र, लिंग, समुदाय आदित्यादिको विविधता । तर, त्यस्तो विविधता समाजमा २ विपरित वर्गमध्ये एउटा निश्चित वर्गको कित्तामा संकेन्द्रित हुन्छ । त्यसकै आधारमा २ विपरित वर्गबीच मेल गराउन खोज्नु मार्क्सवाद होइन । पूँजीवादले वैचारिक दृष्टिले वर्गसमन्वयको वकालत त गर्दछ । तर, व्यवहारमा बहुलवाद लागू गर्न सक्दैन । ऊ अन्ततः पूँजीपति वर्गको वर्गस्वार्थको कित्तामा उभिन्छ । कम्युनिस्टहरुले सर्वहारा वर्गको वर्गपक्षधरताको वकालत गर्दछन् । तसर्थ, वर्गसमन्वयको वकालत गर्ने बहुलवादी दर्शन गैरमार्क्सवादी चिन्तन प्रणाली हो । यसले अन्ततः पूँजीपति वर्गकै सेवा गर्दछ ।

– बहुलवाद र बहुदलीय प्रतिस्पर्धा बिल्कूलै फरक कुरा हो । बहुलवादले वर्गसंघर्षको परित्याग गर्दछ । यसले समाजका विपरित वर्गबीच मेल गराएर सामाजिक राजनीतिक व्यवस्थालाई यथास्थितिमा राख्ने कोशिश गर्दछ । तर, बहुदलीय प्रतिस्पर्धा फरक कुरा हो । एउटै वर्गभित्र पनि भिन्न विचार र पार्टी हुन सक्दछन्, तिनीहरुको बीच प्रतिस्पर्धा हुन्छ, मार्क्सवादी दृष्टिकोणमा त्यो नै बहुदलीय प्रतिस्पर्धा हो । उहाहरणका लागि, कुनै पनि समाजमा कम्युनिस्ट र प्रजातान्त्रिक शक्तिबीच हुने प्रतिस्पर्धा वर्गीय प्रतिद्वन्दिता हो, जसमा एउटा वर्गले अर्को वर्गलाई निषेधको ध्येय राख्दछ । तर, कांग्रेस र राप्रपाजस्ता पूँजीवादी व्यवस्थाका पक्षपाती शक्तिहरुका बीच हुने प्रतिस्पर्धा बहुदलीय प्रतिस्पर्धा हो ।

– कम्युनिस्टहरुले वकालत गर्ने प्रतिस्पर्धा समाजवादी विचार र दृष्टिकोण मान्ने विविध पार्टीहरुबीचको प्रतिस्पर्धा हो, समाजवादी विचार र दृष्टिकोण मान्ने र नमान्ने शक्तिहरुबीचको खुला प्रतिस्पर्धा होइन । त्यस्तो खुला प्रतिस्पर्धाले वर्गसमन्वयको वकालत गर्दछ, त्यसले अन्ततः पूँजीपति वर्गकै वर्गहितको प्रतिनिधित्व गर्दछ ।

जनताको जनवाद

२०७५ जेठ ३ गते तात्कालीन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले समाजवादउन्मूख जनताको जनवादलाई संक्रमणकालीन कार्यदिशामा रुपमा स्वीकार गर्‍यो । पार्टी एकताको विशिष्ट परिस्थितिमा तत्काल महाधिवेशन सम्भव नभएकाले नेकपाले पूर्वएमाले र पूर्वमाओवादीले अवलम्बन गर्दै आएको राजनीतिक कार्यदिशाका साझा विषयहरु संश्लेषण गर्ने क्रममा नै जनताको जनवादको संश्लेषण गरिएको छ, जसलाई नेकपाले संक्रमणकालीन कार्यदिशाका रुपमा व्याख्या गरेको छ ।

यसभित्र समावेश विषयहरु

– २१ औं शताब्दीको समाजवादउन्मूख राजनीतिक कार्यदिशा हो । यसले समाजवादी क्रान्तिको गर्नुलाई आफ्नो प्रमूख कार्यभारका रुपमा ग्रहण गरेको छ ।

– यसले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद र प्रचण्डले प्रतिपादन गरेको २१ औं शताब्दीका जनवादका सारभूत पक्षहरुको संश्लेषण गर्दै त्यसका जगमा विकसित कार्यदिशालाई जनताको जनवादका रुपमा परिभाषित गरेको छ ।

– जनताको जनवादले नेकपा (माओवादी) को नेतृत्वमा सञ्चालित जनयुद्ध र नेकपा (एमाले) को नेतृत्वमा चलेका जनसंघर्ष र जनक्रान्तिको उच्च मूल्याङ्कन गर्दै ती युद्ध र आन्दोलनका उपलब्धीको स्वामित्व ग्रहण गरेको छ ।

– जनताको जनवाद परम्परागत संसदीय लोकतन्त्र होइन । यो पूरानो खाले औद्योगिक पूँजीवादी क्रान्ति पनि होइन । कम्युनिष्ट पार्टीको नेतृत्वको नयाँ जनवादी क्रान्ति पनि होइन । बरु, यो कम्युनिष्टको नेतृत्व र पूँजीपति वर्गको हिस्सेदारीको क्रान्ति हो । यसको आफ्नै विशेषता र मौलिकता छ ।

– जनताको जनवादको कार्यदिशाले आफ्नो कार्यभार स्पष्ट गरेको छ । यद्यपि, यो संक्रमणकालीन कार्यदिशा भएकाले आगामी महाधिवेशनमा विचार संश्लेषणका आधारमा नयाँ कार्यदिशाको विकासलाई समेत यसले आफ्नो कार्यभारको हिस्सा ठान्दछ । यसका साथै जनताको जनवादले नेपाली मोडेलको समाजवादको राजनीतिक चरित्रलाई पनि संक्षेपमा दिशानिर्देश गरेको छ ।

– सामन्तवादका अवशेष र वैदेशिक हस्तक्षेपको अन्त्य गर्नु, दलाल नोकरशाही पूँजीवादविरुद्ध राष्ट्रिय पूँजीको विकास गर्नु, राष्ट्रिय स्वतन्त्रता र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नु जनताको जनवादी कार्यदिशाको कार्यभार हो ।

– नेपालको समाजवाद बुर्जुवा वर्गले भनेजस्तो प्रजातान्त्रिक समाजवाद होइन । यो सशस्त्र विद्रोहको बलमा संगठित भएको सोभियत मोडेलको समाजवाद पनि होइन । नेपालको पूँजीवादी जनवादी क्रान्ति कम्युनिस्ट पार्टीको नेतृत्व र बुर्जुवा वर्गको सहभागितामा जसरी मौलिक ढंगले सम्पन्न भयो, नेपाली समाजवाद पनि त्यसरी नै मौलिक मोडेलद्वारा निर्देशित हुनेछ ।

– हामीले विश्वभरिका समाजवादी मोडेलबाट शिक्षा लिन जरुरी छ । ती देशमा अभ्यास भएका समाजवादी मोडेलबाट केही कुरा ग्रहण पनि गर्न सक्छौं । तर, हाम्रो मोडेल हाम्रै विशेषता र हाम्रै चरित्रको हुनेछ । दीर्घकालीन जनयुद्ध, सशस्त्र संघर्ष र शान्तिपूर्ण जनसंघर्षजस्ता संघर्षका रुपहरुको संयोजनमार्फत् हाम्रो क्रान्ति मौलिक रुपमा सम्पन्न भएका कारण, नेपालको आर्थिक–सामाजिक विशेषता मौलिक भएका कारण हाम्रो समाजवादी क्रान्ति पनि मौलिक नै हुनेछ ।

जनताको जनवादका मुलभूत विशेषता

जनताको जनवाद विचार केन्द्रित बहसका आधारमा संश्लेषण भएको कार्यदिशा नभएका कारण यसका कतिपय मान्यतामा विकास जरुरी छ । यद्यपि, जनताको जनवादका मुल विशेषतालाई बुंदागत रुपमा यसरी उल्लेख गर्न सकिन्छ ।

– समाजवादको पहिलो चरणमा एकदलीय राज्य प्रणाली, निजी सम्पत्तिको औपचारिक उन्मूलन र पूर्णतः राज्य नियन्त्रित आर्थिक प्रणाली लागू हुन सक्दैन । समाजवादको तीव्र विकासको चरणमा क्रमशः ती मान्यता लागू हुनेछन् ।

– सर्वहारा सत्ताले सर्वहारा वर्गमाथि दमन गर्दैन । बरु यस कार्यदिशाले सर्वहारा सत्तामाथि सर्वहारा वर्गको सहभागिता, निगरानी र हस्तक्षेपको माग गर्दछ ।

– जनवादको जनवादको कार्यदिशाले उत्पादक शक्तिको पूर्ण विकास अर्थात् औद्योगिकरणमा जोड दिन्छ । उत्पादक शक्तिको पूर्ण विकासको कार्यभार पूरा नगरी हतारमा समाजवादी कार्यक्रम लागू गर्दैन ।

– जनताको जनवादले समाजवादी व्यवस्थामा सर्वहारा÷श्रमजीवी वर्गलाई सामाजिक न्यायसहितको सामाजिक सुरक्षा प्रदान गर्ने मान्यता राख्दछ । यसले उत्पादनको प्रचुरता अर्थात् उत्पादकत्व वृद्धिका आधारमा सामाजिक न्यायसहितको बितरण प्रणालीको वकालत गर्दछ । सहकारिताको प्रयोगमार्फत् समाजवादको आधार तयार पार्नु यस कार्यदिशाको अर्को महत्वपूर्ण विशेषता हो ।

– आजको विश्व साम्राज्यवादले विकास गरेका चुनौतीहरुको सामना गरेर मात्र हाम्रो कार्यदिशाले आफ्नो वैज्ञानिकता सिद्ध गर्न सक्छ । जलवायु परिवर्तन र उच्च तापमान वृद्धिजस्ता चुनौतीहरुको सामना गर्न कम्युनिस्टहरुले पर्यावरणको संरक्षणलाई जनताको जनवादी कार्यदिशाको अभिन्न अंग बनाउनुपर्दछ ।

– जनताको जनवादले समाजवादी क्रान्तिको तयारी शान्तिपूर्ण रुपमा गर्ने कुराको वकालत गर्दछ । नेपालमा कम्युनिस्टहरु वैधानिक रुपले नै सत्ताको केन्द्रमा रहेकाले शान्तिपूर्ण तयारीको अवसरलाई भरपूर उपयोग गरिनुपर्दछ ।

समाजवादी कार्यदिशा किन ?

राजनीतिक कार्यदिशाको गुरुत्वबारे प्रकाश पार्दै माओत्सेतुङ भन्छन्, ‘‘विचारधारात्मक राजनीतिक कार्यदिशा सही वा अलग हुनुले सबैथोकको निर्धारण गर्दछ । राजनीतिक कार्यदिशा सही छ भने नभएका चीजहरु पनि क्रमशः प्राप्त हुँदै जान्छन्, राजनीतिक कार्यदिशा गलत छ भने भएका चीजहरु पनि गुम्दै जान्छन् ।’’

राजनीतिक कार्यदिशा त्यस्तो महत्वपूर्ण विषय हो, जसमा कम्युनिस्ट पार्टीको जीवन अडिएको हुन्छ । कम्युनिस्ट पार्टीले तय गर्ने राजनीतिक कार्यदिशा कति वस्तुगत र वैज्ञानिक छ ? भन्ने तथ्यका आधारमा नै कम्युनिस्ट पार्टीको सफलता वा असफलता अन्तरनिहित हुन्छ । वैज्ञानिक कार्यदिशा बिनाको कम्युनिस्ट पार्टी जतिसुकै शक्तिशाली होस्, त्यो क्रमशः क्षीण हुँदै जान्छ । त्यसै कुरालाई संश्लेषण गर्दै माओले राजनीतिक कार्यदिशालाई कम्युनिस्ट पार्टीको जननीका रुपमा परिभाषित गरेका छन् ।

नेकपाले जनताको जनवादलाई आफ्नो कार्यदिशाको रुपमा संश्लेषण गरेको छ, जुन संक्रमणकालीन कार्यदिशा हो । आगामी महाधिवेशनमा खुला वैचारिक छलफलका आधारमा कार्यदिशाको परिमार्जन र विकास गर्ने भनिएकाले त्यस्तो कार्यदिशा समाजवादी कार्यदिशा नै हुनेछ भन्ने कुरा बुझ्न कुनै कठिन छैन । त्यस्तो कार्यदिशाको अन्तर्वस्तुबारे नेकपामा बहस चल्दै जाला । तर, समाजवादी कार्यदिशा बिना नेकपाले अबको क्रान्तिको नेतृत्व गर्न नसक्ने तथ्य स्पष्ट नै छ । तसर्थ, निम्न तथ्यका कारण नेकपाले जनताको जनवादको कार्यदिशालाई समाजवादी कार्यदिशाका रुपमा विकास र संश्लेषण गर्न जरुरी छ ।

– जनताको जनवादको कार्यदिशा पार्टी एकताको विशिष्ट परिस्थितिमा संश्लेषण गरिएको कार्यदिशा हो, जसलाई नेकपाले संक्रमणकालीन कार्यदिशाका रुपमा परिभाषित गरेको छ । एकताको विशिष्ट सन्दर्भमा यसले पूर्ववत समूहका आधारभूत पक्षहरुलाई आत्मसात गरेको छ । तर, कार्यदिशाको प्रश्न सहमति वा भावनाको प्रश्न होइन, यो त क्रान्तिको नेतृत्व गर्नसक्ने विचार निर्माणको प्रश्न हो । तसर्थ, जनताको जनवादले समाजवादी क्रान्तिको गुरुत्व बोक्न सक्दैन ।

– नेपालको संविधानले नेपाललाई समाजवादउन्मूख राज्यका रुपमा परिभाषित गरेको छ । तर, नेकपाले पूँजीवादी क्रान्तिको कार्यभार पूरा गर्ने कार्यदिशाकै वकालत गरिरहेको छ । जनताको जनवादलाई समाजवादउन्मूख भनिए पनि यसको मुल चरित्र पूँजीवादी क्रान्तिको पूर्णताको अर्थ दिने खालको छ । यस्तो खाले संश्लेषणले समाजवादी क्रान्तिको कार्यदिशाको विकासमा भ्रम पैदा गर्नसक्ने खतरा रहन्छ । तसर्थ, जनताको जनवादलाई समाजवादी कार्यदिशाका रुपमा विकास र संश्लेषण गर्न अपरिहार्य छ ।

– पूँजीवादी जनवादी क्रान्तिको पूर्णतासँगै कम्युनिस्ट पार्टीमा पूँजीवादको सुदृढीकरणको अभिमत पनि प्रकट हुने गर्दछ । किनकि, वर्गसंघर्षमा व्यक्त विचार र दृष्टिकोणले पार्टी अन्तरसंघर्षलाई पनि प्रभावित गर्दछ । यसले कम्युनिस्ट पार्टी र नेतृत्वलाई पूँजीवादी चरित्रमै रुमल्याउने खतरा रहन्छ । समाजवाद हुँदै साम्यवादमा पुग्ने ध्येय राख्ने कम्युनिस्टहरु पनि राज्यसत्ताको अभ्यासपछि विद्यमान व्यवस्थालाई सुदृढ गर्न थालेका अनगिन्ती उदाहरणहरु छन् । यसबाट बच्न पनि नेकपाले स्पष्टतः समाजवादी कार्यदिशाको संश्लेषण गर्न आवश्यक छ ।

– वर्गीय अन्तरविरोध र संघर्षका कारण क्रान्तिकारी शक्तिसँगै प्रतिक्रान्तिकारी शक्तिले पनि आफूलाई संगठित गर्ने प्रयास गर्दछ । वर्तमानमा पराजित पूँजीपति र प्रतिक्रियावादी वर्गले पनि पूँजीवादलाई सुदृढ गर्न लगातार कोशिश गर्नेछ । यस्तो प्रतिक्रान्तिकारी शक्ति र प्रवृत्तिलाई पराजित गर्न पनि कम्युनिस्ट पार्टीले स्पष्टतः समाजवादी कार्यदिशाको संश्लेषण गर्न आवश्यक छ ।

– समाजवादी क्रान्तिको तयारी नेपालका कम्युनिस्टहरुको आजको प्रमूख कार्यभार हो । त्यसका लागि क्रान्तिकै चरित्रसँग मेल खाने राजनीतिक कार्यदिशाको संश्लेषण आवश्यक बन्न जान्छ । त्यस्तो कार्यदिशा समाजवादी कार्यदिशा हो ।

– तसर्थ, नेकपाले राजनीतिक कार्यदिशालाई सहमतीय राजनीतिको नेतृत्व गर्ने अर्थमा होइन, समाजवादी क्रान्तिको नेतृत्व गर्न सक्ने गरी विकास र संश्लेषण गर्न जरुरी छ । जनताको जनवादले पूँजीवादी क्रान्तिले पूर्णता प्राप्त नगरेको अर्थ दिने र यसको सारभूत चरित्रले पनि समाजवादी क्रान्तिको कार्यभार पूरा गर्न नसक्ने भएकाले आगामी महाधिवेशनमा खुला वैचारिक छलफलका आधारमा नेकपाले समाजवादी क्रान्तिको कार्यदिशा संश्लेषण गर्न अपरिहार्य छ ।

००००००००


By Marxist

Leave a Reply

Your email address will not be published. Required fields are marked *