Book-Marxist-1320x763

काठमाडौं। कम्युनिष्ट पार्टीलाई नेताहरुको पार्टी पनि भनिन्छ। नेता बन्न बौद्धिकता र विषयवस्तुबारे गहिरो ज्ञान चाहिन्छ। कम्युनिष्ट सिद्धान्त त्यस्तो सिद्धान्त हो, जसले बनिबनाउ समाज र मान्यताहरु भत्काएर नयाँ बाटो हिड्छ, विज्ञान र अनुसन्धानमा नयाँ–नयाँ तथ्यमा रमाउँछ। त्यही अध्ययन, खोज र विश्लेषणले मात्र समाजलाई अग्रगति प्रदान गर्न भूमिका खेल्दछ।

तर, हामीकहाँ पछिल्लो समय पढ्ने संस्कृति कमजोर हुँदै गएको छ। कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता पढ्दैनन्, विषयको ज्ञान राख्दैनन्, समाजको भेल जता बगेको छ, त्यतै लहसिन्छन्। यसले कम्युनिष्ट पार्टीको गरिमा नै कमजोर भइरहेको छ। कम्युनिस्ट आन्दोलनभित्र वैचारिक बहसको खडेरी पर्दै जानु र नेता-कार्यकर्ता व्यक्तिगत लान्छानातिर अग्रसर हुनु पनि यसकै परिणाम हो।

कम्युनिष्ट पार्टीको सदस्य हुनु आफैमा विश्वविद्यालयमा भर्ना हुनु हो। यसले ज्ञान र विज्ञानका प्रायः सबै शाखा बुझ्नुपर्छ, जान्नुपर्छ। कार्यकर्ताले पढ्नैपर्ने दशौं हजार किताब छ। तर, एउटै आलेखमा ती सबैलाई समेट्न सम्भव छैन।

यो आलेखमा हामीले कम्युनिष्ट पार्टीका कार्यकर्ताले पढ्नैपर्ने ७७ पुस्तक, त्यसका लेखक र पुस्तकको मुल भाव प्रस्तुत गरेका छौं। यी पुस्तककाे अध्ययनले तपाईकाे वैचारिक र सैद्धान्तिक स्तर बढनेछ। तपाई पनि पढ्नुस् र साथीलाई पनि पढ्न प्रेरित गर्नुस्।

१. पूँजी, (भाग १, २ र ३) :– कार्ल मार्क्सद्वारा लिखित यस पुस्तकमा अतिरिक्त श्रमद्वारा पैदा हुने अतिरिक्त मूल्य, पूँजीवाद र सर्वहारा वर्ग, साम्यवाद र कम्युनिष्ट लगायतका विषयमा विपद व्याख्या गरेका छन्। यो कम्युनिष्टहरुका लागि सबैभन्दा महत्वपूर्ण पुस्तक हो।

२. अतिरिक्त मूल्यको सिद्धान्त :– कार्ल मार्क्सद्वारा लिखित यस पुस्तक मार्क्सवादी अर्थशास्त्र सम्बन्धि विषद् पुस्तक हो। पुस्तकले अतिरिक्त श्रमद्वारा गर्ने अतिरिक्त मूल्यको विषयमा व्याख्या गरेको छ। यो पुस्तक निकै महत्वपूर्ण छ।

३. कम्युनिष्ट घोषणापत्र :– सन् १९४८ मा मार्क्स–एंगेल्सद्वारा लिखित कम्युनिष्ट घोषणापत्र विश्वका सबै कम्युनिष्टहरुका लागि दिशानिर्देश हो। यस पुस्तकमा सर्वहारा वर्गको विजयबारे संक्षिप्त तर गहन व्याख्या गरिएको छ।

४. दर्शनको दरिद्रता :– कार्ल मार्क्सद्वारा लिखित यस पुस्तक प्रुधोंद्वारा लिखित दरिद्रको दर्शन पुस्तकको खण्डन हो। मार्क्सवादलाई दरिद्रको दर्शन ठान्ने प्रुधों नै दर्शनको दरिद्र रहेको मार्क्सले पुस्तकमा उल्लेख गरेका छन्।

५. पेरिस कम्युन (फ्रान्स गृहयुद्ध) र गोथा कार्यक्रमको आलोचना :– कार्ल मार्क्सद्वारा लिखित यस पुस्तकमा पेरिस कम्युन, त्यसले पैदा गरेका वैचारिक र राजनीतिक आयामहरुबारे प्रकाश पारिएको छ।

६. ड्युहरिङ मतखण्डन :– फ्रेडरिक एंगेल्सद्वारा लिखित यस पुस्तकमा चिन्तक ड्युहरिङको मतको खण्डन गरिएको छ। यो पुस्तक दर्शनसम्बन्धि रुचि राख्ने पाठकका लागि महत्वपूर्ण मानिन्छ।

७. भौतिक विज्ञानको विकासक्रम :– अल्वर्ट आइन्स्टाइनद्वारा लिखित यस पुस्तकमा भौतिक शास्त्र र आइन्स्टाइनले गरेको अनुसन्धानको बारेमा चर्चा गरिएको छ।

८. मानव समाज :– राहुल सांस्कृत्यायनद्वारा लिखित यस पुस्तकमा मानव जातिको उत्पत्ति, राज्यको उत्पत्ति र विकास, मानव समाज र सङ्घर्षबारे व्याख्या गरिएको छ।

९. प्रकृतिको द्धन्द्धात्मकता :– एंगेल्सद्वारा लिखित यस पुस्तकमा प्रकृति, यसको द्धन्द्धात्मक सम्बन्ध, भौतिक विज्ञान र सामाजिक अन्तर्सम्बन्धबारे गहन व्याख्या गरिएको छ।

१०. परिवार, नीजि सम्पत्ति र राज्यको उत्पत्ति :– एंगेल्सद्वारा लिखित यो पुस्तक धेरै गहन छ। पुस्तकमा नश्ल, गोत्र, वंश, जात, जाति, राष्ट्रको उत्पत्ति र विकासबारे व्याख्या गरिएको छ। पुस्तकमा नीति सम्पत्ति, राज्यको उत्पत्ति र यसका कारणबारे व्याख्या गरिएको छ।

११. राज्य र क्रान्ति :– यो लेनिनद्वारा लिखित पुस्तक हो। पुस्तकमा लेनिनले राज्य, राज्यको चरित्र, राज्यसत्ता परिवर्तनमा क्रान्तिको भूमिका, यसका वैचारिक आधार, कम्युनिष्ट कार्यनीति, संगठन र सङ्घर्षबारे गहिरो विवेचना गरेका छन्।

१२. वामपन्थी साम्यवाद : एक बाल रोग :– लेनिनद्वारा लिखित यस पुस्तकमा उग्रवामपन्थी भड्कावबारे चर्चा गरिएको छ। आत्मगत र वस्तुगत परिस्थिति तयार नहुँदै मनोगत आकांक्षाका भरमा क्रान्ति हुन नसक्ने तथ्यलाई पुस्तकमा प्रकाश पारिएको छ।

१३. कम्युनिष्ट नैतिकता :– कम्युनिष्टहरुका पाँच मूख्य नेताहरुका दृष्टिकोणमा आधारित यो पुस्तक संकलित रचना हो। यस पुस्तकमा सामाजिक एवं व्यक्तिगत जीवनमा कम्युनिष्टहरुले अपनाउने बानी, व्यहोरा, दृष्टिकोण, संस्कार र संस्कृतिबारे चर्चा गरिएको छ।

१४. आमा :– म्याक्सिम गोर्कीद्वारा आमा पुस्तक लिखित क्रान्तिकारी उपन्यास हो। यो रुसी क्रान्तिका दौरानमा लेखिएको विश्वप्रख्यात उपन्यास हो ।नयाँ पुस्ताका क्रान्तिकारीले पढ्नैपर्ने पुस्तक हो आमा।

१५. स्टालिनका छानिएका रचना :– कृष्णदास श्रेष्ठद्वारा लिखित यस पुस्तकमा स्टालिनको शासन कालका उनका महत्वपूर्ण रचना र विचार समेटिएको छ। स्टालिनबारे जान्न चाहनेहरुका लागि पुस्तक उपयोगी छ।

१६. राजनीतिक अर्थशास्त्रको मुलभूत सिद्धान्त (साङ्घाई टेक्टबुक) :– माओत्सेतुङका गहन विचारहरुलाई समावेश गरेर तयार पारिएको यो पुस्तक प्रसिद्ध रचना हो। मार्क्सवादी दर्शन, अर्थशास्त्र र समाजशास्त्रका दृष्टिले यो पुस्तक गहन छ।

१७. दर्शनबारे पाँच कृति :– माओत्सेतुङद्वारा लिखित यस पुस्तक संक्षिप्त तर गहन छ। पुस्तकमा ज्ञानको स्रोत, ज्ञानको व्यवहारिक प्रयोग र यसका दार्शनिक पक्षबारे चर्चा गरिएको छ। मार्क्सवादी दर्शनमा यो पुस्तक धेरै गहन मानिन्छ।

१८. माओत्सेतुङका सैनिक रचना :– विभिन्न भागमा प्रकाशित यस पुस्तकमा माओत्सेतुङका सैनिक दृष्टिकोण, निर्देशन र फौजी कार्यदिशा सम्बन्धि महत्वपूर्ण दस्तावेजहरु समेटिएका छन्।

१९. सर्वहारा सांस्कृतिक क्रान्तिका ऐतिहासिक दस्तावेज :– यस पुस्तक सन् १९६६–१९७६ को चिनियाँ सांस्कृतिक क्रान्तिलाई बुझ्न धेरै उपयोगी छ। यस पुस्तकमा सांस्कृतिक क्रान्ति कालका दस्तावेजहरु समाविष्ट छन्।

२०. महान बहस :– यो पुस्तक रुसमा ख्रुश्चेवको नेतृत्व (सन् १९५६) पछि रुसी कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीच चलेका वैचारिक बहसको संकलित रचना हो। यसमा रुसी कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीले वैचारिक बहसका रुपमा एक–अर्कालाई पठाएका प्रायः सबै चिठीहरु संकलित छन्।

२१. नयाँ जनवादी क्रान्ति :– चिनियाँ लेखक हो कान चद्वारा लिखित यस पुस्तकमा चिनियाँ नयाँ जनवादी क्रान्ति, यसका विशेषता र विश्व कम्युनिष्ट आन्दोलनमा यसको योगदानबारे चर्चा गरिएको छ।

२२. चीनको आधुनिक इतिहास :– सी चिनफिङका वैचारिक लेख, प्रतिवेदन र मन्तव्यहरु संग्रह गरेर तयार पारिएको यो पुस्तक चीनको पछिल्लो विकास र समाजवादको अभ्यासबारे बुझ्न निकै उपयोगी छ। यसमा सीले चीनको रणनीतिक विकास र सुदृढीकरणबारे बृहत दृष्टिकोण प्रस्तुत गरेका छन्।

२३. मार्क्सवादी दर्शन :– यो पुस्तक मोहन वैद्यद्वारा लिखित दार्शनिक तथा वैचारिक आलेखहरुको संग्रह हो। पुस्तकमा वैद्यले दर्शन, अर्थशास्त्र र समाजवादका आयामहरुबारे व्याख्या गरेका छन्। मार्क्सवादी दर्शनमा रुचि राख्नेहरुका लागि यो उपयोगी पुस्तक हो।

२४. सङ्घर्षको दर्शन :– मोहन वैद्यद्वारा लिखित सङ्घर्षको दर्शनमा मार्क्सवाद र संशोधनवाद बीचको वैचारिक अन्तर खुट्याउने प्रयास गरिएको छ। मार्क्सवाद रुचि राख्ने पाठकहरुका लागि यो उपयोगी पुस्तक हो।

२५. दर्शनशास्त्रको प्रारम्भिक ज्ञान :– रुसी लेखक भिक्टर आफानास्योभद्वारा लिखित यो पुस्तक धेरै गहन र सरल छ। पुस्तकमा दर्शन, यसको उत्पत्ति, राज्य र यसको विकास, ब्रह्माण्ड र त्यसको भौतिक जीवनमा सम्बन्ध, समाजवाद र यसका आयामबारे स्पष्ट व्याख्या गरिएको छ। यो मार्क्सवादका विद्यार्थीहरुले पढ्नैपर्ने पुस्तक हो।

२६. नेपाली क्रान्तिका समस्याहरु (भाग १, २, ३ र ४) :– यो नेकपाका अध्यक्ष प्रचण्डका नीजि लेखहरुको संग्रह हो। चार खण्डमा प्रकाशित पुस्तकमा नेपाली क्रान्ति, यसको सम्भावना र चुनौतिबारे विविध लेख समेटिएका छन्। नेपालको जनयुद्ध र त्यसको तयारीको वैचारिक दिशा बुझ्न पुस्तक धेरै उपयोगी छन्।

२७. पूर्वीय दर्शन :– डा. भक्त राईद्वारा लिखित यो पुस्तक धेरै गहन छ। पुस्तकमा भौतिकवादी दर्शन, दर्शनका विभिन्न कालखण्ड र त्यस समयका दार्शनिकहरुबारे चर्चा गरिएको छ। दर्शनको उत्पत्ति र भौतिकवादबारे जान्न चाहनेहरुका लागि पुस्तक धेरै उपयोगी छ।

२८. हाम्रो समाज : एक अध्ययन :– जनकलाल शर्माद्वारा लिखित पुस्तक धेरै उपयोगी छ। पुस्तकमा पृथ्वीको उप्पत्ति, प्राणिहरुको उत्पत्ति, एककोषीय जीव, मानवको उत्पत्ति, आदिम साम्यवाद, कबिला समूह, श्रमको उत्पत्तिदेखि मानव सभ्यताका विविध आयामहरुलाई गहन रुपमा प्रस्तुत गरिएको छ। यो पुस्तक निकै सरल र विषद् पनि छ।

२९. नेपाली कम्युनिष्ट आन्दोलनको इतिहास (भाग १, २, ३) :– डा. सुरेन्द्र केसीद्वारा लिखित यस पुस्तकमा नेपालको कम्युनिष्ट आन्दोलनबारे उल्लेख गरिएको छ। पुस्तकमा नेकपाको स्थापना, विकास, विभिन्न राजनीतिक धारा र सङ्घर्ष लगायतका विषयलाई तीन भागमा व्याख्या गरिएको छ।

३०. विश्व कम्युनिष्ट आन्दोलनको इतिहास :– मोहन बिक्रम सिंहद्वारा लिखित यो पुस्तक धेरै संक्षिप्त र गहन छ। पुस्तकमा पेरिस कम्युन, रुस, चीन, फिलिपिन्स, भारत लगायत विश्वभर चलेका कम्युनिष्ट आन्दोलन, त्यसका नेता र प्रवृत्तिबारे चर्चा गरिएको छ।

३१. सोभियत कम्युनिष्ट पार्टीको इतिहास :– रुसी कम्युनिष्ट पार्टीको इतिहास समेटिएको यो पुस्तक रुसी क्रान्ति, सशस्त्र विद्रोह र यससम्बन्धि दृष्टिकोण बुझ्न निकै उपयोगी छ।

३२. चिनियाँ कम्युनिष्ट पार्टीको इतिहास :– यस पुस्तकमा चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना, दीर्घकालीन जनयुद्धको थालनी, जापानद्वारा चीनमाथि गरिएको हमला, जनवादी क्रान्तिको विजय लगायतको चीनको क्रान्तिकारी आन्दोलनको इतिहास समाविष्ट छ।

३३. पेमालामा प्रश्नोत्तर माला :– मोहन बिक्रम सिंहद्वारा लिखित यो पुस्तक मार्क्सवादबारे जान्न चाहनेहरुका लागि प्रारम्भिक पुस्तक हो। पुस्तकमा कम्युनिष्ट आन्दोलन र विचार सम्बन्धि आधारभूत कुराहरुलाई पेमा र लामाबीचको सम्वादका रुपमा प्रस्तुत गरिएको छ। मार्क्सवादबारे आधारभूत ज्ञान राख्न चाहनेहरुका लागि पुस्तक उपयोगी छ।

३४. प्राकृतिक भौतिकवाद :– गोपीरमण उपाध्यायद्वारा लिखित यो पुस्तक गहन छ। पुस्तकमा भौतिक चिन्तन, चिन्तकहरु, त्यसको कालखण्ड र विकासबारे गहन प्रकाश पारिएको छ।

३५. धर्म र मार्क्सवाद :– यो पुस्तक धर्म र मार्क्सवादी दृष्टिकोणबारे लेखिएका लेखहरुको संग्रह हो। पुस्तकमा धर्म र मार्क्सवाद सम्बन्धि मार्क्सवादी दृष्टिकोण प्रस्तुत गरिएको छ।

३६. नेपाल कम्युनिष्ट आन्दोलन र जनक्रान्तिका ऐतिहासिक दस्तावेजहरु :– यो नेकपा (माओवादी) द्वारा प्रकाशित कृति हो। पुस्तकमा नेकपाको स्थापनादेखि महान् जनयुद्ध लगायत सबै कालका महाधिवेशन, सम्मेलन, विस्तारित बैठक र केन्द्रीय समितिमा प्रस्तुत भई पारित भएका दस्तावेजहरु संग्रहित छन्। माओवादी आन्दोलनको वैचारिक श्रृङ्खला बुझ्न चाहनेहरुका लागि यो निकै उपयोगी पुस्तक हो।

३७. राजनीतिक अर्थशास्त्रको आँखीझ्याल :– डा. बाबुराम भट्टराईद्वारा लिखित यो पुस्तक निकै महत्वपूर्ण छ। नेपालको परिप्रेक्ष्यमा उत्पादन सम्बन्ध र अर्थतन्त्रमा कसरी क्रान्तिकारी परिवर्तन ल्याउन सकिन्छ भन्ने विषयमा पुस्तकमा स्पष्ट दृष्टिकोण प्रस्तुत गरिएको छ।

३८. मार्क्सवादी अर्थशास्त्र :– डा. विजयकुमार पौडेलद्वारा लिखित यस पुस्तकमा राजनीतिक अर्थशास्त्र परिचय, अभ्यास र नेपाली सन्दर्भमा यसको प्रयोगबारे चर्चा गरिएको छ। प्रतिस्पर्धात्मक राजनीतिक प्रणालीभित्र मार्क्सवादी अर्थशास्त्रको अभ्यासका लागि पुस्तक उपयोगी छ।

३९. नयाँ घर :– नेता एवं साहित्यकार आहुतिद्वारा लिखित यो उपन्यास क्रान्तिकारी विचार र भावनाले ओतप्रोत छ। पुस्तकमा क्रान्तिका लागि क्रान्तिकारी सङ्घर्षमा लाग्न अभिप्रेरित गरिएको छ।

४०. मार्क्सवाद चिनारी :– कृष्णदास श्रेष्ठद्वारा लिखित यो पुस्तक मार्क्सवादबारे आधारभूत कुरा जान्न चाहने विद्यार्थीका लागि उपयोगी छ। यसमा दर्शन, अर्थशास्त्र र समाजवादबारे विषयवस्तु समेटिएको छ।

४१. मार्क्सवादको पहिलो पुस्तक :– कृष्णदास श्रेष्ठद्वारा लिखित यो पुस्तकमा दर्शन, अर्थशास्त्र र समाजवादबारे विषयवस्तु समेटिएको छ। नयाँ विद्यार्थीका लागि यो निकै उपयोगी पुस्तक हो।

४२. मार्क्सवादको मुल सिद्धान्त :– जनेश्वर बर्माद्वारा लिखित यस पुस्तकमा मार्क्सवादका तीन संघटक अंगको विवेचना गरिएको छ। मार्क्सवादप्रति रुचि राख्ने विद्यार्थीहरुका लागि पुस्तक उपयोगी छ।

४३. मार्क्सवादी राजनीतिक अर्थशास्त्र :– मार्क्सवादी लेखक एवं चिन्तक रामराज रेग्मीले लेखेको यस पुस्तकमा राजनीतिक अर्थशास्त्र, अतिरिक्त मूल्यको सिद्धान्त, पुँजीवादी अर्थव्यवस्था, समाजवादी अर्थव्यवस्थाका आयाम र प्रयोगहरुबारे सरल भाषामा गहन विश्लेषण गरिएको छ।

४४. कम्युनिस्ट स्कुल :– मनहरि तिमिल्सिनाद्वारा यस पुस्तकमा दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र, वैज्ञानिक समाजवाद, विश्व एवं नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास र विज्ञान–प्रविधिका विषयमा सिलसिलेबार रुपमा विवेचना र व्याख्या गरिएको छ।

४५. पूर्वीय दर्शनमा भौतिकवाद :– मार्क्सवादी लेखक एवं चिन्तक रामराज रेग्मीद्वारा लिखित पुस्तक हो पूर्वीय दर्शनमा भौतिकवाद। यस पुस्तकमा पूर्वीय दर्शनका क्षेत्रमा भौतिकवादी आयाम, यसको विकास र कम्युनिस्टहरुले जान्नुपर्ने अवधारणाका बारेमा प्रकाश पारिएको छ।

४६. दर्शन विश्वकोश :– मार्क्सवादी चिन्तक रमेश सुनवारद्वारा लिखित महत्वपूर्ण पुस्तक हो – दर्शन विश्वकोश। यस पुस्तकमा सिंगो मानव जातिको इतिहास र दार्शनिक विकासक्रमलाई शब्दकोषमार्फत् गहन ढंगले प्रस्तुत गरिएको छ। विश्वभरिका दर्शन र दार्शनिकहरुको आधारभूत जानकारीका लागि पुस्तक महत्वपूर्ण छ।

४७. भोल्गादेखि गंगासम्म :– यस पुस्तकका लेखक हुन् प्रसिद्ध भारतीय दार्शनिक राहुल सांस्कृत्यायन। यस पुस्तकमा उनले मानव जातिको इतिहास र विकासक्रमबारे चर्चा गरेका छन्। पूर्वीय सभ्यता र मानव जातिबारे अध्ययनका लागि पुस्तक महत्वपूर्ण छ।

४८. आजको विज्ञान :– विकास बज्राचार्यद्वारा लिखित पुस्तक हो आजको विज्ञान। पुस्तक निकै सरल भाषामा लेखिएको छ। पुस्तकमा विज्ञानका विभिन्न आविस्कारहरुले संक्षेपमा तर महत्वपूर्ण जानकारी प्रस्तुत गरिएको छ। विज्ञान बुझ्न चाहने पाठकहरुका लागि पुस्तक उपयोगी छ।

४९. विश्व कम्युनिस्ट आन्दोलनको इतिहास, भाग १ र २ :– शशिधर भण्डारीद्वारा लिखित पुस्तकमा विश्वभरिका कम्युनिस्ट आन्दोलनका घटनाक्रमहरु, वैचारिक संघर्ष र विकास, पात्र र प्रवृत्तिहरु, कम्युनिस्ट आन्दोलनका आयाम र योगदानहरुबारे चर्चा गरिएको छ।

५०. समयको संक्षिप्त इतिहास :– प्रसिद्ध वैज्ञानिक स्टेफिन हकिङद्वारा लिखित पुस्तक हो समयको संक्षिप्त इतिहास। हकिङको आविस्कार र भौतिक विज्ञानको विकासक्रम बुझ्नका लागि पुस्तक निकै उपयोगी छ। नेपाली भाषामा अनुदित पुस्तक बजारमा पाइन्छ।

५१. सापेक्षतावाद :– वैज्ञानिक अल्वर्ट आइस्टाइनद्वारा लिखित पुस्तक हो – सापेक्षतावाद। पुस्तकमा सापेक्षतावादको सिद्धान्तका साथै भौतिक विज्ञानको विकास प्रक्रिया सम्बन्धी चर्चा गरिएको छ। नेपाली भाषामा अनुदित यस पुस्तक वैज्ञानिक खोजका लागि महत्वपूर्ण मानिन्छ।

५२. जातिहरुको उत्पत्ति :– जीव विज्ञानका पिता मानिने चार्ल्स डार्बिनद्वारा लिखित पुस्तक हो – जातिहरुको उत्पत्ति, जुन पुस्तक सन् १८५९ मा लेखिएको थियो। पुस्तकमा प्रकृतिका जीवहरुको उत्पत्ति र विकासबारे अनुसन्धान गरिएको छ। यो पुस्तक पनि नेपाली भाषामा बजारमा उपलब्ध छ।

५३. संघर्षको इतिहास :– नेकपाका युवा नेता लेखनाथ न्यौपानेद्वारा लिखित यस पुस्तकमा दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका विभिन्न आयामहरुबारे चर्चा गरिएको छ। साथै पुस्तकमा कम्युनिस्ट आन्दोलनका विभिन्न सामग्रीहरुसमेत समावेश गरिएको छ।

५४. भारतीय दर्शनमा के जीवित र के मृत छ ? :– भारतीय मार्क्सवादी दार्शनिक देवीप्रसाद चट्टोपाध्यायद्वारा लिखित यस पुस्तकमा पूर्वीय दर्शनमा भौतिकवाद र प्रत्ययवादका विभिन्न आयामहरुबारे चर्चा गरिएको छ। उनको पुस्तकमा भारतीय दर्शनका रुपमा दक्षिणपूर्वीय एसियाको दर्शन र दार्शनिक विकासक्रमको विश्लेषण गरिएको छ।

५५. दर्शनशास्त्र परिचय :– नेकपाका बौद्धिक नेता डा. बेदुराम भुसालद्वारा लिखित यस पुस्तकमा मार्क्सवादी दर्शनशास्त्रका बारेमा सरल ढंगले चर्चा गरिएको छ। दर्शनशास्त्रमा रुचि राख्ने पाठकहरुका निम्ति पुस्तक निकै उपयोगी रहेको छ।

५६. माओको अन्तिम महालडाइँ :– अमेरिकी लेखक एवं पत्रकार रेमण्ड लोट्टाद्वार लिखित र खोपबहादुर कंडेलद्वारा अनुवादित पुस्तक माओको अन्तिम महालडाइँ चिनियाँ सर्वहारा सांस्कृतिक क्रान्ति र त्यसका ऐतिहासिक दस्तावेजसँग सम्बन्धित छ।

५७. कम्युनिस्ट कसरी बन्न सकिन्छ ? :– रमेश सुनुवारद्वारा लिखित कम्युनिस्ट कसरी बन्न सकिन्छ भन्ने पुस्तक मार्क्सवादको कोर्सबुकसँग सम्बन्धित छ। पुस्तकमा दर्शन, अर्थशास्त्र, इतिहास र विज्ञान विषय समेटिएको छ।

५८. क्वान्टम सिद्धान्त :– प्राडा शोभाकान्त लामिछानेद्वारा लिखित क्वान्टम सिद्धान्त पुस्तक क्वान्टम भौतिकीको सैद्धान्तिक अवधारणासँग सम्बन्धित छ। क्वान्टम सिद्धान्तको आधारभूत विषय बुझ्न पुस्तक उपयोगी रहेको छ।

५९. समाजवाद र नेपाल :– डिपी ढकालद्वारा लिखित समाजवाद र नेपाल पुस्तक समाजवादबारे विश्वव्यापी अभ्यास, आजको विश्व अर्थव्यवस्था र नेपाल बुझ्नका लागि महत्वपूर्ण छ। पुस्तक नेपालमा समाजवादको आधार तयार पार्न महत्वपूर्ण छ।

६०. समाजवादी क्रान्तिको कार्यदिशा :– मनहरि तिमिल्सिनाद्वारा लिखित समाजवादी क्रान्तिको कार्यदिशा पुस्तक समाजवादको सैद्धान्तिक मान्यता, नेपालमा समाजवादका आधार र बाटोबारे विश्लेषणमा आधारित छ। नेपालमा समाजवादी क्रान्तिको मौलिकता र मोडेल बुझ्न चाहने पाठकहरूका लागि पुस्तक उपयोगी छ।

६१. मानिस यसरी महावली भयो :– मि इल्यिन र ये सेगालद्वारा लिखित पुस्तक मानिस यसरी महावली भयो पुस्तक मानव जातिको विकास र इतिहाससम्बन्धी पुस्तक हो। आदिम साम्यवाददेखि पुँजीवादसम्म मानव जातिको इतिहास बुझ्न पुस्तक उपयोगी छ।

६२. वैदिक साम्यवाद र वैज्ञानिक समाजवादको तुलात्मक अध्ययन :– गोपीरमण उपाध्यायद्वारा वैदिक साम्यवाद र वैज्ञानिक समाजवादको तुलनात्मक अध्ययन पुस्तक पूर्वीय दर्शनमा भौतिकवादी धाराको विकास प्रक्रिया र तुलनात्मक अध्ययनका निम्ति उपयोगी छ।

६३. मार्क्सवादी अर्थशास्त्र (मार्क्सवादी अध्ययन पाठ्यक्रम) :– राहुल फाउण्डेशनद्वारा प्रकाशित प्रस्तुत पुस्तक मार्क्सवादी अर्थशास्त्र सम्बन्धी पाठ्यक्रम हो। पुस्तकमा विश्व पुँजीवाद, मार्क्सवादी अर्थशास्त्र र त्यसका विविध आयामबारे गहन चर्चा गरिएको छ।

६४. दार्शनिक रचनाहरू (मार्क्सदेखि माओसम्म) :– हेमन्तप्रकाश ओलीद्वारा अनुवादित प्रस्तुत पुस्तकमा मार्क्स, एंगेल्स, लेनिन, स्टालिन र माओत्सेतुङका दुर्लभ ठानिएका दार्शनिक आलेखहरू समाविष्ट छन्। मार्क्सवादी दर्शनको गहन अध्ययनका निम्ति पुस्तक उपयोगी छ।

६५. महामंदी :– भारतीय लेखक नरेन्द्र कुमारद्वारा लिखित प्रस्तुत पुस्तक राजनीतिक अर्थशास्त्रीय विवेचनामा आधारित छ। पुस्तकमा विश्व पुँजीवादले पटकपटक सामना गरेको आर्थिक महामन्दी र विश्वले खोजिरहेको बिकल्पबारे चर्चा गरिएको छ। हिन्दी संस्करणका रूपमा प्रस्तुत पुस्तक नेपाली बजारमा उपलब्ध छ।

६६. वैज्ञानिक भौतिकवाद :– मार्क्सवादी दर्शनशास्त्री राहुल साङ्कृत्यायनद्वारा लिखित वैज्ञानिक भौतिकवाद पुस्तक मार्क्सवादी दर्शनमा आधारित छ। पुस्तकले भौतिकवाद र विज्ञानका बिचको सम्बन्ध र दार्शनिक महत्वबारे प्रकाश पारेको छ।

६७. विश्व जनक्रान्तिका नायक :– विश्वराज कार्कीद्वारा लिखित प्रस्तुत पुस्तकमा विश्व सर्वहारा वर्गका क्रान्तिकारी अग्रजहरू कार्लमार्क्देखि पछिल्ला क्रान्तिकारी नेताहरूको जीवनी, सिद्धान्त र कार्यहरूको चर्चा गरिएको छ।

६८. विज्ञान संसार :– मार्क्सवादी लेखक एवं चिन्तक रमेश सुनुवारद्वारा लिखित प्रस्तुत पुस्तक विज्ञानका आधारभूत तर महत्वपूर्ण विषयहरूमा केन्द्रित छ। पुस्तकले विज्ञानका पछिल्ला आविस्कार र त्यसलाई हेर्ने मार्क्सवादी विश्वदृष्टिकोण प्रस्तुत गर्दछ।

६९. मार्क्सवादी दर्शन (सिद्धान्त र प्रयोग) :– मार्क्सवादी लेखक रामराज रेग्मीद्वारा लिखित पुस्तक दर्शनसम्बन्धी पुस्तक हो। पुस्तकमा मार्क्सवादी दर्शनको विकासको आधार, अन्तर्वस्तु र विकास प्रक्रियाबारे चर्चा गरिएको छ।

७०. राजनीतिक ज्ञान र शिक्षाका आधारहरू :– मार्क्सवादी लेखक गोपीरमण उपाध्यायद्वारा लिखित पुस्तक मार्क्सवाद सम्बन्धी विभिन्न समयमा लिइएका कक्षाहरूको संकलित कृति हो। पुस्तकमा मार्क्सवादी स्कुल संकलन सम्बन्धी महत्वपूर्ण सामग्रीहरू समाविष्ट छन्।

७१. विश्व कम्युनिस्ट आन्दोलन र मार्क्सवाद :– चन्ददेव जोशीद्वारा लिखित प्रस्तुत पुस्तकमा विश्वमा कम्युनिस्ट विचारको विजारोपण, मार्क्सवादी दृष्टिकोणको विकास प्रक्रिया, विश्व कम्युनिस्ट आन्दोलनको इतिहास, नेपाली कम्युनिस्ट आन्दोलन र कम्युनिस्ट आन्दोलनले लिनुपर्ने नीतिहरूबारे चर्चा गरिएको छ।

७२. बौद्ध दर्शन :– राहुल साङ्कृत्यायनद्वारा लिखित बौद्ध दर्शन पुस्तक बौद्ध दर्शनमाथि मार्क्सवादी दृष्टिकोणबाट गरिएको विवेचना हो। पुस्तकले बुद्धका विचारहरूलाई मार्क्सवादी आँखाबाट हेर्ने दृष्टिकोण प्रस्तुत गर्दछ।

७३. लोकतन्त्र र आजको मार्क्सवाद :– चैतन्य मिश्रद्वारा लिखित प्रस्तुत पुस्तक मार्क्सवादी विचारलाई लोकतान्त्रिक प्रणालीभित्रबाट कसरी हेर्ने, आजको प्रतिस्पर्धात्मक युगमा मार्क्सवादको विकास र प्रयोग कसरी गर्ने भन्ने विषयमा केन्द्रित छ।

७४. नेपालको अर्थराजनीति :– सीताराम तामाङद्वारा लिखित यस पुस्तकमा नेपालको अर्थराजनीतिक विकासक्रमको मार्क्सवादी अर्थशास्त्रीय कोणबाट विवेचना गरिएको छ।

७५. भागो नही दुनियाँ को बदलो :– राहुल साङ्कृत्यायनद्वारा लिखित यस पुस्तकले क्रान्तिकारीहरूलाई दुनियाँ बदल्न प्रेरणा प्रदान गर्दछ। हिन्दी संस्करणको प्रस्तुत पुस्तक नेपाली बजारमा उपलब्ध छ।

७६. नेपालमा उदारवाद (प्रयोग र परिणाम) :– भानुप्रसाद आचार्यद्वारा लिखित यस पुस्तकमा नेपालमा उदारवादको प्रवेश, प्रयोग र यसले निम्त्याएको परिणामबारे चर्चा गरिएको छ। नेपाली अर्थतन्त्रको विश्लेषण निम्तिसमेत पुस्तक उपयोगी छ।

७७. श्वेतशार्दूल (मदन भण्डारीको जीवनी) :– जननेता मदनकुमार भण्डारीको जीवनीमा आधारित पुस्तकका लेखक रमेश रूछेन राई हुन्। पुस्तकमा भण्डारीको जीवन, कर्म र शिक्षाहरूबारे चर्चा गरिएको छ।


By Marxist

Leave a Reply

Your email address will not be published. Required fields are marked *