Double-Pulsar

तुल्सीदास महर्जन

महान् वैज्ञानिक स्टेफेन हकिङले आफ्नो प्रसिद्ध पुस्तक ‘ग्रान्ड डिजाइन’मा भनेका छन्, ‘यो विश्व ब्रह्माण्ड सञ्चालनका लागि प्रकृतिको नियम नै काफी छ, ईश्वरको भूमिकाको कुनै जरुरी छैन।’

ईश्वरको अस्तित्वलाई ठाडै चुनौती दिने हकिङको उल्लिखित निष्कर्ष अर्का महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको सापेक्षतावादको सिद्धान्तकै विस्तारित खोजअन्तर्गत पत्ता लागेका ब्लाक होल, विस्तारित ब्रह्माण्ड, ताराहरूको उत्पत्ति, विकास र विनाशको तथ्य र महाविस्फोटनद्वारा ब्रह्माण्डको सुरुवातको वास्तविकतालाई विश्लेषण गरी आएको हो। आइन्स्टाइनले आफ्नो सापेक्षतावादको सिद्धान्तमा प्रकाशको गतिबाहेक विश्वब्रह्माण्डका सम्पूर्ण कुरा सापेक्ष रहेको पुष्टि गरेका छन्। यानी कि कुनै पनि कुरा स्वतन्त्र अस्तित्वमा छैन, हरेक कुरा अरु कुरासँगको सम्बन्धनमा मात्र अस्तित्वमा छ। एउटा सम्बन्धनबाट अर्को सम्बन्धनमा पुगेपछि कुनै पनि कुरा पहिलेकै रूप, आकार र अवस्थामा रहन्न। सम्बन्धन फरक हुनासाथ कुनै पनि कुरा परिवर्तन भइहाल्छ। यतिसम्म कि अन्तरिक्ष त भयो भयो, समयसमेत पनि परिवर्तन हुन्छ, अर्थात् त्यो पनि सापेक्ष सत्यको रूपमै देखिन्छ। यी सबै घटना र अवस्थाका लागि हरेक कुरा गतिमा रहने वास्तविकता नै जिम्मेवार छ र यसका लागि ईश्वरको भूमिका जरुरी पर्दैन भन्ने निष्कर्ष हकिङको हो।

सापेक्षता के हो ?

सापेक्षतावादबारे माथि उल्लिखित निष्कर्ष द्वितीय शताब्दीका महान् पूर्वेली बौद्ध दार्शनिक नागार्जुनको शून्यताको दर्शनसँग पनि मेल खान्छ। शून्यताको दर्शनले हरेक धर्म (वस्तु) निःस्वभावको हुने निष्कर्ष दिन्छ। यसको अर्थ कुनै पनि धर्मको आफ्नै निजी स्वभाव भन्ने हुँदैन। यो भनेको वस्तु शून्य स्वभावको हुन्छ भन्नु हो। सम्बन्धनमा मात्र स्वभाव देखिन्छ भनेको सम्बन्धनमा मात्र अस्तित्व कायम हुन्छ भन्नु हो। उदाहरणका लागि पानीलाई लिऊँ। पानीको स्वभाव के हो ? तरल, ठोस या वाफ ? कुनै पनि होइन, कुनै पनि हुन सक्छ। निश्चित तापमान र निश्चित चापको दायराभित्र त्यो तरल, ठोस या बाफ कुनै पनि अवस्थामा रहन सक्छ। यानी कि एउटा निश्चित तापमान र निश्चित चापको दायराभित्र त्यो तरल अवस्थामा रहन्छ भने, अर्को निश्चित तापमान र निश्चित चापको दायराभित्र त्यो ठोस या ग्यासको अवस्थामा रहन्छ। यदि त्यसलाई अणुको तहसम्म गएर हेर्ने हो भने त्यो हाइड्रोजन र अक्सिजन तत्वमा विभाजित हुन सक्छ। ती तत्त्वको स्वभाव पानीसँग मेल खाँदैन। यस हिसाबले सधैँ एउटै हुने निजी स्वभाव पानीको छैन। पानीको स्वभाव हामी व्यवहारमा जे पाउँछौँ, त्यो त सम्बन्धनमा मात्र प्राप्त भएको हो। गहिरिएर हेर्दा पानीको कुनै स्थायी वा निजी स्वभाव छैन। अर्थात् त्यो स्वभाव शून्यमा छ। नागार्जुनका अनुसार शून्यता यही नै हो।

द्वन्द्वात्मक भौतिकवाद मार्क्सवादी दर्शनको आधार हो। यसले सम्पूर्ण विश्वलाई सही ढंगले हेर्ने दृष्टिकोण दिन्छ। अर्थात् यसले सही चिन्तनका लागि सही दिशा निर्देश गर्छ। सापेक्षतावाद विज्ञान हो र यसले द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई प्रामाणिकता दिन्छ।

सम्बन्धन भनेको सापेक्षता हो। त्यसैले नागार्जुनको शून्यताको दर्शन आइन्स्टाइनको सापेक्षताको सिद्धान्तसँग मेल खान्छ। यसलाई अर्को भाषामा भन्दा नागार्जुनको शून्यताको दर्शनको नयाँ रूप आइन्स्टाइनको सापेक्षताको सिद्धान्त भन्न सकिन्छ। नागार्जुनको विचार दार्शनिक निष्कर्ष हो भने आइन्स्टाइनको सिद्धान्त आधुनिक वैज्ञानिक खोज हो।

आइन्स्टाइनको सापेक्षतावाद

आइन्स्टाइनको सापेक्षतावादका दुई सिद्धान्त छन्ः विशेष सापेक्षताको सिद्धान्त र सामान्य सापेक्षताको सिद्धान्त। पहिलो सिद्धान्त सन् १९०५ र दोस्रो १९१५ मा प्रतिपादन गरिएका हुन्। पहिलोले समयको सापेक्षतालाई व्याख्या गरे पनि अन्तरिक्षको सापेक्षतालाई व्याख्या गर्न नसकेपछि १० वर्षको खोजपछि आइन्स्टाइनले सामान्य सापेक्षताको सिद्धान्त प्रतिपादन गरेका हुन्।

विशेष सापेक्षताको सिद्धान्तको मुख्य निष्कर्षमा अन्तरिक्ष (वा भ्याकुम) मा प्रकाशको गति निरपेक्ष हुन्छ। यसको कारण के हो भने कुनै द्रव्यले ऊर्जाद्वारा नै गति प्राप्त गर्छ र त्यसले बढी ऊर्जामा बढी गति कम ऊर्जामा कम गति प्राप्त गर्छ। त्यसैले कुनै पनि द्रव्यको गति सापेक्ष हुन्छ। प्रकाश ऊर्जा तरंगहरूको पुञ्ज हो। त्यसमा द्रव्य हुँदैन। द्रव्य नहुनुका कारण प्रकाशलाई गति प्राप्त गर्नका लागि कुनै अर्को ऊर्जाको जरुरी पर्दैन। कुनै वस्तुको गतिका कारण त्यसको द्रव्यमाथि लगाइएको ऊर्जाको बल हुन्छ। तर, प्रकाशको कुनै द्रव्य नै नभएकाले त्यसको गतिको कुनै कारण हुँदैन। त्यसैले प्रकाशको गति निरपेक्ष हुन्छ। निरपेक्ष हुनुको कारण कुनै दर्शक स्थिरमा होस् या गतिमा उसका लागि प्रकाशको गतिमा कुनै परिवर्तन हुन्न। अर्को, प्रकाशको स्रोत चाहे स्थिरमा होस् चाहे गतिमा, कुनै पनि अवस्थामा त्यसको गतिमा परिवर्तन हुन्न। यो विशेष सापेक्षताको निष्कर्ष हो।

प्रकाशको गति निरपेक्ष हुने भएकाले त्योबाहेक अन्य सबै गतिको मापन त्यसको सापेक्षतामा निर्धारित हुन्छ। अथवा, प्रकाशको गतिबाहेक अन्य सबै गति सापेक्ष हुन्छ। यो विशेष सापेक्षताको निष्कर्ष हो।

समय एउटा गति हो। यो घटनाहरूको क्रमिक शृंखलाको प्रवाह हो। घटना द्रव्यमा घट्दछ। त्यसैले घटित घटनाहरूको शृंखलाबद्ध प्रवाहको गति सापेक्ष हुन्छ। यसको अर्थ समय सापेक्ष हुन्छ। समय सापेक्ष हुने निष्कर्ष विशेष सापेक्षताको अर्को खोज हो। आइन्स्टाइनले के पुष्टि गरिदिए भने उच्च गतिमा न्यून गतिमा भन्दा समय ढिलो चल्छ। यसलाई काल विस्तार (टाइम डाइलेसन) भनिन्छ। त्यसैले उनले एउटा उदाहरण के दिन्छन् भने यदि जुम्ल्याहा दुई दाजुभाइमध्ये एकजनालाई अन्तरिक्ष यानमा राखी झन्डै प्रकाशको गतिमा अन्तरिक्षमा पठाउने र अर्कोलाई पृथ्वीमै राखिन्छ भने अन्तरिक्षमा जानेले समय ढिलो चलेको पाउँछ। परिणाम के हुन्छ भने अन्तरिक्षमा गएका भाइले आफ्नो समय अनुसार एक वर्षमा फर्किंदा पृथ्वीमा रहेका अर्को भाइले २० वर्ष समय बिताएर बूढो भइसकेको पाउँछन्। यो व्यवहारमा अहिले नै हुन सक्ने घटना होइन, तर सैद्धान्तिक रूपमा पुष्टि हुने कुरो हो। यो उदाहरणलाई आइन्स्टाइनको जुम्ल्याहा विरोधाभास (ट्विन्स प्याराडक्स) भनिन्छ।

विशेष सापेक्षता सिद्धान्तको अर्को निष्कर्ष द्रव्य र ऊर्जा एकबाट अर्कोमा बदलिन सक्छ भन्ने हो। यही निष्कर्षको सूत्र ‘ई इज इक्वेल टु एमसी स्क्वायर’ हो। यहाँ ‘ई’ भनेको ऊर्जा, ‘एम’ भनेको द्रव्य र ‘सी’ भनेको प्रकाशको गति हो। यो सूत्रकै आधारमा पारमाणविक ऊर्जा उत्पादन गर्ने प्रविधिको आविष्कार भएको छ भने यस निष्कर्षले द्रव्य भएको वस्तुलाई मात्र पदार्थ ठान्ने पुरानो मान्यता भत्किएको छ। किनकि, द्रव्य ऊर्जामा र ऊर्जा द्रव्यमा परिणत हुन सक्ने भएपछि पदार्थसँग द्रव्यको अन्योन्याश्रित सम्बन्ध अब रहेन। द्रव्य नभएको वस्तु पनि अब पदार्थ भनी कहलिन सक्ने भयो। प्रकाश वा ऊर्जाको तरंगमा द्रव्य हुन्न। हिजोसम्म तिनीहरूलाई पदार्थको प्रभाव मात्र ठानिन्थ्यो। अब तिनीहरूले समेत पदार्थको दर्जा पाएका छन्। यही खोजको जगमै सुदूर अतीत (१३ अर्ब वर्षपहिले) मा असीमित गुरुत्वाकर्षणका कारण असीमित घनत्वमा खाँदिएर रहेको ऊर्जाको डल्लो विस्फोट भएर ब्रह्माण्डको उत्पत्ति भएको हो भन्ने सिद्धान्त प्रतिपादित भयो, जसलाई महाविस्फोट (बिग ब्यांग) भनियो। महाविस्फोटबाटै ब्रह्माण्डको सिर्जना भएको हो भन्नेमा अहिले आम वैज्ञानिकबीच लगभग मतैक्यता छ।

आइन्स्टाइनले विशेष सापेक्षताको सिद्धान्त खोज गरेको (१९०५) दश वर्षपछि (१९१५) सामान्य सापेक्षताको सिद्धान्त खोज गरे। यो सिद्धान्त पहिलो सिद्धान्तलाई सामान्यीकरण गरी खोज गरिएको हो। त्यसैले यसको नाम सामान्य सापेक्षता हुन गयो। विशेष सापेक्षताको सिद्धान्तले समय सापेक्ष हुने निष्कर्ष निकाले भने सामान्य सापेक्षताको सिद्धान्तले अन्तरिक्ष पनि सापेक्ष हुने निष्कर्ष निकाल्यो। किनकि, अन्तरिक्षको कालसँग अन्योन्याश्रित सम्बन्ध गाँसिएको हुन्छ। अन्तरिक्ष आफैँ स्वतन्त्र अस्तित्वमा छैन। महान् बौद्ध दार्शनिक नागार्जुनको शब्द सापटी लिने हो भने अन्तरिक्ष पनि निःस्वभावको छ। अर्थात् यसको पनि निजी र स्थायी स्वभाव छैन। आइन्स्टाइनका अनुसार अन्तरिक्षले कालसँग मिलेर अन्तरिक्ष–काल (स्पेस टाइम) बनाउँछ। काल वा समय सापेक्ष हुने विशेष सापेक्षताको सिद्धान्तले पुष्टि गरिसकिएको छ। यसले गर्दा कालसँग अन्योन्याश्रित सम्बन्धमा रहने अन्तरिक्ष मात्र निरपेक्ष वा स्थिर वा स्थायी हुन्छ भन्नु कसरी सही हुन सक्छ भनी प्रश्न ठडिने भयो। यो प्रश्नको हल सामान्य सापेक्षताको सिद्धान्तले गर्‍यो। त्यसले के पुष्टि गर्‍यो भने अन्तरिक्ष पनि सापेक्ष नै हुन्छ।

अन्तरिक्ष सापेक्ष हुने भनेको के हो ? यो सम्बन्धन (रिलेसन) अनुसार फरक हुन्छ भन्ने हो। आइन्स्टाइनले अन्तरिक्ष पहिले सोचिएझैँ समतल नभएको पुष्टि सामान्य सापेक्षताको सिद्धान्तमा गरेका छन्। त्यस सिद्धान्तले सूर्य जतिकै ठूला आकाशीय पिण्ड वरपर अन्तरिक्ष देखिने गरी नै बांगिन जाने निष्कर्ष निकाल्यो। साथै त्यसले अन्तरिक्षमा हरेक पिण्डले आफू वरपरको अन्तरिक्षलाई बंग्याउने पुष्टि गर्‍यो। यस अनुसार सिधा बाटोमा हिँड्ने प्रकाश सूर्य जतिको ठूला पिण्डअगाडि बांगिने निष्कर्ष निकालियो। सन् १९१९ को खग्रास सूर्य ग्रहणको समयमा वैज्ञानिकले आइन्स्टाइनको निष्कर्षलाई जाँच गरी हेरे। उनीहरूले खग्रास सूर्य ग्रहणको समयमा सूर्य पछाडिका ताराहरू अवलोकन गरेर प्रकाश बांगिएको प्रमाणित गरिदिए। किनकि, यदि प्रकाश नबांगिएको भए सूर्य पछाडिका ताराहरू सूर्यले छेकिएर देखिँदैनथे।

सामान्य सापेक्षताको सिद्धान्तले पिण्डको सम्बन्धनको सापेक्षतामा अन्तरिक्ष बांगो हुने निष्कर्ष निकालेपछि गुरुत्वाकर्षणको यथार्थतालाई नयाँ ढंगले हेरिनुपर्ने भयो। त्यसैले सामान्य सापेक्षताको सिद्धान्तले के भन्यो भने ग्रहहरूले सूर्यलाई परिक्रमा गर्नुमा न्यूटनको गुरुत्वाकर्षणको सिद्धान्तमा भनेजस्तो नभई सूर्यले बंग्याएको अन्तरिक्षमा वेगवान् ती ग्रहले यात्रा गर्दा छोटो दूरीलाई पछ्याउँदा परिणाम त्यस्तो हुन पुगेको हो। त्यसैले आइन्स्टाइनको सामान्य सापेक्षताको सिद्धान्तले गुरुत्वाकर्षण सम्बन्धी नयाँ विचारलाई जन्म दिएको छ।

द्वन्द्वात्मक भौतिकवादसँग सापेक्षतावादको मेल

भौतिकवादको पहिलो प्रस्थापना यो छ कि यो विश्वब्रह्माण्डमा पदार्थ नै प्राथमिक चिज हो। चेतना त्यसको उपज मात्र हो। पदार्थ र चेतनाको सम्बन्धनको सवालमा भौतिकवादले चेतनालाई पदार्थबाट अलग्याउन नसकिने निष्कर्ष दिन्छ। अर्को, चेतना नभए पनि पदार्थको अस्तित्व रहन्छ, तर पदार्थबिना चेतनाको अस्तित्व रहन सक्दैन भन्ने निष्कर्ष भौतिकवादको छ। भौतिकवादले प्रकृतिको यथार्थतालाई प्रस्तुत गर्दै भन्छ कि यो पृथ्वीमा हिजो मानवको आगमन हुनुपूर्व पनि भौतिक पदार्थ थियो र भोलि केही कारणले मानव प्रजातिको अन्त्य भए पनि त्यो रहिरहन्छ। पदार्थले आफ्नो रूप बदलिरहन्छ, तर यो अनन्त अतीतमा पनि थियो र अनन्त भविष्यमा पनि रहिरहन्छ। यसको सुरु र अन्त्य छैन। तर, चेतना मानव भएमा त्यसैको साथमा मात्र अस्तित्वमा रहन्छ, नभएमा त्यसको अस्तित्व रहन्न। भौतिकवादको अर्को प्रस्थापना यो रहेको छ।

तर, भौतिक वस्तु स्थिर या स्थायी छैन। यो प्रतिक्षण निरन्तर परिवर्तनशील छ। परिवर्तनशीलता वस्तुको गति हो। त्यो गतिको स्रोत वस्तुभित्र आन्तरिक रूपमा हुने विपरीत पक्षबीचको द्वन्द्व र एकता हो। त्यो द्वन्द्व र एकताले निश्चित मात्राको प्रक्रिया (कोर्स) पूरा गरेपछि वस्तुमा गुणात्मक परिवर्तन हुन्छ। त्यस्तो परिवर्तनले पुरानो वस्तुलाई निषेध गर्दै नयाँ वस्तुको सिर्जना गर्छ। वस्तुभित्र विद्यमान हुने यो प्रक्रियालाई द्वन्द्वात्मकता भनिन्छ र यो सिद्धान्तलाई द्वन्द्ववाद भनिन्छ।

भौतिक वस्तुको अस्तित्व त्यसभित्र रहने विपरीत पक्षहरूबीचको द्वन्द्वात्मकताले कायम गरेको हुन्छ। त्यसैले न भौतिकता बिना द्वन्द्वात्मकता रहन्छ, न त द्वन्द्वात्मकता बिना भौतिकता रहन्छ। यी दुई विषय एक आपसमा अन्योन्याश्रित रूपले जोडिएका हुन्छन्। यो सिद्धान्त द्वन्द्वात्मक भौतिकवाद हो।

सापेक्षतावादको व्याख्या विश्वब्रह्माण्डमा भएका भौतिक वस्तुहरूबीचको सम्बन्धन र तिनीहरूको उदय, विकास एवं क्षयको यथार्थता दर्शाउन गरिएको छ। सापेक्षतावादले यो विश्वब्रह्माण्डको उदय, विकास र क्षय भौतिकताको नियम अनुसार नै हुने पुष्टि गर्छ। यसले स्थुल भौतिक वस्तुहरू मात्र होइनन्, सूक्ष्म ऊर्जाका तरंगहरू पनि पदार्थ नै भएको पुष्टि गर्छ। त्यसैले सापेक्षतावादले भौतिकवादको सत्यतालाई थप पुष्टि गर्छ।

विशेष सापेक्षतावादले द्रव्य भएको कुनै पदार्थलाई ऊर्जा थप्दै प्रकाशको गति नजिकको गतिमा गतिशील बनाउँदा द्रव्य ऊर्जामा परिणत हुने पुष्टि गर्छ। यसलाई ‘ई इज इक्वेल टु एमसी स्क्वायर’ सूत्रले प्रस्ट्याउँछ। यहाँ द्रव्य गतिमा जानका लागि त्यसमाथि लगाइएको ऊर्जा र द्रव्यबीचको द्वन्द्व र एकता कायम रहेको हुन्छ। गतिको मात्रात्मक वृद्धि हुँदै एउटा बिन्दुमा पुगेपछि द्रव्य ऊर्जामा परिणत हुन्छ। यहाँ द्रव्य निषेध भई ऊर्जाको सिर्जना हुन्छ। सापेक्षतावादले गरेको यो व्याख्याले द्वन्द्ववादका सबै प्रस्थापना पूरा गरेको छ।

सामान्य सापेक्षताको सिद्धान्तले खगोलमा अन्तरिक्ष र काललाई अन्योन्याश्रित सम्बन्धनमा रहेका अवयवको रूपमा पुष्टि गरेको छ। अन्तरिक्ष र काललाई अलगअलग रूपमा बुझ्न, हेर्न र अनुभव गर्न सकिन्न। किनकि, उनीहरूको अलग्गै आफ्नै खालको अस्तित्व छैन, जसरी चुम्बकमा उत्तरी र दक्षिणी ध्रुवको पनि छुट्टाछुट्टै अलग्गै अस्तित्व रहन सक्दैन। यसको अर्थ ती अवयव विपरीत पक्ष हुन्, जुन द्वन्द्व र एकताको सम्बन्धनमा रहन्छन्।
यसरी विशेष सापेक्षता र सामान्य सापेक्षता सिद्धान्तका मान्यतालाई केलाउँदा समग्रमा सापेक्षताको सिद्धान्तले द्वन्द्वात्मक भौतिकवादको सिद्धान्तलाई थप प्रामाणिकता प्रदान गरेको पुष्टि मिल्छ। द्वन्द्वात्मक भौतिकवाद मार्क्सवादी दर्शनको आधार हो। यसले सम्पूर्ण विश्वलाई सही ढंगले हेर्ने दृष्टिकोण दिन्छ। अर्थात् यसले सही चिन्तनका लागि सही दिशा निर्देश गर्छ। सापेक्षतावाद विज्ञान हो र यसले द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई प्रामाणिकता दिन्छ।

(२०७७ असोज ३ मा प्रकाशित महर्जनको लेख उपयोगी ठानेर यहाँ प्रकाशित गरेका छौं।)


By Marxist

Leave a Reply

Your email address will not be published.