Fredrick Engels

काठमाडौं। साम्यवादका सिद्धान्तहरू एंगेल्सको विश्वविख्यात सामग्री हो। वैज्ञानिक साम्यवाद र यसका अन्तर्वस्तुहरूबारे दीक्षित गर्न जर्मन दार्शनिक फ्रेडरिक एंगेल्सले प्रश्न उत्तरको शैलीमा सरल भाषामा व्यक्त गरेका सामग्री हामीले आधारभूत ज्ञानका लागि प्रस्तुत गरेका छौं।

१. साम्यवाद भनेको के हो ?

सर्वहारावर्गको मुक्तिका शर्तहरूको सिद्धान्तलाई साम्यवाद भन्दछन्।

२. सर्वहारावर्ग भनेको के हो ?

सर्वहारावर्ग भनेको यस्तो सामाजिक वर्ग हो, जो कुनै प्रकारको पुँजीबाट प्राप्त हुने नाफाको आधारमा बाँचेको हुँदैन। आफ्नो श्रम बेचेर मात्र उसले जीवन–यापनका साधनहरू प्राप्त गर्दछ। यस वर्गको हर्ष र विस्मात, जीवन र मृत्यु सारा अस्तित्व नै बजारमा हुने श्रमको मागमा निर्भर रहन्छ। संक्षेपमा भन्ने हो भने सर्वहारावर्ग अथवा मजदुरहरूको वर्ग भनेको उन्नाइसौँ शताब्दीको श्रमिक वर्ग हो।

३. के त्यसो भए सर्वहारावर्ग सदैव अस्तित्वमा थिएन ?

सदैव थिएन। गरीब र श्रमिक वर्गहरु सधैँ अस्तित्वमा रहिआएका थिए र प्रायः श्रमिक वर्गहरू नै गरीब पनि हुने गर्दथे परन्तु भर्खरै बताइएको जस्तो अवस्थामा बाँचेका यस्ता गरीबहरू र यस्ता मजदुरहरू अर्थात् सर्वहाराहरू सधैँ अस्तित्वमा थिएनन्। यसरी सदैव नै प्रतिस्पर्धा पनि पूर्णतः स्वतन्त्र र असीमित थिएन।

४. सर्वहारावर्गको जन्म कसरी भयो ?

सर्वहारावर्गको जन्म औद्योगिक क्रान्तिको परिणामस्वरूप भयो। यस्तो क्रान्ति गत शताब्दीको उत्तरार्धमा इंल्याण्डमा सम्पन्न भएको थियो। त्यसपछि संसारका सबै सभ्य मुलुकहरूमा यो क्रान्ति दोहोरियो। वाष्पयन्त्र, धागो कात्ने कल, लुगा बुन्ने यान्त्रिक तान र अन्य कयौं यन्त्र उपकरणहरूको आविष्कारले गर्दा यो औद्योगिक क्रान्ति सम्पन्न भएको थियो। यी मेशिनहरू ज्यादै महंगा हुन्थे तसर्थ ठूल्ठूला पुँजीपतिहरूले मात्र तिनलाई किन्न सक्दथे। मेशिनहरूले त्यसबेलासम्म अस्तित्वमा रहेका सम्पूर्ण उत्पादन पद्धतिहरूमा हेरफेर ल्याइदिए। र पहिलाका बढीमात्रामा शिल्पकलामा समेत जमाउँदै लग्यो, यस क्षेत्रका पनि ठूल्ठूला पुँजीपतिहरूले सानातिना शिल्पकारहरूलाई बढी मात्रामा पेल्दै लगे। र, यस्ता ठूल्ठूला शिल्पशालाहरू खडा गरियो जहाँ धेरै प्रकारका खर्चहरूमा किफायत गर्न सकिन्थ्यो। यसको साथसाथै विस्तृत रूपमा श्रम विभाजनसमेत गर्न सकिन्थ्यो। यसको परिणामस्वरूप हामी अहिले यस स्थितिसम्म आइपुगेका छौं कि सभ्य मुलुकहरूमा श्रमका झण्डै सबै शाखाहरूमा बारखानाको उत्पादन पद्धति लागू भइसकेको छ र प्रायः यी सबै शाखाहरूमा शिल्प र कारखानाहरूको ठाउँ वृहत उद्योगले लिइसकेको छ। यसको परिणामस्वरूप पहिलेको मध्यम वर्ग र खासगरी सानातिना शिल्पकारहरू अझ बढी बर्बाद भइरहेका छन्। कामदारको पहिलेको स्थिति विल्कुलै बदलिएको छ र दुई नयाँ वर्गहरू देखा पर्दै छन्, जसले विस्तार विस्तार अरू सबैलाई निलिरहेका छन्।

ती हुन्ः

१) ठूल्ठूला पुँजीपतिहरूको वर्ग : यो वर्ग अहिले पनि सबै लागि नभई नहुने कच्चा पदार्थ तथा औजारहरूसमेतको झण्डै एक मात्र मालिक रहेको छ। यो बुर्जुवाहरूको वर्ग हो अर्थात पुँजीपति वर्ग हो।

२) केही पनि नहुनेहरूको वर्ग : यो वर्ग पुँजीपतिहरूलाई आफ्नो श्रम बेच्न विवश छ। यसको सट्टामा उसले जीवन धान्नका लागि अत्यावश्यक साधन प्राप्त गर्दछ। यो वर्ग मजदुरहरूको वर्ग अथवा सर्वहारा वर्ग हो।

५. के कस्ता अवस्थाहरुमा पुँजीपतिलाई सर्वहाराले श्रम बिक्री गर्दछन् ?

म पनि अन्य मालहरू जस्तै एउटा माल हो। श्रमको मूल्य पनि तिनै नियमहरूद्वारा निर्धारित हुन्छ, जसरी जुनसुकै अर्को वस्तुको मूल्य तोकिन्छ। वृहत उद्योगको आधिपत्य अथवा संयन्त्र प्रतिस्पर्धा अन्तरगत–जे भने पनि एउटै कुरा हो भन्ने हामी अगाडि देख्ने छौ–सदैव नै वस्तुको सालाखाला मुल्य त्यस वस्तुकोे उत्पादनमा लाग्ने लागतको बरावर हुन्छ। तसर्थ श्रमको मूल्य पनि श्रमको उत्पादनको लागत बराबर नै हुन्छ। अनि श्रमको उत्पादनको लागत चाहिँ जीवनयापनको निमित्त नभई नहुने साधनहरूको खास त्यो मात्रा हो, जुन मजदुरको लागि उसको कार्यक्षमता जोगाएर राख्न र मजदुरवर्गको अस्तित्व कायम राख्न आवश्यक हुन्छ। यस उद्देश्यको निम्ति जति चाहिन्छ त्यसभन्दा बडि मजदुरले पाउँदैन। त्यसैले गर्दा श्रमको मूल्य अथवा ज्याला ज्यादै नै थोरै हुन्छ। र त्यसमा न्यूनतम साधनको बराबर हुन जानेछ जुन जीवन धान्नको निम्ति अत्यावश्यक नै हुन्छ। कारोवारमा कहिल्यै फाइदा हुन्छ कहिले नोक्सान पर्दछ। तसर्थ मजदुरले पनि कहिल्यै धैरै त कहिले थोरै ज्याला पाउँछ। ठीक त्यसरी नै कारखानाको मालिकले पनि आफ्नो वस्तुको निमित्त कहिले बढी त कहिले कम रकम पाउँछ। यदि नाफा र नोक्सानको सरदर हिसाब गर्ने हो भने जसरी कारखानाको मालिकले आफ्नो वस्तुको निमित्त उत्पादनको लागतभन्दा कम या बेसी पाउँदैन, ठीक त्यसरी नै मजदुरले पनि सालाखाला त्यस न्युनतम स्तरभन्दा कम या बेसी पाउँदैन। जति बढी मात्रामा वृहत उद्योगले श्रमका सबै शाखाहरूमा नियन्त्रण जमाउँदै लग्नेछ, त्यति नै कडाइका साथ ज्यालाको यो आर्थिक नियम पनि लागू हुँदै जानेछ।

६. औद्योगिक क्रान्तिभन्दा पहिले के–कस्ता श्रमिक वर्गहरू अस्तित्वमा थिए ?

सामाजिक विकासका विभिन्न स्तरहरूमा श्रमिक वर्गहरू विभिन्न अवस्थाहरूमा बाँचेका थिए। हुनेखाने र सत्तारुढ वर्गसँग श्रमिकहरूको सम्बन्ध युगअनुसार फरक फरक हुन्थ्यो। प्राचीन कालमा श्रमिकहरू आफ्ना मालिकहरूका दास थिए। ठीक त्यसरी नै जसरी उनीहरू अहिले पनि कैयौं अविकसित मुलुकहरूमा र अझ संयुक्त राज्य अमेरिकाको दक्षिणी भागमा समेत दास नै रहेका छन्। मध्ययुगमा उनीहरू कुलीन भूमिपतिहरूका भूदास थिए, जस्तो आजसम्म पनि हंगेरी, पोल्याण्ड र रुसमा छँदैछन्। यसको अतिरिक्त मध्ययुगका शहर औद्योगिक क्रान्ति हुनु अघिसम्म नै शिल्पकारहरू कहाँ काम गर्ने सिकारु शिल्पकारहरू अस्तित्वमा रहेका थिए। ती कारखानाहरूको विकासको साथसाथै विस्तार विस्तार कारखानाका मजदुरहरू देखा पर्दै गए जसलाई ठूल्ठूला पुँजीपतिहरूले काममा लगाउने गरेका थिए।

७. दास र सर्वहाराको बीचमा के अन्तर छ ?

दासलाई सदाको निम्ति बिक्री गरीएको हुन्छ। सर्वहाराले चाँहि आफूलाई हरेक घण्टा स्वयं बिक्री गरिरहनुपर्दछ। प्रत्यक निश्चित दास कुनै निश्चित स्वामीको सम्पत्ति हो। मालिकलाई आफ्नो सम्पत्तिको माया हुन्छ। त्यसैले दासको जीवन निर्वाहको ग्यारेण्टी हुन्छ। सर्वहाराको श्रमचाँहि त्यसैबेला मात्र किनिन्छ जब कसैलाई त्यो आवश्यक पर्न जान्छ। सर्वहाराको उसको जीविका अनिश्चित हुन्छ। सर्वहाराको पूरै वर्गको मात्र अस्तित्व कायम राखिएको हुन्छ। दासले प्रतिस्पर्धा गर्नु पर्दैन, परन्तु सर्वहाराले प्रतिस्पर्धाका अवस्थाहरूमा रहनुपर्दछ र त्यसमा भइरहने सबै प्रकारका हलचलको असर पनि उसले स्वयं अनुभव गर्दछ। दासचाहिँ चीजबीज जस्तै ठानिन्छ र उसलाई नागरिक समाजको सदस्यको रूपमा विचार गरिँदैन। सर्वहारालाई भने व्यक्तित्व अर्थात् नागरिक समाजको सदस्य मानिन्छ। यसैले सर्वहाराको तुलनामा दासको जीविका बढी सुगम हुन्छ। तर, सर्वहारा चाहिँ यस्तो समाजको उपज हो। जुन विकासको बढी उच्च खुड्कलोमा रहेको हुन्छ र स्वयं सर्वहारा पनि दासको भन्दा बढी उच्च स्तरमा रहन्छ। दासले आफूलाई त्यतिबेला मुक्त तुल्याउँछ। जब उसले व्यक्तिगत स्वामित्वका सबै सम्बन्धहरूमध्ये एउटा मात्र दासत्वको सम्बन्धलाई निर्मूल पार्दछ र यसको परिणामस्वरूप त्यतिखेर मात्र ऊ सर्वहारा बन्न पुग्दछ। सर्वहाराले चाँहि आफूलाई त्यसबेला मात्रै मुक्त गर्न सक्दछ, जब उसले पूरै व्यक्तिगत स्वामित्वलाई नै निर्मूल पारिदिन्छ।

८. भूदास र सर्वहाराको बीचमा के अन्तर छ ?

उत्पादनका साधन र सानो टुक्रा जग्गा भूदासको स्वामित्व र उपयोग रहन्छन्। यसको निम्ति उसले आफ्नो आयस्ताको एक भाग दिन्छ अथवा केही काम पूरा गर्दछ। सर्वहाराले चाहिँ अर्काको मातहतमा रहेका उत्पादनका साधनहरूद्वारा काम गर्दछ र अर्कैको निमित्त काम गरेर यसको सट्ठामा आम्दानीको एक हिस्सा पाउँछ। भूदासले दिन्छ, सर्वहारालाई दिइन्छ । भूदासको जीविका सुनिश्चत छ। सर्वहाराको जीविका अनिश्चित छ। भूदास प्रतिस्पर्धाभन्दा बाहिरै रहन्छ। तर सर्वहारा चाहिँ प्रतिस्पर्धाका अवस्थाहरूमा निर्भर रहन्छ। भूदासले आफूलाई मुक्त गर्नका निम्ति या त शहरमा भागेर जानुपर्छ, त्यहाँ शिल्पकार बन्नुपर्छ, या त स्वतन्त्र मोही बनेर आफ्नो भूमिपतिलाई काम अथवा वस्तुको बदला पैसा बुझाउनुपर्दछ, या त उसले आफ्नो जग्गावाललाई निकालेर स्वयं नै जग्गाधनी बन्नुपर्दछ। छोटकरीमा भन्ने हो भने उसले आफूलाई त्यसवेला मात्र मुक्त तुल्याउन सक्छ, जुन बेला उ कुनै न कुनै रुपमा सम्पत्ति हुने वर्गको पंक्तिमा समावेश हुन जान्छ र प्रतिस्पर्धाको क्षेत्रमा प्रवेश गर्दछ। सर्वहाराले चाहिँ आफूलाई त्यतिखेर मात्र मुक्त गर्दछ जब उसले प्रतिस्पर्धा, व्यक्तिगत स्वामित्व र सारा वर्गीय अन्तरहरूलाई नै नामेट पारिदिन्छ।

९. नयाँ सामाजिक व्यवस्था कस्तो हुनुपर्दछ ?

सर्वप्रथम उद्योग–व्यवसाय र उत्पादनका सबै शाखाहरूको सञ्चालन एक अर्कासित प्रतिस्पर्धा गरिरहने विभिन्न व्यक्तिहरूको हातबाट खोसेर लिइनेछ। यसको सट्ठा उत्पादनका सबै शाखाहरू सम्पूर्ण समाजकै नियन्त्रणमा रहनेछन्। अर्थात् समाजका हितहरूलाई ध्यानमा राखेर सामाजिक योजनाअनुरूप तिनको सञ्चालन गरिनेछ, जसमा समाजका सबै सदस्यहरूले भाग लिनेछन्। यसरी यो नयाँ सामाजिक व्यवस्थाले प्रतिस्पर्धालाई निर्मूल पारिदिनेछ। र त्यसको ठाउँमा एउटा संस्था नै खडा गरिदिनेछ। विभिन्न व्यक्तिहरूद्वारा उद्योग–व्यवसायको सञ्चालन गरिनुको अनिवार्य परिणाम नै व्यक्तिगत स्वामित्व हो।


By Marxist

Leave a Reply

Your email address will not be published. Required fields are marked *