काठमाडौं, २८ जेठ। मार्क्सवादी ज्ञान केन्द्रको आयोजनामा नेपाल सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेटसम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विज्ञहरूले सरकारले ल्याएको नीति कार्यक्रम र बजेट प्रगतिशील रहेको बताउँदै व्यवस्थित कार्यान्वयनमा जोड दिएका छन्।
अन्तरक्रियामा बोल्दै माओवादी केन्द्रका नेता एवं पूर्व अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले बजेटले प्रगतिशील चरित्र बोकेकाले कार्यान्वयनमा सबैले उत्तिकै जिम्मेवार भएर भूमिका खेल्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘हामीले लामो छलफलपछि यो नीति कार्यक्रम र बजेट ल्याएका छौं। बजेटले उत्पादनलाई केन्द्रमा राखेको छ। अर्थतन्त्रलाई महामारीको जोखिमबाट बचाउँदै अगाडि बढाउने लक्ष्य लिएको छ। यो बजेटको प्रभावकारी कार्यान्वयन हामी सबैको जिम्मेवारी हो।’’
नेता पुनले युवाहरूको वित्तीय साक्षरता आवश्यक रहेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘बजेट प्रगतिशील चरित्रको छ। तर, लक्षित वर्गसम्म सम्प्रेषण गर्ने जिम्मेवारी बौद्धिक समुदायको हो। बजेटका विशेषता, यसको कार्यान्वयनको विधि र प्रक्रिया, वित्तीय अनुशासन, प्रतिफलमुखी कार्यसम्पादन लगायतका विषयमा सम्बन्धित वर्ग र समुदायले नबुझेसम्म बजेट प्रभावकारी रूपमा कार्यान्यवन हुन सक्दैन। पुँजीगत खर्चको सामर्थ्य बढाउन पनि वित्तीय साक्षरता आवश्यक छ। यसमा जोड गरौं।’’
कार्यक्रममा कृषि तथा वन विश्वविद्यालयका उपकुलपति प्रा.डा. पुण्यप्रसाद रेग्मीले बजेटले कृषिमा जोड दिएकोमा धन्यवाद व्यक्त गर्दै कृषि र शिक्षालाई जोड्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘बजेट राम्रो छ, सबैतिरबाट राम्रो भन्ने नै प्रतिक्रिया छ। तर, यसलाई शिक्षा र उत्पादनसँग जोड्नुपर्छ। शिक्षालाई कृषिसँग जोडेर मात्र हाम्रोजस्तो मुलूकले उत्पादनमुखी अर्थतन्त्रको कार्यान्वयन गर्न सक्छ।’’
अन्तरक्रियामा अर्थमन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेतीले बजेटका विशेषता, बजेटले लिएको लक्ष्य, यसको आधारभूत चरित्र, बजेटमा विभिन्न सूचकहरूको स्थिति लगायतका विषयमा आफ्नो प्रस्तुति राख्नुभएको थियो। प्रस्तुति राख्दै डा. उप्रेतीले प्रतिकूल परिस्थितिमा आएको प्रगतिशील बजेट कार्यान्वयनमा सबैको सहयोग हुने विश्वाससमेत व्यक्त गर्नुभयो।
अन्तरक्रियामा ज्ञान केन्द्रका अध्यक्ष मनहरि तिमिल्सिना, वरिष्ठ उपाध्यक्ष, विश्वेश्वर कट्टेल, महासचिव इन्द्रराज भट्टराई लगायतका वक्ताहरूले नीति, कार्यक्रम र बजेटका विविध आयामबारे बोल्नुभएको थियो।